बुद्ध लामा भन्छन्: नाम कमाएँ तर गोजी रित्तो छ !

विदुर खबर २०७४ चैत १८ गते ४:५१

नेपाल आइडलको सेकेन्ड सिजन सुरु हुँदै गर्दा पहिलो सिजनका विजेता बुद्ध लामाले आफ्नो असन्तुष्टी बाहिर ल्याएका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले नेपाल आइडल बनेर नाम कमाए पनि दाम कमाउन नसकेको गुनासो गरे ।

Advertisement

‘यत्रो देश घुमिसकेँ, कत्ति न पैसा कमायो भनेर मानिसहरुले सोच्दा हुन्,’ उनले भने, ‘तर, मेरो गोजीमा एक रुपैयाँ परेको छैन ।’नेपाल आइडलका टप थ्रिले अहिलेसम्म ६ वटा देशको भ्रमण गरेर दर्जनौं कन्सर्टहरु गरिसकेका छन् । तर, यी कन्सर्टहरुमा भाग गीत गाएवापत एक रुपैयाँ पनि आफूहरुले नपाउने बुद्धले बताए । खाने बस्ने खर्च भने टेलिभिजनले व्यहोर्ने गरेको छ ।

‘कहिलेकाहीँ पकेट खर्च माग्छु, तर, यति थोरै दिन्छन् कि लिन पनि लाज लाग्छ । नलिएर पनि सुख छैन,’ बुद्धले भने । कन्सर्टबाट हुने आम्दानीको केही प्रतिशत आफूहरुले पाउनुपर्ने उनको माग छ । तर बुद्ध नेपाल एपी १ टेलिभिजनसँग एक वर्षको सम्झौतामा बाँधिएका छन् । उक्त सम्झौता बमोजिम उनले कन्सर्टमा भाग लिएवापत अतिरिक्त पारिश्रमिक पाउँदैनन् ।

Advertisement

बुद्धले आफूले अहिलेसम्म सम्झौतापत्र नपाएको पनि गुनासो गरे । ‘मैले पटक-पटक माग्दा पनि कन्ट्राक्ट पेपर दिएका छैनन्,’ उनले भने ।  नेपाल आइडलको दोस्रो संस्करणको प्रचार सामग्रीमा बुद्धको फोटो प्रयोग गरिएको छ । सो फोटो आफूले मन नलागी नलागी खिचेको बुद्धले बताए ।

‘मन खुशी भएको भए पो फोटो खिच्न मन लाग्थ्यो, करले खिचेको हुँ, हेर्नुस त मेरो अनुहारमा कुनै तेज छैन,’ उनले भने ।

Advertisement

भाडाको घरमा कहिलेसम्म बस्नु ?

पोखराका वासिन्दा बुद्धले आफू घरवारविहिन व्यक्ति भएको बताए । उनको परिवार पोखरामा भाडाको घरमा बस्दै आएको छ । आफ्नो परिवारलाई भाडाको घरबाट आफ्नो घरमा सार्ने बुद्धको ठूलो धोको छ ।

बुद्धका अनुसार घरको भाडा मात्रै मासिक सत्र हजार तिर्नुपर्छ । नगरपालिकामा सरसफाई कामदार रहेका उनका बाबु सन्तमानले मासिक २५ हजार जति कमाउँछन् ।
‘घर भाडा तिरेर बाँकी रहेको पैसाले अरु खर्च चलाउन बुवालाई आपत् पर्छ,’ बुद्धले भने, ‘अहिले सबैजना मेरो मुख ताकिरहनु भएको छ, तर मेरो आफ्नै अवस्था नाजुक छ ।’

उनको परिवारमा ६ जना छन् । नेपाल आइडलमा भाग लिनुअघि उनी दोहोरी साँझमा गीत गाउँथे । महिनाको ५५ सय कमाउँथे । त्यो पैसा सबै बुवालाई बुझाउँथे । यसबाट बुवालाई घर चलाउन सजिलो भएको थियो । तर अहिले यो बाटो बन्द भएको छ ।

बुद्धलाई संगीत क्षेत्रमा दिदी र भिनाजुले सहयोग गर्दै आएका छन् । उनकी दिदी आँचल लामा पनि गायिका हुन् । उनले पनि नेपाल आइडलमा भाग लिएर टप २३ सम्म पुगेकी थिइन् ।

नेपाल आइडल बनेपछि बुद्धले नगद २० लाख पुरस्कार, महेन्द्र केयूभी १०० कार र १५ लाखको एल्बम कन्ट्राक्ट जितेका थिए । २० लाख पुरस्कारमा ५ लाख आकस्मिक लाभ कर तिरेर उनले १५ लाख पाउँछन्, जुन तीन किस्तामा उपलब्ध गराइने भनिएको थियो । अहिलेसम्म टेलिभिजनले २ किस्तामा गरेर १० लाख रुपैयाँ दिएको छ । यो पैसा आफूले एक रुपैयाँ नराखिकन बुवालाई सुम्पिएको बुद्धले बताए ।

