चिलिमेको आम्दानी घट्यो

विदुर खबर २०७६ माघ २७ गते २०:४२

नुवाकोट ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चिलिमे जलविद्युत कम्पनीको विद्युत बिक्री आम्दानी घटेको छ।

Advertisement

नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार मात्र अधिक विद्युत उर्जा खरिद गर्ने र सो अवधिसम्ममा कम अधिक विद्युत उर्जा खरिद गरेका कारण बिक्री आम्दानी घटेको कम्पनीले बताएको छ। कम्पनीले सोमबार प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा सो कुरा उल्लेख गरिएको छ। सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५ लाख ८९ हजार रुपैयाँ कम हो। यस अवधिमा कन्ट्रयाक्ट ईनर्जी भने नघटेको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी भने बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ५ करोड ५५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ। कम्पनीले प्रतिबद्धता जनाए अनुसार सहायक कम्पनीहरुमा लगानी गरिसकेकोले बैंक मौज्दात बढेको र ब्याजदरमा सुधार आएका कारण ब्याज आम्दानी बढेको कम्पनीले जनाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ५ करोड ६५ लाख रुपैयाँ अर्थात १२.४७ प्रतिशत घटेर ३९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। वित्तीय आम्दानी बढेपनि विद्युत बिक्री आम्दानी घट्नुका साथै रोयाल्टी र अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा घटेको हो।

Advertisement

५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोषमा ३ अर्ब ९४ करोड ३७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रपैयाँ ८९ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५ रुपैयाँ १६ पैसा कम हो। समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात २८.५६ गुणाबाट बढेर ३०.५९ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १९२ रपैयाँ ९० पैसाबाट घटेर १६९ रुपैयाँ ७ पैसामा झरेको छ।

प्रतिक्रिया