कर जनप्रतिनिधिको मोजमस्तीको लागि होइन : पूर्वअर्थमन्त्री पाण्डे

विदुर खबर २०७६ असोज ३० गते १९:१६

नुवाकोट । पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले जनताले तिरेको कर जनप्रतिनिधिको मोजमस्तीको लागि नभएको बताएका छन् ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले दसैँतिहार तथा छठको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले बेलायती राजनीतिक इतिहासको उदाहरण दिँदै कर कसैलाई मोजमस्ती गर्नको लागि नभएको बताएका हुन् । उनले बेलायतमा लोकतान्त्रिक आन्दोलन चलिरहेको समयमा जनताले जिताएका प्रतिनिधिले शासनसत्ता नचलाएसम्म नागरिकले सरकारलाई कर तिर्देनौं नो ट्याक्सको आन्दोलन चलाएको सन्दर्भ प्रस्तुत गरे ।

उनले भने, ‘भाषणले मात्र देशमा समृद्धि आउँदैन, विकासका लागि पैसा चाहिन्छ । जसको कारणले राज्यले कर उठाउनु बाध्यता हो तर जनताले तिरेको कर मोजमस्तीमा खर्च गरिनु हुँदैन । ’ सरकारले कर तिम्रो लागि यसकारणले उठाइएको हो भन्ने स्पष्ट पार्नुपर्ने पूर्वअर्थमन्त्री पाण्डेले विचार राखे । सरकारले अहिले उठाइरहेको अनावश्यक करको औचित्य पुष्टि गर्न उनले सरकारलाई अनुरोध पनि गरे । हिजो क्रान्ति र आन्दोलनका च्याम्पियन बनेका नेताहरु अब देश निर्माणका च्याम्पियन बन्नुपर्ने उनको विचार थियो ।

Advertisement

प्रतिक्रिया