सम्पादनको हिसावले नुवाकोटका सिडियो २९औ नम्बरमा,रसुवाका सिडियो तेस्रो नम्बरमा

विदुर खबर २०७६ कार्तिक १६ गते ९:४१

नुवाकोट । कार्य सम्पादनको हिसावले नुवाकोटका सिडियो द्रोण पोखरेल २९ औ नम्बरमा परेका छन । देशरभरका ७७ सिडियोमध्ये ८३.३३ प्रतिशत अंक प्राप्त गर्दै सिडियो पोखरेल २९ औ स्थानमा परेका हुन ।

Advertisement

त्यस्तै रसुवाका सिडियोहरु कृष्ण पौडेल र अर्जुन भण्डारीले संयुत्त रुपमा ९०.६९ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो स्थानमा हात पारेका छन ।

यस्तो थियो मूल्यांकनको मापदण्ड 
मन्त्रालयले हरेक कामको नम्बरसहितको सूचकअनुसार कार्यसम्पादन सम्झौता गरेको थियो । जसमा शान्तिसुरक्षा तथा अमनचयनमा ४६ नम्बर राखिएको छ । त्यस्तै सुशासन तथा सेवा प्रवाहमा २७, शासकीय सुधार र रूपान्तरणमा ८, विपद् व्यवस्थापनमा १०, समन्वय तथा सहजीकरणमा ५ तथा सदाचार तथा आर्थिक अनुशासनमा ६ नम्बर राखेर मूल्यांकन गरिएको छ । हरेक सूचकभित्र अपराध घटाउनुपर्नेदेखि सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने कामहरूको विवरण उल्लेख थियो । मन्त्रालयले अन्य देशसँग सीमा जोडिएका जिल्लाका सिडिओलाई १०२ तथा अन्य जिल्लाका सिडिओलाई ९९ नम्बरको पूर्णांकमा मूल्यांकन गरेको थियो ।

Advertisement

सिडिओहरूको नतिजा ६ वटा ग्रेडमा
देशमै पहिलोपटक कार्यालय प्रमुखसँग यस्तो सम्झौता भएर रिपोर्टकार्ड तयार पारिएको हो । पाँच जिल्लाका सिडिओले ए प्लस, ३५ ले ए, २८ ले बी प्लस र ६ जिल्लाका सिडिओले बी ग्रेड पाएका छन् । हुम्ला, सिन्धुपाल्चोक र खोटाङका सिडिओले भने सी प्लस पाए । ९० भन्दा माथि नम्बर ल्याउनेलाई ए प्लस, ८० देखि ९० ल्याउनेलाई ए, ७० देखि ८० ल्याउनेलाई बी प्लस, ६० देखि ७० ल्याउनेलाई बी, ५० देखि ६० नम्बर ल्याउनेलाई सी प्लस ग्रेडमा राखिएको छ ।  ४० देखि ५० नम्बर ल्याउनेलाई सी ग्रेडमा राखिएको थियो । तर, त्यसमा कोही परेनन् । मन्त्रालयले आफुले गरेका कामहरूको विवरणसहितको फर्म भरेर पठाउन लगाई त्यसलाई परीक्षण गरिएको थियो । सोही आधारमा उनीहरूको मूल्याङकन भएको हो ।

कार्यसम्पादन सम्झौतापछि जिल्लाहरूमा सिडिओहरूको सक्रियता बढेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । ‘यसले सिडिओहरूबीच नै एकप्रकारको प्रतिस्पर्धा बढेको छ,’ उनले भने,‘शान्ति सुरक्षाको अवस्थामा पनि सुधार भएको छ ।’ गृह मन्त्रालयले कार्यसम्पादन मूल्यांकनअनुसार नतिजाको आधारमा सिडिओहरूलाई थप जिम्मेवारी दिने जनाएको छ ।

Advertisement

तर, त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गरिएको छैन । बाँकेका सिडिओ मदन भुजेल कार्यसम्पादनमा बी प्लसमा परेका छन्, उनलाई झन् महत्वपूर्ण जिल्लामा मोरङको जिम्मेवारी दिइएको छ । सुरक्षाका दृष्टिकोणले मोरङलाई बाँकेभन्दा संवेदनशील जिल्लाका रूपमा लिइन्छ । नेपालगन्जस्थित कान्जी हाउसका गाई सुर्खेत लगेर भिरमा खसालिएको प्रकरणमा गृहको छानबिन समितिले उनलाई समेत दोषी ठहर गरेको थियो ।

केही सिडिओलाई भने पुरस्कृत गरिएको छ । सबैभन्दा धेरै नम्बर ल्याउने बर्दियाका तत्कालीन सिडिओ रामबहादुर कुरुम्बाङलाई स्याङ्जामा सरुवा गरिएको छ । कार्यसम्पादन राम्रो भएको भन्दै बर्दियामा डेढ वर्ष राखिएको थियो । त्यस्तै, दोस्रो नम्बरका प्रेमलाल लामिछानेलाई अर्घाखाँचीमा अवधि पुगेपछि बर्दियाको जिम्मेवारी दिइएको छ । त्यस्तै, चौथो भएका चितवनका जितेन्द्र बस्नेतलाई त्यहीँ राखिएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया