नुवाकोटको दुईपिपलमा उखुखेती घट्दो

विदुर खबर २०७६ मंसिर १९ गते १२:२६

नुवाकोट  । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपल क्षेत्रका किसान ५–६ वर्ष अघिसम्म उखु खेतीमा निर्भर थिए। तर, अहिले त्यस क्षेत्रमा उखु खेती गर्ने किसान भेट्टाउन मुस्किल पर्ने गरेको छ। उखु खेती गर्न छोडेर मकै र कोदोमा किसानहरु आकर्षित भएका छन्।

झण्डै १३ रोपनी जग्गामा उखु खेती गर्दै आएका ५६ वर्षीय सुर्यमान श्रेष्ठको परिवारले पनि ५–६ वर्ष भयो उखु खेती गर्न छाडेको। परिवारमा गर्ने मान्छे नभएपछि र बादरले दिने दुःख सहन नसकेर पुस्तौदेखि गर्दै आएको खेती छाड्न परेको उनले बताए। ‘गाउँभरिका सबैले उखु लगाउथे। उखु खेतीमा नै रमाइयो, हुर्कियो। यही खेतीबाट जीवन चलाइयो। छोराछोरी हुर्काइयो, बढाइयो, पढाइयो,’ उनले भने, ‘अहिले उनीहरु दायाँबायाँ लागे। घरमा गर्ने मान्छे छैन। उखुलाई धेरै स्याहार गर्नुपर्ने। खेताला पाउनै मुस्किल। उखुभन्दा धान, मकै, कोदोबाट आम्दानी त कम हो तर गर्नै सकिएन। अहिले त बादरले दुःख दिन्छ त्यस्तै।’

दुईपिपल क्षेत्रमा विशेषगरी उखु पेल्ने बेलामा उखु, सख्खर, खुदो लिन आउने जानेको चहलपहल त्यो बेला धेरै हुने गरेको भए पनि अहिले सून्यजस्तै हुने गरेको श्रेष्ठले बताए। उनको अनुसार पहिले तीन सयभन्दा बढी घरधुरीले उखु खेती गर्ने भए पनि अहिले ६०–७० घरधुरीले मात्र उखुखेती गर्ने गरेका छन्। ‘हाम्रो मात्रै उखु पेल्न २५ दिनसम्म लाग्ने गरेको थियो। बिहे, ब्रतबन्ध जस्ता कार्यलाई भनेर रातमाटे, बुधसीं, तारुका, जिलिङ तिरबाट पनि सख्खर, खुदो लिन आउथे। अहिले त चहलपहल हुन छाड्यो,’ श्रेष्ठले भने।

दुईपिपलकै दिपक श्रेष्ठले लगानी अनुसारको आम्दानी उखुमा नभएपछि खेती गर्न छाडेको बताए। यातायात सुविधा नहुँदा पिठ्युमा सख्खरको डल्ला बोकेर त्रिशूलीसमेत धाउने गर्थे उनी। तर अहिले त्यो सम्झिँदा उनलाई सपना जस्तै लाग्ने गरेको छ। ‘दिनरात भन्न पाउँदैनन् उखुखेती गर्नेहरुले। उत्तिकै खटिरहनुपर्छ। सबैथोक सम्झेर काम ग-यो, खर्च उठ्दैन,’ उनले भने, ‘गाउँमा युवा छैनन्। उखुमा आधुनिक खेती प्रणाली भिœयाउन सकिएन। उत्पादन खट्दै गयो।’ उखु लगाएपछि उत्पादन लिन झण्डै एक वर्ष कुनुपर्ने भएर पनि त्यहाँका किसानले अन्य अन्नबाली रोज्न थालेका छन्। परिवार संख्या धेरै हुनेले उखुको विकल्प खोज्ने गरेका छन् भने परिवारमा काम गर्ने मान्छे नहुँदा जग्गा बाझिनसमेत थालेको नानीमैयाँ श्रेष्ठले बताइन्।

नागरिक दैनिकबाट ।

Advertisement

 

प्रतिक्रिया