अवैध रुपमा सालको काठ बेचेका बेलकोटगढीका वडाअध्यक्ष सिलवाल फरार

विदुर खबर २०७६ मंसिर ३० गते २०:३६

प्रहरी भन्छ, खोजतलास जारी छ

नुवाकोट । अवैध रुपमा सालको काठ बेचेका बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष डिल्लीराम सिलवाल फरार भएका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले डिभिजन वन कार्यालय नुवाकोटको पत्र अनुसार निरन्तर खोजतलास गरिरहेको बताएपनि बेलकोटगढी नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष डिल्लीराम सिलवाल यो समाचार तयार पार्दासम्म फेला परेका छैनन् । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्लेकाका अनुसार प्रहरीले वडा अध्यक्ष सिलवालसहित भृकुटी कटुवा मोटरबाटो निर्माण समितिका अध्यक्ष भरत सिलवाल र बिदुर नगरपालिका वडा नम्वर ५ का किसन चित्रकारलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको छ ।

Advertisement

प्रहरीले आफ्नो क्रियाशिलता बढाएपनि वडा अध्यक्ष सिलवाल पक्राउ नपर्नुलाई धेरैले सत्ता राजनीतिसंग जोडेर हेरेका छन् भने स्रोतका अनुसार वडा अध्यक्ष सिलवाल कानुन बिपरित गरिएको कामलाई बैद्यता दिलाउन राजधानीमा बसेर शक्तिकेन्द्रहरु धाईरहेका छन् ।

यसअघि गत सोमबार डिभिजन वन कार्यालय नुवाकोटले नुवाकोट जिल्ला अदालतको पक्राउ अनुमतिपछि वडा अध्यक्ष सिलवाल, भृकुटी कटुवा मोटरबाटो निर्माण समितिका अध्यक्ष सिलवाल र काठ खरिदकर्ता चित्रकारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन प्रहरीलाई पत्राचार गरेको थियो । प्रतिबन्धित काठ लिलामी प्रकरणको अनुसन्धान जारी रहेको र वडा अध्यक्षसहितलाई नियन्त्रणमा लिएर थप छानविन गरिने डिभिजन बन कार्यालय नुवाकोटका प्रमुख जयमंगलप्रसाद शाह बताउँछन् । शाहका अनुसार बन कार्यालयसंग जनशक्ति समेत कम भएका कारण प्रहरीको सहयोग लिईएको हो ।

Advertisement

नुवाकोट जिल्ला अदालतले डिभिजन वन कार्यालयको हिरासतमा रहेका आईचर चालकहरु बेलकोटगढी नगरपालिका वडा नं. १२ का ४२ वर्षिय प्रविण श्रेष्ठ र सोही स्थानका २६ वर्षिय वसन्त कुमार श्रेष्ठलाईतेस्रो पटक पाँच दिनको म्याद थप गरिसकेको छ भने वडा अध्यक्षसहितका ३ जना पक्राउ नपर्दा अनुसन्धान समेत प्रभावित हुँदै आएको छ । यसैबिच आईतबार युवाहरुको एक समूहले बेलकोटगढी –१२ को वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय नुवाकोटले बा. ३ क. १४५२ र बा. ४ ख. ९४०७ नम्वरको दुईवटा आईचर मिनिट्रकमा एकसय ३० दशमलव ४० घनफिट बराबरको २५ गोलिया साल र ६ दशमलव ७७ घनफिट असना नामको ३ गोलिया काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालय नुवाकोटमा बुझाएको थियो ।

Advertisement

यसैगरी प्रतिबन्धित सालको काठ अधिकार नहुँदा नहुँदै लिलाम गरेको बेलकोटगढी नगरपालिकाको वडा नम्वर १२ ले काठ लिलाम बापतको रकममा समेत हिनामिना गरेको पाईएको थियो । काठ लिलाम सकार्ने बिदुर नगरपालिका वडा नम्वर ५ का किसन चित्रकारसंग तीनलाख ७६ हजार बुझेर भरपाई समेत गरेपनि नगदी रसिदमा भने दुईलाख १७ हजार मात्र बुझेको उल्लेख गरेको छ ।

प्रशासन, वन र नगरपालिका समेत गुमराहमा

बेलकोटगढी –१२ का् वडा कार्यालयले प्रतिबन्धित सालको काठ लिलामी गरेर चलान गरुञ्जेलसम्मको प्रकृयामा जिल्ला प्रशासन कार्यालय नुवाकोट, बेलकोटगढी नगरपालिका र डिभिजन वन कार्यालय नुवाकोटलाई समेत गुमराहमा राखेको पाईएको छ । वडा कार्यालयले काठ लिलामी प्रकृयामा त कसैलाई सोध्ने आवश्यकता देखेन नै ,काठ चलान गर्दा पठाईएको बोधार्थ पत्रसमेत हालसम्म कुनै कार्यालयमा पुगेको पाईएन् ।

वडा कार्यालयले काठ चलान गर्दा जिल्ला प्रशासन कार्यालय नुवाकोट, बेलकोटगढी नगरपालिका र डिभिजन वन कार्यालयलाई बोधार्थ लेखेको देखाईएपनि आईतबारसम्म उक्त पत्र कुनै कार्यालयमा पनि नपुगेको स्रोतहरुले दाबी गरेका छन् । यस संबन्धमा जिज्ञासा राख्दा डिभिजन वन प्रमुख जय मंगलप्रसाद शाह र बेलकोटगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले यस संबन्धि कुनै पत्र आफ्नो कार्यालयमा प्राप्त नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया