गेर्खुका कृष्णप्रसादले घरमै पाए नागरिकता

विदुर खबर २०७६ फागुन ६ गते १५:३२

गेर्खु । जिल्ला प्रशासन कार्यालयले अपांगता भएका युवालाई पहिलो पटक घरमै नागरिकता उपलब्ध गरेको छ ।

Advertisement

प्रशासकीय अधिकृत जनक रेग्मी र खरिदार राजु श्रेष्ठले अपांगता भएका विदुर नगरपालिका ११ का चालिसेटोलका १७ वर्षीय कृष्णप्रसाद चालिसेलाई सोमबार घरमै नागरिकता प्रदान गरेका हुन् । हरिप्रसाद र नारायणी चालिसेका चार सन्तानमध्ये कृष्ण कान्छा छोरा हुन् । उनी हिँड्‌‍डुल गर्न नसक्‍ने र दृष्टिविहीन हुन् ।कृष्णप्रसादलाई बोकेर जिल्ला प्रशासन ल्याउन नसकेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको निर्देशनमा प्रशासनबाट डड बोकेर घरमै नागरिकता दिएको प्रशासकीय अधिकृत रेग्मीले बताए । ‘यसरी घरमै गएर नागरिकता दिएको यो पहिलो घटना हो,’प्रशासनकीय अधिकृत रेग्मीले भने । उनलाई दिएको नागरिकता नम्बर २५–०१–७६–०६७२२ रहेको छ ।

काठमाडौंको थापाथली प्रसूतिगृहमा २०५९ जन्मिएका उनी टाउकोमा पानी भरिएकाले शल्यक्रिया गरिएको थियो । ‘सायद नसा काटिएर छ कि के हो छोरा यस्तो भयो,’ आमा नारायणीले भनिन्,‘जन्मेको सातदिनको दिन शल्यक्रिया गरिएको थियो ।’

छोरालाई घरभित्र र बाहिर ल्याउन बाबु कृष्णप्रसाद , आमा र दिदीको सहारा चाहिन्छ । ‘बोकेर बाहिर पींढीमा ल्याउँछु । घाम तप्छ,’ बाबु हरिप्रसादले भने, ‘म नभएको बेला उसको आमा र दिदीले बोकेर ल्याउँछन् ।’ यस्तो अपांगता भएकाले नागरिकता लिन प्रशासनसम्म जान नसकेको उनले बताए ।
आमा नारायणीले भनिन्, ‘भोक तिर्खा केही थाहा पाउँदैन । हामी आफैले बुझेर उसलाई खुवाउनु पर्छ ।’ आमा नारायणीका अनुसार सुरुमा जन्मिँदा कृष्णप्रसाद स्वस्थ थिए । ‘पछि हातगोडा कडा हुँदै आयो,’उनले सम्झिन्,‘त्यसपछि हातगोडा सुक्न थाले ।’

प्रतिक्रिया