धरानको मेयरमा कांग्रेसबाट तिलक राईको उम्मेद्वारी

धरान । नेपाली कांग्रेसले धरानको मेयरमा तिलक राईलाई उठाउने भएको छ ।
यसअघि उम्मेवारी घोषणा गरेका सुजेन्द्र तामाङले तिलक राईलाई छाडिदिने घोषणा गरेपछि उनी उम्मेदवार बन्ने बाटो खुलेको हो ।‘मैले मेयरमा उठ्नका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिरबाट राजीनामासमेत दिइसकेको थिएँ,’ कांग्रेस सुनसरीका कोषाध्यक्षसमेत रहेका तामाङले भने, ‘तर, सर्वसम्मत होस् भनेर मैले तिलक राईजीलाई समर्थन गरें, अब उहाँका लागि चुनावी प्रचार-प्रसार र घरदैलो सुरु भइसकेको छ ।’
सुनसरी जिल्ला कमिटीका तर्फबाट तिलक राईलाई मेयरको उम्मेद्वार घोषणा गरिसके पनि पार्टी केन्द्रबाट यसले औपचारिकता पाइसकेको छैन । उपमहानगर, प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारहरुको टुंगो कांग्रेसको केन्द्रीय कार्यसमितिले लगाउने छ । यसका लागि आजै काठमाडौंमा केन्द्रीय पदाधिकारीहरुको बैठक बोलाइएको छ । धरानमा ०७४ सालको चुनावमा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर जितेका थिए । फोक्सोको निमोनियाका कारण ग्राण्डी अस्पतालमा सुब्बाको निधन भएपछि गत वर्षदेखि धरानमा मेयर पद खाली छ ।तारा सुब्बासँग ०७४ को चुनावमा कांग्रेसका तर्फबाट तिलक राईले नै प्रतिस्पर्धा गरेका थिए । तिलकले १६ हजार १०२ मत प्राप्त गरेका थिए । यहाँ एमाले र कांग्रेसवीचको मतान्तर ४ हजार ८७३ थियो । एमालेसँग फराकिलो मतान्तरले हारेका उनै तिलक राई अहिले फेरि मेयरमा प्रतिस्पर्धा गर्दैछन् । राईलाई अर्को चुनौती के छ भने ०७४ सालमा उनले एमाले एक्लैसँग सामना गरेका थिए भने यसपालि माओवादी र एमाले मिलेको अवस्था छ ।
धरानमा पूर्वमाओवादीको एकिन मत कति छ भन्ने स्पष्ट छैन । ०७४ को चुनावमा माओवादी र संघीय समाजवादीवीच तालमेल भएको थियो । दुई पार्टीका संयुक्त उम्मेदवार अइन्द्रविक्रम बेघाले त्यसबेला ११ हजार १८० मत पाएका थिए । यसमध्ये करिब ६ हजार मत पूर्वमाओवादीको रहेको अनुमान गरिँदै आएको छ । र, यो गणितका आधारमा विश्लेषण गर्ने हो भने नेकपा र कांग्रेसवीचको मतान्तर करिब १० हजारको हाराहारीमा देखिन्छ ।
२० वटा वडाहरु रहेको धरान नगरपालिकामा ०७४ सालमा मतदाता संख्या ७९ हजार २९० थियो ।आगामी मंसिर १४ गते हुने उपचुनावमा नेपाली कांग्रेसका नेताहरुले उपेन्द्र-बाबुराम नेतृत्वको समाजवादी पार्टीसँग तालमेलको प्रयास गरिरहेको स्रोतले बतायो । यद्यपि समाजवादी पार्टीले धरानको मेयरमा पूर्व गोर्खासैनिक गजेन्द्र ईस्बोलाई अगाडि सारिसकेको छ ।कांग्रेसले धरानको वडा नम्बर ७ मा समाजवादीलाई सघाएर आफूलाई मेयरमा सघाउन समाजवादी समक्ष अनौपचारिक प्रस्ताव अघि सारेको स्रोतले बतायो । मंसिर १४ मा धरानको मेयरका साथै वडा नं ७ का वडाध्यक्षको पनि चुनाव हुँदैछ । धरानको मेयरमा कांग्रेसले उम्मेवारको टुंगो लगाए पनि नेकपाका तर्फबाट भने अहिलेसम्म उम्मेदवार घोषणा हुन सकेको छैन । नेकपाबाट प्रकाश राईको नाम चर्चामा छ ।
प्रतिक्रिया