बंगला एयर दुर्घटना : ५१ जनाको मृत्युको जिम्मेवार को ?

विदुर खबर २०७४ फागुन २९ गते १५:४६

काठमाडौं, २९ फागुन– सोमवार दिउँसोको १ बजेर ४८ मिनेट जति भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाईमार्ग जी ३३६ (बाराको सिमरा)बाट एक जहाज नेपाल प्रवेश गरेको संकेत एयर ट्राफिक कन्ट्रोल रुममा देखिन्छ । त्यो जहाज युनाइटेड बंगलादेश एयरलाइन्स डीएच ८ डी (फ्लाइट नम्बर बीएस २११) थियो ।

Advertisement

१ बजेर ५४ मिनेटजति हुँदा ट्राफिक कन्ट्रोल र विमानको ककफिटबीच सम्वाद शुरु हुन्छ । एयर ट्राफिकसँग सम्वाद शुरु हुँदा विमान सिमराको आकाशबाट अगाडि बढेर काठमाडौंको आकाशमा पुगिसकेको थियो । सम्वाद शुरु भएको करिब ३ मिनेटपछि विमानका चालक (आबिद हसन)ले ल्याण्डिङका लागि विमानस्थलको अवस्थाबारे जानकारी लिन्छन् ।

एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले रनवेमा ट्राफिक रहेको भन्दै केही समयका लागि तत्कालीन अवस्थामै होल्ड रहन सचेत गराउँछन् । चालकले होल्ड गर्न तयार रहेको बताउँछन् । जहाज दक्षिणकाली क्षेत्रतर्फ होल्ड हुन्छ ।

Advertisement

जहाज होल्ड गर्न भनिएको करिब २ मिनेटपछि विमानस्थलको धावनमार्ग खाली भएको जानकारी ट्राफिक कन्ट्रोलरले विमान चालकलाई गराउँछन् । एटीसीले धावनमार्गको ‘जिरो टू’ ०२ र ‘टू जीरो’ २० मध्ये कुन प्वाइन्टबाट ल्याण्डिङ गर्ने भनेर चाकललाई सोध्छन् । चालकले आफू २० बाट ल्याण्डिङ गर्न तयार रहेको जवाफ दिन्छन् ।

एटीसीले चालकलाई २७० डिग्रीको एङगलमा ल्याण्ड गर्न सकिने भन्दै धावनमार्ग खाली रहेको जानकारी गराउँछन् । दक्षिणकालीबाट जहाज विमानस्थलनजिक पुग्छ । जहाज विमानस्थल नजिक पुग्दा घरका छतमा ठोक्किएला जस्तै  गरी उडिरहेको देखेको प्रत्यक्षदर्शी बताउँछन् ।

Advertisement

विश्वको चर्चित फ्लाइट ट्र्याकर फ्लाइ रडार२४ ले सार्वजनिक गरेको ग्राफअनुसार उक्त विमान एकैपटक लगभग १२००० फिटको उचाइबाट ४४०० फिटमा झरेको देखिन्छ । फेरि जहाज पुन माथि ६६०० फिटमा पुग्छ ।

ल्याण्ड गर्न भनेको ११ मिनेटपछि कन्ट्रोलले जहाज दुर्घटना भएको थाहा पाउँछ ।

६७ यात्रु र चालकदलका ४ सदस्यसहित ७१ जना बोकेर ढाकाबाट काठमाडौं उडेको युएस बंगलाको जहाज दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको छ । गृह मन्त्रालयले मंगलावार दिउँसो सार्वजनिक गरेको विवरणमा जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या  ५१ पुगेको छ ।

नेपालको हवाइ इतिहासमा यो ८५ औं हवाइ दुर्घटना हो । र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको पहिलो ठूलो दुर्घटना हो । यसअघि विमानस्थलभित्र भएको दुर्घटनामा कुनै मानिवीय क्षति भएको रेकर्ड छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चालकले एटीसीको ‘निर्देशन नमान्दा’ र असाधारण ल्याण्डिङका कारण विमान दुर्घटना भएको हुनसक्ने बताएको छ ।

