उपचुनाव नतिजा : नेकपा ३०, कांग्रेस १३ स्थानमा विजयी

विदुर खबर २०७६ मंसिर १६ गते १९:०५

काठमाडौँ  ।  शनिबार ५२ पदका लागि भएको उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ ।

Advertisement

निर्वाचन आयोगले प्रतिनिधिसभाको एक, प्रदेशसभाका ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ का लागि भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाका उम्मेदवार ३०, कांग्रेस उम्मेदवार १३, समाजवादी पार्टीका उम्मेदवार ४, राजपा उम्मेदवार ३, राष्ट्रिय जनमोर्चाका उम्मेदवार १ र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएको जानकारी दिए ।

नेकपाले प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र २४ वडाअध्यक्ष जितेको छ । प्रतिनिधिसभाको कास्की क्षेत्र नं २ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार तीनसय ९४ मत ल्याएर विजयी भएकी छन् । यसअघि रवीन्द्र अधिकारीले जितेकोमा अहिले उनकी श्रीमती भट्टराइले जितेकी हुन् । प्रदेशसभाको दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपा उम्मेदवार विमलाकुमारी खत्री २४ हजार दुईसय ८६ मत ल्याएर विजयी भइन् । त्यहाँ यसअघि पनि नेकपा उम्मेदवार उत्तरकुमार ओलीले जितेका थिए । खत्रीले कांग्रेस उम्मेदवार केशवराज शर्मा आचार्यलाई पराजित गरिन् ।

उपचुनाव भएको तीन गाउँपालिका अध्यक्ष संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरामा नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । मकालु गाउँपालिकाको अध्यक्षमा तेजबहादुर पोखरेल तीनहजार १८, पाँचथरको फाल्गुनानन्द गाउँपालिका अध्यक्षमा विरबहादुर कुरुम्वाङ ५ हजार तीनसय ६९ र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा विक्रम चौधरी तीनहजार दुई सय ४९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा रुपाशाही एक हजार चार सय ५४ मतल्याएर विजयी भइन् । नेकपाले विभिन्न पालिकाका २४ वडाध्यक्ष जितेको छ ।

कांग्रेसले प्रदेशसभा सदस्य १, उपहानगरपालिकाको मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जित हात पारेको छ । प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क) मा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार चार सय ४९ मत ल्याएर विजयी भए । उनले नेकपा उम्मेदवार देवीप्रसाद ढकाललाई पराजित गरे । यसअघि सो क्षेत्रबाट नेकपाका उम्मेदवार हरिशरण लामिछानेले जितेका थिए ।

धरान उपमहानगरपालिका प्रमुखका कांग्रेस उम्मेदवार तिलक राई २६ हजार सात सय ९ मत ल्याएर विजयी भएका छन् । उनले नेकपा उम्मेदवार प्रकाश राईलाई पराजित गरे । धरानमा कांग्रेसले प्रमुख जितेको यो पहिलो पटक हो । कांग्रेसले विभिन्न ११ पालिकाका वडाध्यक्ष पनि जितेको छ । प्रदेशसभाका बागलुङ २ ‘ख’मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही ११ हजार दुईसय ३५ मत ल्याएर विजयी भए । उनले कांग्रेस उम्मेदवार जीतबहादुर शेरचनलाई हराए ।

समाजवादी पार्टीले ४, राजपाले ३ वडाध्यक्षमा जीत हात पारेका छन् । भिमेशकुमार घर्तीमगरले प्यूठानको एरावती गाउँपालिका–२ को वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया