विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा

विदुर खबर २०८३ असोज ८ गते १९:१०

नुवाकोट । नेपाली कांग्रेस विदुर नगर कार्यसमितिका वर्तमान सचिव सुजन गजुरेलले आगामी कार्यकालका लागि नगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

Advertisement

१५औँ महाधिवेशन अन्तर्गतको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। १४औँ महाधिवेशनबाट भारी मतका साथ विदुर नगर सचिवमा निर्वाचित भएका गजुरेलले विगत पाँच वर्षको कार्यकालमा प्राप्त साङ्गठनिक अनुभव, कार्यसम्पादन र पार्टीप्रतिको समर्पणलाई नै आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

उम्मेदवारी सार्वजनिक गर्दै सचिव गजुरेलले आफ्नो निर्णय कुनै व्यक्तिगत महत्वाकांक्षा नभई पार्टीप्रतिको जिम्मेवारी, प्रतिबद्धता र कार्यकर्ताको विश्वासको निरन्तरता भएको स्पष्ट पारेका छन्। “नेपाली कांग्रेसलाई अझ सुदृढ, एकताबद्ध, गतिशील र जनमुखी संगठनका रूपमा अगाडि बढाउनु मेरो मुख्य ध्येय हो,” उनले भने, “यसका लागि पार्टीका अग्रज नेता, समर्पित कार्यकर्ता र शुभेच्छुकहरूसँग निरन्तर सहकार्य गर्दै अघि बढ्नेछु।”

Advertisement

संगठनलाई थप व्यवस्थित, प्रविधिमैत्री, प्रभावकारी र परिणाममुखी बनाउन आफ्नो अनुभव पूर्ण रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सम्पूर्ण नेता-कार्यकर्तासँग साथ, सहयोग, सुझाव र समर्थनको अपिल गरेका छन्।

विदुर नगर कांग्रेसको नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको समयमा वर्तमान सचिव गजुरेलको उम्मेदवारी घोषणाले स्थानीय राजनीतिक वृत्त र पार्टी पंक्तिमा नयाँ तरंग पैदा गरेको छ।

Advertisement

युवा तथा अनुभवी नेतृत्वका रूपमा छवि बनाएका गजुरेलको कदमलाई संगठनभित्र निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया