गल्छी–रसुवागढी सडकको स्तरोन्नति समयमै सक्न निर्देशन

विदुर खबर २०७६ माघ १९ गते ८:०७

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको अवस्थाबारे अवलोकन गर्न आएको सडक विभागको टोलीले समयमै काम सक्न निर्देशन दिएको छ।

गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नतिको काम अवलोकन गर्न सडक विभागका महानिर्देशक केशवकुमार शर्माको नेतृत्वमा तीन सदस्यीय टोली रसुवा आएको थियो। टोलीमा महानिर्देशक शर्मासहित सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारी र संघीय सडक सुपरिवेक्षण काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्र रहेका थिए। सडकको स्तरोन्नतिको कामले गति नलिएको भन्दै टोलीले समयमै सकिने गरी काम अघि बढाउन निर्देशन दिएको हो।

सडकको स्तरोन्नति तीन चरणमा भइरहेकाले यसको सहजीकरण गर्न र आएका समस्या समाधान गरेर समयमै काम सक्न गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनालाई निर्देशन दिइएको छ। टोलीले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडक र त्यहाँ निर्माण हुने पुलको निरीक्षण गर्दै कोल्पु खोला, देविघाट र तिरतिरेको पहिरो रोकथामको कामलाई अगाडि बढाउन योजनालाई भनेको छ।

मैलुङदेखि स्याफ्रुबेसी सडक टेन्डर प्रक्रियामा रहेकाले सो कार्यलाई छिट्टै टुंग्याउन आग्रह गरेको छ। गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दुरी रहेको छ। तीन खण्डमध्ये गल्छी–मैलुङ खण्डको स्तरोन्नति भइरहेको छ भने मैलुङ–स्याफ्रु खण्डको टेन्डर प्रक्रियामा छ। योजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार स्याफ्रु–रसुवागढी सडकखण्डमा विद्युतीय पोल सार्ने, संरचना हटाउनेलगायत काम अघि बढेको छ। मैलुङ–स्याफ्रु सडक एसियन हाइवे स्ट्यान्डर्डअनुसार निर्माण हुने उनले बताए। ‘यो सडक डेडिकेटेड डबल लेनको सडक हो,’ उनले भने, ‘यसको चौडाइ ११ मिटरको हुनेछ।’

प्रतिक्रिया