बालुवाटारमा मन्‍त्री फेर्ने छलफल

विदुर खबर २०७६ कार्तिक २४ गते २०:३३

नुवाकोट । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल भएको छ। आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा छलफल भएको हो।

Advertisement

केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो। ‘चाँडै मन्त्रिपरिषद्मा हेरफेर हुँदैछ’, उच्च स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच पात्रका विषयमासमेत छलफल भएको छ।’ स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनको स्थानमा प्रभु शाहलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ। सँगै महिला बालबालिकामन्त्री थममाया थापालाई हटाएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ। अन्य मन्त्रीका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ। त्यसैगरी तीन पटक संसदीय चुनाव जितेका वसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहमत भएको स्रोतले बताएको छ।

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले काम गर्न लागेको उनका विश्वास पात्रलाई बताउँदै आएका छन्। उनले नयाँ ढंगले अगाडि बढ्ने भन्दै शुक्रबार बालुवाटार बैठकमा सल्लाहकारलाई संयुक्त राजीनामा दिन निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशन लगत्तै सबै सल्लाहकारले मंसिर १ गतेदेखि लागु हुनेगरी राजीनामा दिँदैछन्।  सबै विषयलाई टुंगो लगाउन सोमबार बिहान ९ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।

Advertisement

प्रतिक्रिया