‘बुवालाई घर चलाउन समस्या छ भनेर सबै पैसा दिएँ,’ उनले भने, ‘उहाँले के गर्नुभएको छ, थाहा छैन ।’ एपी १ टेलिभिजनले अहिले बुद्धसहित निशान भट्टराई र प्रताप दासलाई आफ्नै संरक्षणमा राखेको छ । उनीहरुलाई गौशलाको वृहस्पती होटलमा राखिएको छ । खान-बस्न राम्रो सुविधा रहेको बुद्धले बताए ।

‘खाने बस्ने खर्च पनि आफैंले व्यहोर्नुपरेको भए त यतिबेलासम्म कंगाल भइसकिन्थ्यो,’ उनले भने ।

सल्टिएन ‘कार विवाद’
टेलिभिजन र बुद्ध लामाबीचको ‘कार विवाद’ अहिलेसम्म पनि सल्टिएको रहेनछ । ३२ लाख मूल्यको कारको ब्लुबुक प्राप्त गर्नका लागि बुद्धले ८ लाख रुपैयाँ आकस्मिक लाभ कर तिर्नुपर्ने हुन्छ । तर, उनी यो कर टेलिभिजनले नै तिरिदिनुपर्ने अडानमा छन् ।

निर्दोषतापूर्वक उनले भने, ‘तिर्नुपर्ने के-के छ टिभीले नै तिरेर मलाई कार दिनुपर्ने होइन र ? उनीहरुले पुरस्कार लिन आइज भनेर बोलाउनुपर्ने कि म धाउनुपर्ने ? धाउन पनि कति धाउनु ?’

टेलिभिजन व्यवस्थापनले यस विषयमा छलफल गर्न ‘अलि जान्नेबुझ्ने मान्छे’ लाई लिएर आउन भनेको रहेछ । ‘मेरो बुवा र अर्को व्यक्तिलाई लिएर चाँडै कुरा गर्न जान्छु’ बुद्धले भने ।

पुरस्कारमा जितेको कार भने बुद्धले त्यतिबेलै पाइसकेका छन् । सो कार बुद्धको बुवाले काम गर्ने अफिसमा राखिएको छ । बुद्धले सुरुदेखि कारको सट्टा पैसा मागिरहेका रहेछन् । तर, एपी १ ले पूर्वघोषणा बमोजिम कार नै लिनुपर्ने अडान लिएको छ ।

‘मलाई कार चाहिँदैन, त्यसको मूल्य बराबरको पैसा दिनुस भनिरहेको छु, तर मान्दैनन्,’ उनले भने, ‘मिस नेपाल जितेको व्यक्तिले कारको साटो पैसा लिएको सुनेको छु, मैले चाहिँ किन नपाउने ?’

बुद्धले केही सकारात्मक कुरा पनि गरे ।’म टेलिभिजनलाई धेरै गाली पनि गर्न चाहन्न किनकी यही टेलिभिजनका कारण म आज यो स्थानमा छु । मलाई पहिले कसैले चिन्दैनथे । तर अहिले सबैको प्यारो भएको छु । देश विदेश घुम्न पाएको छु,’ उनले भने ।

जतिसुकै अभाव र कष्ट भए पनि आफू संगीतबाट विचलित नहुने बुद्धको प्रण छ । ‘मैले पहिलेदेखि नै संगीतबाहेक अरु केहीमा ध्यान दिइनँ, एक वर्षको कन्ट्राक्ट अवधि सकिएपछि मेरो सांगीतिक करिअरले गति लिनेछ,’ उनले भने ।

आफूलाई अहिलेदेखि नै विभिन्न गीतको लागि डिमान्ड आइरहेको तर सम्झौताका कारण गाउन नमिलेको उनले बताए । प्लस टुसम्मको अध्ययन गरेका बुद्ध आफ्नो पढाईलाई पनि अगाडि बढाउने योजनामा छन् । ब्याचलरसम्म पढ्ने उनको लक्ष्य छ । उनी होटल म्यानेजमेन्टका विद्यार्थी हुन् ।

पहिलो गीत नै हिट
हालै मात्र बुद्ध लामाको पहिलो गीत सार्वजनिक भएको छ । सम्झौता बमोजिम एपी १ टेलिभिजनको खर्चमा यो गीत रेकर्ड गरिएको हो । गीतमा आएका प्रतिक्रियाबाट बुद्ध दंग परेका छन् ।

‘तिमी भएपछि भगवान पनि चाहिँदैन’ बोलको गीतले यूट्यूवमा ९ दिनमा करिब नौ लाख भ्यूज पाएको छ । करिब ५ हजार प्रतिक्रिया आएका छन् जसमध्ये अधिकांस सकारात्मक छन् ।

आफ्नो पहिलो गीत मन पराइएकोमा बुद्धले खुशी व्यक्त गरे । ‘गीतमा आएका कमेन्टहरु पढ्दा मलाई धेरै हौसला मिलेको छ,’ उनले भने, ‘आगमी दिनमा अझै राम्रो गीत ल्याउनेछु ।’

प्रतिक्रिया