नेपाल प्रहरीमा भुँडी आतंक, रोकिएन बढ्न भुँडी

विदुर खबर २०७६ कार्तिक १३ गते १५:४१

काठमाडौं  ।’प्रहरीको प्रमुख शत्रु को? यो प्रश्नको जवाफमा सबैजसो प्रहरीको एउटै उत्तर आउँछ, ‘जसले कानुनको उल्लंघन गर्छ।’ तर पूर्वडिआइजी रमेश खरेल भने योसँगै अर्को एउटा शब्द पनि थप्थे, ‘भुँडी।’

Advertisement

‘हि मे बी करप्टेड?’ भुँडीलाई प्रहरीको शत्रु मान्ने उनै खरेलले भन्ने वाक्य हो यो। ‘उनी भुँडी ठूलो भएको प्रहरीलाई प्रायः यसै भन्ने गर्थे,’ उनका समकालीन एक प्रहरी सुनाउँछन्, ‘उहाँको भनाइको आशय भुँडी ठूलो भएका प्रहरी भ्रष्टाचारी हुन्छन् भन्दा पनि ठूलो भुँडी पनि भ्रष्टाचार जस्तै शत्रु हो भन्ने हुन्थ्यो।’ चुस्त र दुरुस्त हुनुपर्ने प्रहरीको भुँडी ठूलो हुनु शत्रुसरह हो भन्नु ठिकै हो। सोही कुरालाई मनन गरियो आइजी कुवेरसिंह रानाको पालामा। प्रहरी चुस्त र दुरुस्त देखिनुपर्ने भए पनि अस्वभाविक मोटो भएको र नियमित पुलिसिङ र स्वयं प्रहरीकै स्वास्थ्यमा समेत यसले असर गर्ने भन्दै छानविन गर्न एउटा टोली गठन गरिएको थिो। त्यो टोलीको नाम दिइयो ‘दौडाहा’।

त्यसबेलाको टोलीका सदस्य थिए, एसएसपीहरू रमेश खरेल, सर्वेन्द्र खनाल र ज्ञानोदराज वैद्य। उनीहरुले देशभरका प्रहरी कार्यालयमा कार्यरत प्रहरीको निगरानी गरेर ५४ प्रहरीलाई कारबाही गर्नसमेत सिफिरिस गरेका थिए। जसमा १ जना सई, ८ जना असई, २३ हवल्दार र २२ जवान थिए।

Advertisement

यो दौडाहा टोलीले अनुगमन गरिसकेपछि कानुनी दायरामा ल्याउन भन्दै प्रहरी मुख्यालयले तत्कालीन एसएसपी सुरेश केसी, घनानन्द भट्ट र रमेश पाण्डे सहितको एउटा टोली नै बनाएको थियो। त्यसपछि २०७० वैशाखबाट औपचारिक रुपमा प्रहरीमा भुँडी घटाउने अभियान सुरु गरिएको थियो।

त्यो अभियान अहिले आएर रोकिएको छ। तर प्रहरीको भुँडी बढ्ने क्रम भने रोकिएको छैन। अझ भनौं प्रहरीका भुँडी घट्नुको साटो झन् बढ्दै गएका छन्। प्रहरी भन्ने बित्तिकै आम मानिसमा चुस्त, दुरुस्त, फुर्तिलो, छरितो, स्वस्थ र स्मार्ट मानिसको आकृति आँखामा आउँछ। तर, केही प्रहरीको शरीर हेर्ने हो भने प्रहरीलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ। प्रहरी मोटो, भद्दा, कुद्न नसक्ने, अल्छी र रोगी हुन्छन् जस्तो लाग्छ।

Advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘चुस्तदुरुस्त र फिजिकल फिटनेसका लागि प्रहरी कर्मचारीले भुँडी घटाउनुपर्छ। कामको स्पिड गतिको लागि शारीरिक हिसाबले उसको शरीरमा मोटोपन हुनुहुन्न। २४सैं घन्टा खट्नुपर्ने भएकाले उक्त अभियानले अहिले विश्राम लिएको हो। यसपछि केही कमी–कमजोरी देखिएका छन्। त्यसलाई नेपाल प्रहरीले मेन्टेन गर्छ।’

देशका विभिन्न भागमा साना–साना प्रहरी चौकीका रुपमा छरिएर रहेका कारण यस्तो समस्या आएको डिआइजी पोखरेल बताउँछन्। साना संख्यामा छरिएर रहेका सबै चौकीहरुमा नियमित तालिम सम्भव नहुनु, तालिम केन्द्र सबै स्थानमा नहुनुले पनि भुँडी घटाउने अभियानलाई बाधा गरेको प्रहरी अधिकारी बताउँछन्। नेपाल आर्मी र सशस्त्र प्रहरी बलको जस्तो एकै स्थानमा ‘क्लोज क्याम्प’ बनाएर बस्ने संगठन नेपाल प्रहरी नभएकाले पनि नियमित तालिममा यस्तो समस्या आउने गरेको छ। प्रहरीमा भर्ना छनोटका लागि आवश्यक मापदन्ड पूरा गरे पनि लिइने तालिमबाहेक अन्य तालिमहरु हरेक वर्ष नहुँदा पनि प्रहरीमा भुँडीको समस्या देखिएको पूर्व आइजी कुवेरसिंह राना बताउँछन्।

‘आर्मी र सशस्त्र प्रहरीमा हरेक वर्ष शारीरिक परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। तर नेपाल प्रहरीमा त्यो अभ्यास छैन,’ पूर्व आइजी राना भन्छन्, ‘एक वर्षमा कम्तीमा एउटा फिटनेस परीक्षा हुने हो भने यो समस्या हट्छ।’प्रहरीको भुँडी बढ्दै जाँदा अपराधी पक्राउ गर्नुपर्ने प्रहरी नै कुद्न नसक्ने, शरीर भद्दा भएकाले स्मार्टनेस नदेखिने, उद्दार तथा रेस्क्युका काम सहज गर्न नसक्ने र आफ्नै स्वास्थ्यमा समस्या देखिने गर्छ।विशेषगरी भुँडीको समस्यामा तल्लो दर्जाका प्रहरी कर्मचारी पर्दै आएका छन्। माथिल्लो दर्जाकाले अनुगमन गर्ने र उनीहरुले तल्लो दर्जाकालाई मात्रै कारबाही गर्ने भएकाले यो समस्या आएको गुनासो यसअघि नै आएको थियो।

नेपाल लाईभबाट

प्रतिक्रिया