मेसिनरी र कामदार थप्दै रसुवागढी हाइड्रोपावर, नौं महिनामा सक्ने लक्ष्य

विदुर खबर २०७६ असोज २९ गते ८:०८

रसुवा । वर्षाका कारण केहि समय सुस्त भएको रसुवागढी जलविद्युत आयोजनाको काम ९ महिना भित्र सक्नेगरि मेसिनरी र कामदार थपिने भएको छ ।

Advertisement

चिलिमे जलविद्युत आयोजनाको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवाको टिमुरेमा १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ।भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण दुई वर्ष लम्बिएको आयोजनाको काम अहिले ७२ प्रतिशत सम्पन्न भएको रसुवागढी जलविद्युत आयोजनाका आयोजना प्रमुख छबि गैरेले बताए । आयोजनाको बाँध, विद्युत गृह, सुरुङमार्ग लगायतका सबै संरचनाको निर्माण ७० प्रतिशतकै हाराहारीमा सम्पन्न भइसकेको छ। वर्षायाममा आएको बाढीका कारण आयोजनाका सबै काम एकसाथ अघि बढाउन सकिएको थिएन। वर्षा रोकिएसँगै पहुँचमार्गको पहिरो हटाउने, बाँध स्थलमा अस्थायी संरचना निर्माण गर्ने लगायतका काम सुरु गरिएको उनले बताए।
गैरेका अनुसार नेपाली दशैं मनाउन गएपनि २ सय ५० बढी चिनियाँ कामदारले निरन्तर काम गरिरहेका थिए । ३ सय ५० हाराहारी नेपाली कामदार पनि काममा फर्किसकेका छन् । तिहारपछि ३र४ सय नेपाली कामदार थप गरेर कामदार थपेर तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्ने उनले दावी गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले आइतबार मात्रै आयोजनाको निरीक्षण गरेका छन । जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएको रसुवागढीको कामको प्रगती बुझ्न कोइराला रसुवागढीको आयोजना स्थल पुगेका हुन ।

आयोजनाको कुल ८ किलोमिटर सुरुङमार्गमा करिब ५० प्रतिशत स्टील लाइनिङको काम पनि सकिएको कोइरालाले बिजमाण्डूलाई बताए। टेलरेस सुरुङ खन्दै गर्दा तीब्र गतिमा खुम्चिन थालेपछि वर्षातको समयमा काम रोकिएको थियो। अहिले पुनः सबै क्षेत्रको काम सुरु भइसकेको छ । विद्युत गृहको सिभिल निर्माणको काम सम्पन्न भएर इलेक्ट्रो मेकानिकल काम सुरु गरिएको छ । विद्युत गृहलाई आवश्यक पर्ने ट्रान्सफर्मरहरु रसुवागढी ल्याईसकिएको छ। केहि ट्रान्सफर्मरहरु पहिरोले बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएको आयोजना प्रमुख गैरेले बताए। अन्य नाकाहरु बन्द भएको अवस्थामा अहिले नेपालमा चिनियाँ सामान आयात गर्ने प्रमुख नाका रसुवागढी बनेको छ । आयोजना स्थलमा कन्टेनरका कारण ट्राफिक जाम बढेपछि आयोजनाको काममा समेत प्रभाव पारेको गैरेको दावी छ ।

Advertisement

चिनियाँ ठेकेदार कम्पनीका सिडब्लुईका उच्च अधिकारी नेपाल आएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न मेसिनरी उपकरण र दक्ष कामदार थप्ने सहमति समेत गरिसकेको कोइरालाले बताए।बाँधस्थलमा बनाएका अस्थायी संरचनामात्रै बाढीले बगाएको थियो। आयोजनाको स्थायी संरचनामा भने कुनैपनि क्षति भएको थिएन । पहिरोका कारण पहुँचमार्ग अवरुद्ध भएको थियो। अहिले सबै पहुँचमार्ग खुलाउने काम भइरहेको छ । आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गरि आगामी असार भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ। करिब १४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ढिलाई हुँदापनि प्रति मेगावाट लागत १५ करोड रुपैयाँ भन्दा माथी नजाने आयोजनाको दावी छ ।

प्रतिक्रिया