किन नेपालमा पेट्रोलको मात्रा घटो त ?

विदुर खबर २०७४ चैत २२ गते ५:२८

२२ चैत, काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ । लोडसेडिङ हटेपछि पेट्रोलियम पदार्थको आयात घट्नुपर्नेमा झनै बढ्नुमा भारततर्फ हुने तेलको तस्करी मुख्य कारक रहेको नेपाल आयल निगमका अधिकारीहरुको विश्लेषण छ ।

Advertisement

पेट्रोलियम पदार्थ आयातको कारोबार गर्ने नेपाल आयल निगमलाई आयात अत्यधिक बढ्दा त्यसको व्यवस्थापन गर्न धौधौ परिरहेको छ । अहिले पेट्रोलियम आयात वार्षिक २० प्रतिशतका दरले बढेको छ । २/३ वर्ष पहिलेसम्म यस्तो वृद्धिदर करिब १०/१२ प्रतिशत मात्र थियो ।

निगमका कार्यवाहक कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन्, ‘माग बढेको त छ, तर, यो स्वाभाविकचाहिँ देखिँदैन ।’

Advertisement

निगमका अधिकारीहरू आफैं पनि छक्क पर्छन्- कसरी बढेको छ आयात ?

पेट्रोलियम पदार्थको आश्चर्यजनक रुपमा आयात किन र के कारणले बढेको हो भन्ने सम्बन्धमा हालसम्म निगमले कुनै ठोस अध्ययन अनुसन्धान गरेको छैन । तर, आयात बढ्नुमा केवल माग बढ्नुमात्रै भने जिम्मेवार देखिँदैन ।

Advertisement

पछिल्लो समय भारततर्फ हुने तेलको तस्करीलाई आयात बढ्नुको एउटा प्रमुख कारणका रुपमा लिइएको छ ।

यसरी बढ्दैछ नेपालमा आयात

अहिले मासिक पेट्रोल आयात करिब ४० हजार किलोलिटर पुगेको निगमका कार्यकारी निर्देशक भट्टराई बताउँछन् । त्यस्तै, डिजेलको यस्तो आयात एक लाख ४० हजार किलोलिटर पुगेको छ । यसले पछिल्लो समय आयात कसरी बढिरहेको छ भन्ने देखाउँछ ।

आर्थिक वर्ष ०७०/७१ मा नेपालले दुई लाख १४ हजार ५१ किलोलिटर (एक किलोलिटरमा एक हजार लिटर हुन्छ) पेट्रोल आयात गर्‍यो । यसको मासिक हिसाव गर्दा औसत करिब २१ हजार किलोलिटर हुन आउँछ । उक्त आर्थिक वर्षमा आयात भएको ८ लाख ११ हजार एक सय किलोलिटर डिजेलको मासिक औसत आयात करिब साढे ६७ हजार किलोलिटर हुन आउँछ ।

आर्थिक वर्ष ०७१/७२ मा मासिक औसत २३ हजार किलोलिटर पेट्रोल आयात गथ्र्यो । उक्त आर्थिक वर्षमा डिजेलको मासिक औसत आयात करिब ७५ हजार देखिन्छ ।

आर्थिक वर्ष ०७२/७३ मा पेट्रोलको मासिक आयात करिब २० हजार किलोलिटरमा झर्‍यो, डिलेज करिब ६५ हजारमा । पाँच महिना लामो नाकाबन्दीका बावजुद पनि ठूलै परिमाणमा पेट्रोलियम आयात रोकिएन ।

गत आर्थिक वर्षमा नेपालमा मासिक साढे ३३ हजार किलोलिटर पेट्रोल आयात भयो भने डिजेल १ लाख आठ हजार किलोलिटर ।

‘तस्करी गर्नेमाथि कारवाही गरिरहेका छौं’

निगमको पूर्वाञ्चल कार्यालय प्रमुख भानु खनाल तेल तस्करीका घटनामा पछिल्लो समय कमी आएको दावी गर्छन् ।

स्थानीय प्रहरी प्रशासन स्थानीय तह लगायतमार्फत सिमा नाकाबाट हुने तस्करीलाई कडाइ गरिएको निगम बताउँछ ।

