देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
नुवाकोट । सरकारी स्वास्थ्य संस्थामा कुकुर, स्यालजस्ता जनावरले टोकेपछि दिइने रेबिजविरुद्धको खोप (एआरभी) अभावले बिरामीले सास्ती खेपिरहेका छन् ।

सरकारी अस्पतालहरूमा नि:शुल्क वा न्यून शुल्कमा दिइँदै आएको यो खोपको अभावले बिरामीले ज्यानैसमेत गुमाउन थालेका छन् । सरकारले खोप आपूर्ति गर्न नसक्दा निजी औषधि पसलबाट किनेर लगाउन नसक्ने विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीले सास्ती खेपीरहेका छन् ।
देशभरका सरकारी अस्पतालमा रेबिजविरुद्धको खोपको चरम अभाव भए पनि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले यसबारे सूचना बाहिर ल्याउन कडा रोक लगाएको अधिकारीहरू बताउँछन् । केही दिनअघि सञ्चारमाध्यममा खोप अभावबारे बोलेका अधिकारीहरूलाई मन्त्रालयले सोधपुछ गरी सचेत गराएको अस्पतालको इमर्जेन्सी विभागका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘अवस्था एकदमै गम्भीर छ । हामीसँग कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज पनि छैन । तर यसबारे मिडियामा बोल्न हामीलाई प्रतिबन्ध लगाइएको छ ।’
बागमती प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरुमा पनि रेबिजविरुद्धको खोप अभाव भएपछि उपचार सेवा प्रभावित बनेको छ । हेटौंडा अस्पतालमा आफैले खरिद गरेको रेबिजविरुद्धको खोप पनि सकिने अवस्थामा पुगिसकेको छ ।
बागमती प्रदेश मातहतका अन्य स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोप अभाव छ । हेटौंडास्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोपको मौज्दात सकिएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालसहित प्रदेशका १३ जिल्लाका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुन सकेको छैन ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र खोप शाखाका ईश्वर महराका अनुसार पछिल्ला तीन महिनादेखि नै रेबिज खोपको अभाव देखिएको हो । ‘प्रदेशभरिका स्वास्थ्य संस्थाबाट निरन्तर माग आइरहेको छ, तर केन्द्रमा स्टक नभएकाले वितरण गर्न सकिएको छैन,’ उनले भने ।
चालु आर्थिक वर्षमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बागमती प्रदेशका लागि १५ हजार भाइल एन्टी–रेबिज भ्याक्सिन प्राप्त भएको थियो । गत वर्ष मौज्दात रहेको करिब पाँच सय भाइल खोपसमेत थपेर माघ महिनासम्म वितरण गरिए पनि त्यसयता नयाँ आपूर्ति हुन सकेको छैन । प्रदेशभर मासिक करिब १० हजार भाइल खोप आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति हुन नसक्दा विरामीहरु खोपबाट बन्चित भएका छन् ।

खोप खरिद गर्ने अधिकार संघीय सरकारसँग मात्र भएकाले प्रदेश सरकारले माग गरे पनि समयमै आपूर्ति हुन नसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भनाइ छ । संघीय सरकारबाट खोप उपलब्ध नभएपछि प्रदेशका स्वास्थ्य संस्थाहरु वैकल्पिक उपाय खोज्न बाध्य भएका छन् ।
सरकारी स्वास्थ्य संस्थामा खोप नपाएपछि बिरामीहरू निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य भएका छन् । निजी स्वास्थ्य संस्थामा एक पटक खोप लगाउँदा करिब ६ सय ७५ रुपैयाँसम्म खर्च लाग्ने गरेको छ भने पूर्ण उपचारका लागि तीनदेखि पाँच डोजसम्म खोप लगाउनुपर्ने हुन्छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रेबिजबिरुद्धको खोपको अभाव तत्काल अन्त्य गर्न प्रदेश सरकारले टेन्डर आव्हान गर्ने तयारी गरिरहेको बताए । उनले संघीय सरकारको आपूर्तिमा निर्भर रहँदा खोप अभावको अवस्था सिर्जना भएको बताए ।
चिकित्सकहरुका अनुसार रेबिज विश्वकै सबैभन्दा घातक संक्रामक रोगमध्ये एक हो । संक्रमित जनावरले टोकेपछि समयमै खोप नलगाइए रोग लागेपछि ज्यान बचाउने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसैले खोपको नियमित र पर्याप्त आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
रेबिज कस्तो रोग त हो ?
कुकुर र स्यालजस्ता जनावरको र्यालबाट सर्ने रेबिज एक घातक भाइरल रोग हो । रेबिज प्रतिरोधका लागि यो खोपको नियमित चार डोजको कोर्स पूरा गर्नुपर्छ । हरेक डोज तोकेको समयमै लगाउनुपर्ने हुन्छ । कामका क्रममा हिँडडुल गर्नुपर्ने भएकाले विशेष गरी सडकका कुकुरहरूले टोक्ने जोखिममा श्रमजीवी वर्ग पर्ने गरेका छन् । निजीमा उपचार महँगो हुने हुँदा सरकारी अस्पतालमा सेवा प्रभावित हुँदाको सबैभन्दा ठूलो मार उनीहरूलाई नै पर्छ । नेपालमा सरकारी स्वास्थ्य संस्थाहरूबाट मात्रै वार्षिक ६० हजारभन्दा बढीले रेबिजविरुद्धको खोप लगाउने गरेका छन् भने हजारौंले निजीमा उपचार गराउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । तर स्वास्थ्य मन्त्रालयकै तथ्यांकले भने कुकुरले टोक्ने घटना बर्सेनि बढिरहेको देखाउँछ । डब्लूएचओका अनुसार विश्वभर प्रति ९ मिनेटमा एक जनाको रेबिजका कारण मृत्यु हुन्छ, जसमा अधिकांश बालबालिका र विपन्न वर्ग पर्छन् । नेपालमा बर्सेनि सयभन्दा बढी व्यक्तिको रेबिजका कारण मृत्यु हुने गरेको अनुमान छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवालाई स्वागत गर्न सभापति गगन जाँदा आकाश खस्दैन : केसी
देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ





प्रतिक्रिया