प्रदेश–३ को राजधानी र नामको अन्तिम निर्णय आज

विदुर खबर २०७६ पुष २७ गते १०:०१
 हेटौंडा। देशको केन्द्रसमेत रहेको प्रदेश–३ को आज आइतबार बस्ने प्रदेशसभा बैठकले राजधानी हेटौंडा र नाम ‘बागमती’ पारित गर्ने भएको छ।
नेकपा सचिवालयले प्रदेशको राजधानी हेटौंडा र नाम ‘बागमती’ राख्ने निर्णय गरेसँगै हतारहतारमा गत मंगलबार मतदान गर्ने गरी प्रारम्भिक खाका ल्याइएको थियो। तर, आफ्नै दलका असन्तुष्ट सांसद्का कारण नेकपा निकै अप्ठेरोमा परेको थियो। यसका कारण सचिवालयले नेताहरुलाई काठमाडौंमा बोलाएर पुनः निर्देशन दिनुपरेको थियो।
संसदीय दलको बैठकमा विशेषतः काभ्रेका सांसद्हरुले पार्टी केन्द्रीय नेतृत्वले गलत निर्णय गरेको दाबी गरेका थिए। प्रदेशको स्थायी राजधानी र नामसम्बन्धी प्रस्तावमा शनिबार छलफल भएको थियो।
आइतबार विहान  मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइएको छ। प्रदेशको स्थायी राजधानी र नामकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यबस्था छ। प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठका अनुसार आइतबार स्थायी राजधानी र नाम टुंगो लगाउन तयारी छ। प्रस्ताव निर्णयार्थ पेश भएपछि प्रदेशसभा सदस्यले वर्णानुक्रमअनुसार ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने दुई लाइनमा दस्तखतसहित मतविभाजन भई मतपरिणाम घोषणा हुनेछ।
शनिबार प्रदेशको स्थायी राजधानीका लागि हेटौंडा र काभ्रेको धुलिखेल गरी दुई स्थानको प्रस्ताव दर्ता भएका थिए। प्रदेश राजधानीको स्थान र नामकरणका लागि प्रस्ताव माग गरिएकोमा प्रदेशसभा सचिवालयमा शनिबार हेटौंडा र धुलिखेलको नाम प्रस्ताव दर्ता भएका हुन्। प्रदेशको राजधानी हेटौंडा र नाम ‘बागमती’ राख्ने नेकपा र कांग्रेससहित ६ दलले प्रदेशसभामा संयुक्त प्रस्ताव दर्ता गरेका हुन्। प्रदेशको स्थायी राजधानीमा हेटौंडाका लागि नेकपा संसदीय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक रहेर प्रस्ताव दर्ता गरिएको हो।
प्रस्तावको समर्थकमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रीना गुरुङ हुनुहुन्छ। नाम र राजधानीबारे नेकपा र कांग्रेस एकै ठाउँमा उभिएका छन्।
विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीकी शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेल राजधानीका लागि प्रस्ताव दर्ता गरिएको छ।
प्रदेशको नामकरणका लागि एकल प्रस्ताव ‘बागमती’ दर्ता भएको छ। कांग्रेसले प्रदेशको नामकरणका लागि गरेको प्रस्तावमा एकमात्र प्रस्ताव परेको हो। प्रदेशको ‘बागमती’ नामकरणका लागि कांग्रेस संसदीय दलका नेता बानियाँ प्रस्तावक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभा सभामुख श्रेष्ठले जानकारी दिनुभयो।
यसअघि सदनमा ‘गौरीशंकर’, ‘नेवाः ताम्सालिङ’, ‘नेपालमण्डल’ र ‘पशुपति’ लगायत नाम प्रदेशसभा सदस्यहरुले दर्ता गराउनुभएको थियो। अब ती सबै प्रस्ताव छायामा परेका छन्।
प्रदेशसभाका नेकपाका सभामुखसहित ८० जना, कांग्रेसका २२ जना, विभाजन पूर्वको विवेकशीलका ३, राप्रपा र राप्रपा संयुक्तका १÷१ जना प्रदेशसभा सदस्य हुनुहुन्छ। स्वतन्त्रतर्फ १ प्रदेशसभा सदस्य रहनुभएको छ। २ सांसद रहेको नेमकिपा भने मौन छ। प्रदेशसभामा रहेका १ सय १० सदस्यमध्ये हेटौंडालाई राजधानी बनाउने पक्षमा १ सय ७ सदस्य छन्। कुल ७४ मत भए राजधानी तोक्न बहुमत पुग्छ। प्रदेशको कांग्रेस संसदीय दलले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने भएको छ। कांग्रेस संसदीय दलको शुक्रबार हेटौंडामा बसेको बैठकले प्रदेश राजधानी पक्षमा आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गर्ने निर्णय गरेको थियो।
कांग्रेस संसदीय दलका सचेतक छिरिङ दोर्जेलामाले दलको बैठकले प्रदेशको स्थायी राजधानीको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको जानकारी दिनुभयो। प्रदेशसभामा नेकपा र कांग्रेसको सहमतिपछि प्रदेश राजधानी हेटौंडा हुने करिब पक्का भइसकेको छ।किनकि, बलियो दुई तिहाइ रहेको सत्तारूढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम ‘बागमती’ बनाउन एकमत भइसकेका छन्।सचिवालयमा प्रस्ताव दर्तापछि मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीसँग हेटौंडालाई स्थायी राजधानी बनाउन साझा सहमतिका आधारमा प्रयास गरिएको र सबै दलसँग सहमतिका लागि वार्ता भइरहेको बताउनुभयो।
समाचारपत्र दैनिकबाट

प्रतिक्रिया