‘मोरङ र सुनसरीका केही पम्पमा त हामीले गाउँपालिका र नगरपालिकाको निगरानी र सिफारिसबिना पेट्रोलियम बिक्रीमा रोक लगाएका छौं,’ पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख खनालले भने । नेपालबाट बाहिरीने ट्रक/ट्याङ्करलाई तेल बोकेर गए/नगएको परीक्षण सुरु गरिएको उनको भनाइ छ ।

नाकाबन्दीदेखि नै फस्टाएको तस्करी

नेपालमा संविधान जारी भएसँगै असोज ०७२ सालमा भारतले नाकाबन्दी लगायो । त्यसक्रममा इन्धन आयात ठप्पप्रायः हुनपुग्यो, झण्डै पाँच महिना । उक्त समयमा तस्करीको मार्गबाट ठूलो परिमाणमा पेट्रोलियम आयात भयो । भारतसँग खुला सीमाना भएका कारण सीमानाका आसमासमा स-सानो परिमाणमा पेट्रोलियम यताउता हुनु स्वाभाविक भए पनि यो प्रवृत्ति पछिल्ला वर्षहरूमा झाँगिदै गएको छ ।

सीमानाकाबाट खुल्लमखुला नेपाल आयात भएको तेल भारत फर्किएर जान थालेको छ ।

उदाहरणका लागि अहिले दैनिक करिब चार सय ट्याङ्करले भारतबाट पेट्रोलियम ओसार्छन् । भारतबाट आयात गरेको तेल नेपालका डिपोमा खन्याएर जाने क्रममा पूरा ट्याङ्कर भरेर लाने र त्यसले ठूलो परिमाणमा नेपाल आएको तेल भारत नै फर्किएर जाने गरेका छन् ।

यसबाहेक एउटा नाकाबाटै दैनिक २/३ सय ट्रक/ट्याङ्कर सीमा नाकाबाट ओहोर-दोहोर गर्छन् । ठूला क्षमताका ती सवारीबाट पनि धेरै परिमाणमा तेल बाहिरिने गरेको छ । सीमानामा आवत-जावत गर्ने मानिसहरूबाट पनि अनौपचारिक रुपमा तेल बाहिरिने गरेको छ ।

नेपाल र भारतको मूल्यअन्तर

अहिले भारतमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड चुमेको छ । मंगलबारसम्म भारतको दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य ७४ भारु र डिजेल करिब ६५ भारु (नेरु १०४) छ । अहिले भारतमा पेट्रोल ८२ भारु (नेरु १३०) र डिजेल ६५ भारु (नेरु १०४)  सम्म पुगेको छ ।

जबकि नेपालमा अहिले प्रतिलिटर पेट्रोल १०५ र डिजेल ८५ रुपैयाँमा कारोबार हुन्छ ।

प्रतिलिटर मूल्यमै धेरै अन्तर हुँदा नेपालको तेल फर्केर भारत नै जाने गरेको निगमको भनाइ छ ।

अहिले नेपाल र भारतमा पेट्रोलियमको मूल्य अन्तर प्रतिलिटर २९ रुपैयाँसम्म पुगेको छ । निगमका अनुसार अहिले मोरङको जोगबनी नाकामा  वारि-पारि (नेपाल-भारत) पेट्रोलियमको मूल्य अन्तर सबैभन्दा उच्च छ । जहाँ कारोबार हुने डिजेल भारतको भन्दा प्रतिलिटर २९ रुपैयाँ १० पैसा सस्तो छ । पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ ।

त्यस्तै, जनकपुरमा पाइने डिजेल भारतको भन्दा प्रतिलिटर २८ रुपैयाँ ९१ पैसा सस्तो छ भने पेट्रोल २५ रुपैयाँ ३१ पैसा सस्तो छ । नेपालको वीरगञ्जमा पेट्रोलपम्पले बेच्ने डिजेल भारतको रक्सौलको भन्दा २७ रुपैयाँ ५८ ले सस्तो छ भने पेट्रोल २३ रुपैयाँ ६४ पैसा सस्तो छ ।

