बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी

विदुर खबर २०८३ असार २६ गते ८:३३

नुवाकोट । सरकारले बिहीबार एकै दिन ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ सरकारी खर्चको भुक्तानी गरेको छ।

Advertisement

कानुन अनुसार चालु आर्थिक वर्षका लागि नियमित भुक्तानी निकासा गर्न पाउने अन्तिम दिन यति ठूलो रकम निकासा भएको हो।

यससँगै चालु आर्थिक वर्षका लागि नियमित भुक्तानी प्रणाली बन्द हुनेछ।

Advertisement

महालेखा नियन्त्रक कार्यालयका अनुसार थाती रहेका विभिन्न भुक्तानी फरफारक गरिएकाले अन्तिम दिन ठूलो रकम निकासा भएको हो।

कार्यालयको तथ्यांकअनुसार बिहीबार १२ अर्ब ४२ करोड रुपैयाँ चालु खर्चको भुक्तानी भएको छ। त्यस्तै १८ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत खर्चको भुक्तानी गरिएको छ।

Advertisement

सार्वजनिक ऋणको सावाँ भुक्तानी तथा वित्तीय व्यवस्थापनतर्फ बिहीबार दुई अर्ब ३५ करोड रुपैयाँ खर्च भएको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। बिहीबारसम्म १५ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ७९.६९ प्रतिशत हो।

पुँजीगततर्फ सरकारले चार खर्ब सात अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।

बिहीबारसम्म एक खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ, अर्थात् ४४.५१ प्रतिशत मात्रै।

यसमध्ये बिहीबार एकै दिन १८ अर्ब ३९ करोड रुपैयाँ पुँजीगत खर्चको भुक्तानी भएको हो। यो हालसम्म भुक्तानी भएको रकमको आधारमा करिब १० प्रतिशत रकम हो।

चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकामा १० खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ, जुन ८८.३ प्रतिशत हो।

वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएकामा तीन खर्ब ४० अर्ब ७२ करोड रुपैयाँ खर्च भएको छ। यो ९०.८ प्रतिशत हो।

प्रतिक्रिया