कोरोना भाइरसका कारण निर्माणाधीन जलविद्युत कम्पनीको काम ठप्प

विदुर खबर २०७६ माघ २३ गते २०:३७

सुवास निरौला । चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा निर्माणाधीन जलविद्युत कम्पनीमा प्रत्यक्ष असर देखिन थालेको छ । निर्माण सामाग्री र कामदार अभावमा यतिबेला निर्माणाधीन आयोजनाको काम सुस्त हुन थालेको हो ।

काम सुस्त भएसँगै आयोजनाको निर्माण अवधि लम्बिनुको साथै लागत समेत बढ्ने संभावना रहेकाे स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले बताए । पाण्डेका अनुसार, यतिबेला आयोजनाका लागि चाहिने समाग्रीकाे आयात ठप्प रहेको छ । भाइरसको प्रकोपका कारण यतिबेला केरुङ, तातोपानी लगायतका नेपालसँग सीमा जोडिएका सबै नाका बन्द रहेका छन् । जसका कारण अन्य क्षेत्रको आयात त बन्द छ नै त्यसका अतिरिक्त आयोजनामा चाहिने सामाग्रीको आयात समेत रोकिएका छन्। नेपालमा निर्माणाधीन आयोजनाको लागि चाहिने धेरैजसो प्राविधिक सामाग्री चीनबाट आयात हुने गरेको छ । नाका नै बन्द भएपछि त्यसको असर आयोजना निर्माणमा परेको पाण्डेको भनाई छ ।
Advertisement

बिद्युत आयोजनाको लागि धेरैजसो सामाग्री चीन र जर्मनीबाट आयात हुने गर्छ । चीनको प्रभाव जर्मनीसम्म पुगेको छ । किनकि, जर्मनीमा उत्पादन भएको सामानको मटेरियल चीनबाटै जाने गरेको छ । चीनबाट कच्चा सामाग्री जर्मनी जाने र त्यँहा उत्पादन भएर  नेपालमा  आउने गरेको छ । जर्मनीबाट समेत सामान नआएपछि आयोजना निर्माण प्रभावित भएकाे पाइएकाे छ।चिनियाँ कम्पनीले निर्माण गरिरहेकाे आयाेजनाका कामदार समेत चीनबाटै आउने गरेका छन् । । यहाँ भएका कामदारले सामान आभावमा काम अघि बढाउन पाएका छैनन् भने पछिल्लो समय बिदा मनाउन गएका कामदार उतै रोकिएका छन् । जसले निर्माणमा थप बाधा पुगेको छ।

कुनै कम्पनीले जग खन्ने काम गरिरहेका छन् भने कति आयोजनाको टर्बाइन राख्ने बेला भएको छ ।  निर्माण सामग्रीहरूको प्रकृति अनुसार आयोजनाको काम अघि बढ्छ । कुनै सामान नहुने बित्तिकै सबै काम राेकिने अवस्था ठूला परियाेजनामा हुने गरेकाे पाण्डेले बताए । यसाे हुँदा सामान र कामदारको अभावमा आयोजनाको लागत र अवधि दुवै बढ्ने अनुमान पाण्डेको छ । काम रोकिएपछि तोकिएको समयमा काम सम्पन्न गर्न आयोजनाहरूलाई गाह्राे हुने छ ।  धेरैजसो काम मौसम अनुसार गर्नुपर्छ । ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले भने, मौसम अनुसार काम गर्ने परियाेजनामा सामान अभाव भए चाैपटै हुन्छ । समय लम्बिने बित्तिकै बैंकको व्याज थपिन्छ, भने उता डलरको उतार चढावले सामानकै मूल्य समेत बढ्ने संभावना रहन्छ । जसले आयोजनाको लागत बढाउन थप सहयोग गर्ने प्रधानकाे भनाई छ । ‘कति समयसम्म यो अवस्था रहने भन्ने निश्चित नभएकोले  लागत र समय बढ्ने अनुमान अहिले नै गर्न सकिँदैन’ प्रधानले भने  ।

Advertisement

यतिबेला देशमा करिव एकसय भन्दा बढी आयोजना निर्माणाधीन चरणमा रहेको अर्का ऊर्जा व्यवसायी सुवर्णदास श्रेष्ठले जानकारी दिए । ती सबै आयोजनाको निर्माणको अवस्था हेरी उनीहरूको कुन लेभलमा काम रोकिएको छ भनेर यकिन गर्ने तयारीमा यतिबेला संघले काम गरिरहेको श्रेष्ठले बताए । यसै पनि निर्माणाधीन आयोजनाको प्रगति संन्तोषजनक नरहेको अवस्थामा यसले थप समस्या निम्त्याउने भएकोले सरकारको समेत यसमा चासो हुनुपर्ने उनले बताए।

प्रतिक्रिया