मध्यपहाडी लोकमार्ग समयमै सक्ने लक्ष्य

विदुर खबर २०७६ कार्तिक ३० गते १०:२६

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनामा रहेको मध्यपहाडी लोकमार्ग निर्माणमा विभिन्न समस्या देखिए पनि सडक निर्माण समयमा सम्पन्न गर्ने गरी अघि बढेको छ ।

Advertisement

गत आर्थिक वर्षमा सो लोकमार्गमा १५२ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालू आवको पहिलो चौमासिकमा भने भैतिक प्रगति कम भएपनि ठेक्का प्रक्रिया अघि बढाउने काम भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दीपक केसीले बताउनुभयो । उहाँका अनुसार निर्माण शुरु भएदेखि हालसम्म ३४४ किमी सडक कालोपत्रे भइसकेको छ भने ५८१ किमी सडकका लागि ठेक्का सम्झौता भएर निर्माण भइरहेको छ । चार सय ९२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी छ । अहिलेसम्म ६८ सडक पुल सम्पन्न भएको छ भने २४ पुल निर्माणाधीन छ । उहाँले भन्नुभयो, “बाँकी रहेका ठाउँमा पनि ठेक्का सम्झौता भइरहेको छ ।” आयोजनाअन्तर्गत झण्डै ८७९ किमी सडक नयाँ ट्र्याक खोली निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकहरुलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ ।

प्रमुख केसीले बताउनुभयो, “हामीले पहिले सञ्चालनमा रहेका सडकलाई पनि लोकमार्गकै स्तरमा ल्याउने काम भइरहेको छ ।” सरकारले आव २०६९÷७० मा राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकताका साथ अघि बढाएको हो । विसं २०६४÷६५ बाट निर्माण शुरु गरिएको मध्यपहाडी लोकमार्ग २०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Advertisement

प्रतिक्रिया