झापाको काँकडभिट्टा किनेको त्यही डिजेल पारिपट्टि पानीट्याङ्कीमा किन्दा २७ रुपैयाँ ५८ पैसा महंगो पर्छ भने पेट्रोल नेपालको भन्दा १९ रुपैयाँ ९२ महंगो छ ।

नेपालगञ्ज र धनगढीमा पेट्रोलको मूल्य अन्तर करिब १७ रुपैयाँ र डिजेलको यस्तो अन्तर करिब २१ छ ।

सीमानाकाको वारि-पारि नै यतिको फराकिलो मूल्य अन्तर हुँदा त्यसले तस्करीलाई बढावा दिएको निगमका अधिकारीहरुको तर्क छ ।

सामञ्जस्य नहुँदा समस्या

नेपालले पेट्रोलियममा स्वचालित मूल्य प्रणाली अंगालेको छ । यसको अर्थ भारतमा तेलको मूल्य तलमाथि हुँदा यहाँ पनि मूल्य घटबढ हुने हो ।

यही स्वचालित मूल्यप्रणाली अनुसार अहिले निगमले पाक्षिक रुपमा मूल्य समायोजन गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा छिटोछिटो उतारचढाव आउन थालेपछि भारतले पछिल्लो समय दैनिक मूल्य समायोजन गर्न थालेको छ । भारत गत जून १६ देखियता दैनिक मूल्य समायोजनमा गएको हो । त्यसअघि भारतले पनि १५/१५ दिनमा मूल्य समायोजन गथ्र्यो ।

करिब चार वर्षअघिसम्म नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर १५/१६ रुपैयाँसम्म महंगो पथ्र्यो, भारतको भन्दा । नाकाबन्दीको समयसम्म नेपाल र भारतको मूल्य अन्तर झण्डै बराबरी थियो ।

माघ ०७२ ताका भारतमा डिजेलको मूल्य ४५ रुपैयाँ भारु (नेरु ७२) को हाराहारीमा थियो । त्यतिबेला भारतमा डिजेलको अधिकतम मूल्य ५१ भारु (नेरु ८२ सम्म) पुगेको देखिन्छ ।

त्यति नै बेला नेपालमा डिजेलको यस्तो मूल्य ७५ रुपैयाँ थियो । अर्थात उक्त समयमा नेपाल र भारतमा डिजेलको मूल्यमा खासै अन्तर थिएन ।

सोही समय भारतमा ६० भारु (नेरु ९६) देखि ६६.९ भारु (नेरु १०५) को बीचमा पेट्रोलको मूल्य रहँदा नेपालमा ९९ रुपैयाँ थियो ।

भारतले पेट्रोलियम पदार्थमा उच्च कर लगाउन थालेपछि पछिल्ला वर्षहरूमा त्यहाँ मूल्य उच्च हुन थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिँदै जानु र उच्च करकै कारण पछिल्ला वर्षहरूमा भारतमा तेलको उकालो लाग्दैछ ।

माघ ०७३ मा नेपालमा पेट्रोलको प्रतिलिटर मूल्य १०१ रुपैयाँ ५० पैसा थियो, डिजेलको ७७ रुपैयाँ ५० पैसा थियो । जब कि सोही समय भारतमा पेट्रोल ७१.१४ भारु (नेरु ११४) देखि ७७.४६ भारु (नेरु १२४) र डिजेलको मूल्य न्यूनतम ५९.०२ भारु (नेरु ९४) देखि ६५ भारु (नेरु १०४)सम्म पुगेको देखिन्छ ।

०७४ माघमा आइपुग्दा नेपालमा पेट्रोलको मूल्य १०३ रुपैयाँ छ भने डिजेलको मूल्य ८१ छ । सोही समयमा भारतमा डिजेल ६२.०६ भारु (नेरु ९९) देखि ६५.४२ भारु (नेरु १०४) र पेट्रोल ७१.३९ भारु (नेरु ११४) देखि ७९ भारु (नेरु १२७) सम्म पुगेको छ ।

प्रतिक्रिया