सभामुखमा ओली दाहाल सहमति नजीक

विदुर खबर २०७६ माघ ४ गते ८:४१

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परिरहेकै बेला नयाँ विकल्पको खोजी सुरु भएको छ ।

Advertisement

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सभामुखका लागि नया विकल्पका बारेमा छलफल गर्दै सहमति नजीक पुगेको नेकपा सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा नयाँ विकल्पको खोजी भएको हो । यसैविषयमा विहीबार देखि सघन छलफलमा रहेका अध्यक्षद्धय छिटै सहमतिमा पुग्ने बताइएको छ । अहिलेसम्म चर्चा भएका उम्मेदवारको नाममा सहमति नजुटेपछि नेकपा स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र टोपबहादुर रायमाझीमध्ये एकलाई सभामुख उम्मेदवार बनाउने विषयमा छलफल सुरु भएको छ । यद्यपि, शर्मा र रायमाझीको नाममा समेत अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अहिलेसम्म चर्चा भएका नाममा सहमति नजुटेपछि नयाँ विकल्पको खोजीमा अध्यक्षद्वय ओली र दाहाल जुटेको बताए । नयाँ विकल्पको खोजीको क्रममा शर्मा र रायमाझीको नाममा छलफल भएको उनले बताए । ‘सभामुखको उम्मेदवार टुंगो लगाउने विषयमा विभिन्न नाममा छलफल भयो तर सहमति जुटन सकेन,’ नेकपा स्रोतले भन्यो, ‘सहमति नजुटेपछि नयाँ विकल्पको खोजी सुरु भएको छ, अध्यक्षद्वय अहिले छलफलमै हुनुहुन्छ ।’ नेकपाबाट सभामुख उम्मेदवार बन्नका लागि स्थायी कमिटीका सदस्यहरू सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसालले दाबी गरिरहेका छन् । यस्तै, उपसभामुख रहेकी डा. शिवमाया तुम्बाहाङ्फेले पनि आफू सभामुख बन्न लबिङ गरिरहेकी छन् ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख तुम्बाहाङ्फे, ओलीले नेम्वाङ, दाहालले सापकोटा, नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले भुसाललाई सभामुख बनाउनुपर्ने भनेर छलफल अगाडि बढाएका थिए । पूर्वसभामुखसमेत रहेका नेकपा संसदीय दलका उपनेता नेम्वाङ र उपसभामुख डा. तुम्बाहाङ्फेको नाममा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया