लाङटाङ राष्ट्रिय निकुञ्जमा दुई विद्यार्थी बेपत्ता

विदुर खबर २०७६ माघ ५ गते १८:४९

नुवाकोट ।  रसुवाको गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका दुई विद्यार्थी नुवाकोट जिल्लास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा तीन दिनेदेखि बेपत्ता भएका छन्।

हेलम्बु गाउँपालिका–१ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र जोरपाटी काठमाडौँका जापान लामा नुवाकोटको घ्याङफेदी आसपासबाट शुक्रबारदेखि बेपत्ता भएका हुन्। दुबै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। हेलिकप्टरबाट उनीहरुको खोजी कार्य भइरहे पनि फेला पार्न नसकेको हेलम्बुस्थित मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्ण गौतमले बताए।

उनका अनुसार गोसाईँकुण्ड घुम्न जाने योजना बनाएर उनीहरु माघ २९ गते हेलम्बु पुगेका थिए। हेलम्बु वाङ्गेलको गाउँ हो। बुधबार गोसाईँकुण्ड गएका उनीहरु फर्केर घ्याङफेदीस्थित फेदी लजमा वास बसेका थिए। वाङगेलले शुक्रबार बिहान ७ बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए।

 ‘परिवारका सदस्यले हिमपातमा नहिँड्न भन्दै लजमै बस्न आग्रह गरे पनि उनीहरु बिहान ९ बजेतिर हेलम्बु फर्कँन हिँडेको पाइयो,’ वाङगेलका शिक्षक रहेका गौतमले भने। उनीहरु घ्याङफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए। त्यसपछि उनीहरु सम्पर्कविहीन छन्। शनिबार अबेरसम्म तालुगाउँ आसपास कोही कराइ रहेको सुनिएको स्थानीयलाई उदृत गर्दै प्रअ गौतमले जानकारी दिए।

उनीहरु फसेको अनुमान गरिएको ठाउँ निकै अफ्ठेरो रहेको र बाक्लो हिउँ जमेकाले स्थानीय उद्दारमा निस्किन सकेका छैनन्। हेलिकप्टबाट शनिबार उनीहरुको खोजी प्रयास भए पनि खराब मौसमका कारण सफल हुन सकेन। आइतबार पनि हेलिकप्टरबाट खोजी गरिएको थियो। तर उनीहरु फसेको अनुमान गरिएको स्थानमा केही फेला परेन। उनीहरु हिउँमा फसेको हुन सक्ने अनुमान लगाउँदै शिक्षक गौतमले खोजीका निम्ति सम्वन्धित निकायलाई आग्रह गरे।

प्रतिक्रिया