उता युनाइटेड बंगलादेश एयरलाइन्सका सीईओ आसिफ इमरानले पत्रकार सम्मेलन गरेर काठमाडौं एयरपोर्टका एयर ट्राफिक कन्ट्रोलरका कारण विमान दुर्घटना भएको आरोप लगाएका छन् ।

‘एयरपोर्ट ट्राफिक कन्ट्रोलको तर्फबाट पाइलटलाई गलत सूचना दिइएको छ । कन्ट्रोलको तर्फबाट गडबडी भएकोछ,’ इमरानले पत्रकार सम्मेलनमा भने, ‘तीन मिनेटभित्र पाइलटलाई कैयौं जानकारी र सूचना दिइयो, जसका कारण पाइलट उल्झनमा आएको देखिन्छ । पाइलटलाई गलत दिशाबाट रनवेमा प्रवेश गर्न भनियो ।’

नेपाली प्राविधिकको संकेत : चालकको गल्ती

दुर्घटनाबारे सबैका आ–आफ्नै खालका प्रतिक्रिया आइरहेका छन् । दुर्घटनाबारे नेपालका प्राविधिकहरुले ‘चालकको गल्ती’लाई मुख्य कारण भएको जस्ता प्रतिक्रिया दिएका छन् ।

दुर्घटनाबारे प्रतिक्रिया दिँदै नेपाल वायुसेवा निगमका पूर्व वरिष्ठ चालक वाईके भट्टराइले खराब मौसम र चालकको गल्तीका कारण दुर्घटना भएको हुनसक्ने बताए । बीबीसी नेपालीसँगको कुराकानीमा भट्टराइले विमान दुर्घटनामा एयर ट्राफिक कन्ट्रोलरको भूमिका नदेखिएको बताए ।

‘जहाजलाई कन्ट्रोल गर्ने जिम्मेवारी चालककै हुन्छ । कसरी ल्याण्ड गर्ने भन्ने अन्तिम निर्णय पनि चालकले नै लिने हो,’ भट्टराई भन्छन्, ‘यो दुर्घटनामा विमानस्थलको कमी–कमजोरी छैन ।’

जहाज दुर्घटना भएको दिन सोमवार साँझ पत्रकार सम्मेलनमा विमानस्थलका अधिकारीले चालकको गल्तीका कारण जहाज दुर्घटना भएको बताएका थिए । विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक राजकुमार क्षेत्रीले पाइलटले एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेको बताएका थिए ।

प्राविधिक भाषामा ९ नर्टिकल माइलबाट जहाज आइसकेपछि टावरले चालक दलका सदस्यलाई जिरो २ (कोटेश्वर तर्फ) बाट अवतरण गर्न निर्देशन दिएको थियो । तर पाइलटले ‘म २ जिरोबाट ल्याण्ड गर्छु’ भन्दै उत्तरतिर (वौद्धतर्फ) बाट ल्याण्ड गर्न खोज्दा विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको क्षेत्रीको भनाइ थियो ।

आरोप–प्रत्यारोपको खेती ? 

विमान दुर्घटनाबारे छानवीन गर्न नेपाल र बंगलादेशले छुट्टा–छुट्टै टोली गठन गरिसकेका छन् । बंगलादेश र नेपालको छानविन समितिले जहाजको ‘ब्ल्याक बक्स’को पनि अध्ययन गर्ने छ ।

छानविन सकिएपछि सत्यता बाहिर आउने नै छ । तर अहिलेको आरोप प्रत्यारोपले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवार तथा आफन्तलाई पीडा त पुर्याउँछ नै नेपाली आकाशबारे झन नराम्रो प्रचार हुने संभावना रहन्छ ।

प्रतिक्रिया