नेपाली कांग्रेसमा जुट्यो सहमति, नेविसंघमा ७ महामन्त्री हुने

विदुर खबर २०७६ माघ १० गते २०:२०

नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक विवादित मुद्धामा सहमतिसहित टुंगिएको छ।

Advertisement

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताहरुको बैठकले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने पूर्व निर्णयलाई अनुमोदन गरेको छ। पुस ११ मा बसेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा निर्णय गरेपछि संस्थापनइतर समूह देउवा खेमासँग रुष्ट बनेको थियो। विवाद अन्त्यका लागि सभापति देउवाले बुधबार पनि बैठक बोलाएका थिए। दुई दिन बसेको नेताहरुको बैठकले महाधिवेशन,कार्यतालिका संसोधन र भ्रातृ संस्थाका विषयमा सहमति पहिल्याएको हो।

यसअघि पारित निर्णयलाई संसोधन गर्ने गरि नेताहरुबीच सहमति भएको छ। तल्लो तहका अधिवेशनहरु अघि सार्ने गरि नेताहरुबीच सहमति बनेको हाे। बुढानिलकण्ठ बैठकमा सहभागी केन्द्रीय सदस्य रमेश लेखकले विवादित सबै विषयमा सहमति भएको बताए। ‘परिमार्जित कार्यतालिका सोमबारको बैठकमा महामन्त्रीले प्रस्तुत गर्नुहुनेछ,’ उनले भने। विधानका धारा निलम्बनको पारित निर्णयलाई संसोधनसहित महामन्त्रीले सोमबारको केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने सहमति भएको छ। गत माघदेखि नेतृत्वविहीन नेपाल विद्यार्थी संघमा नयाँ नेतृत्व आउने भएको छ। सभापति देउवा पक्षले संघको अध्यक्ष राख्ने गरि ७ महामन्त्रीसहितको नयाँ कार्यसमिति आउने भएको छ। तदर्थ समिति ३२ वर्षमाथिबाट हुनेगरी सहमति जुटेकाे छ।

Advertisement

पार्टीभित्रका गुटहरुलाई व्यवस्थापन गर्न महामन्त्री संख्या सात बनाइएको छ। नेता लेखकले भने,‘सबै समूहबाट प्रतिनिधित्व हुने गरि संघको नयाँ कार्यसमिति आउनेछ।’ अर्को भ्रातृ संस्था तरुण दलको चार सदस्यीय वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिइने भएको छ। विवादित विभागको संख्यामा समेत महामन्त्रीले संसोधित प्रस्ताव ल्याउने बताइएको छ।

सोमबार बस्ने केन्द्रीय समितिको बैठकले सोही दिन सर्वसहमतिमा निर्णय पारित गर्ने बताइएको छ। सभापति देउवा निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का,पूर्व महामन्त्रीहरू  प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला, नेताहरू मीनेन्द्र रिजाल  र लेखक सहभागी थिए। मंसिर २६ देखि बोलाइएको केन्द्रीय समिति बैठक संस्थापनइतरले बहिस्कार गर्दै आएको थियो। सोमबारको बैठकमा संस्थापनइतरसमेत सहभागी हुने भएको छ।

Advertisement

प्रतिक्रिया