तारुकाले सुरु गरेको सांस्कृतिक स्वच्छताको अभ्यास
नुवाकोट । १ माघ, २०८२ । दिउँसोको १ बजे । तारुकाको चन्दनी कटरबोटमा पुग्दा माघे संक्रन्ति मेलाको उत्सव चलिरहेको थियो । हजारौँ मानिसको भिडमा फुर्तिला एक हल गोरु एकअर्कालाई झम्टिँदै सिंङ जुधाइरहेका थिए ।

मञ्चमा एक जोडी कलाकारको उस्तै फुर्ती देखिन्थ्यो । मैदानका प्रतिस्पर्धीका सिंङजस्तै तिखा दोहोरीका टुक्काहरुले मञ्चका प्रतिस्पर्धी एकअर्कालाई झम्टिँदै थिए ।
चौरका वरिपरि, पाटा, सुर्का र कान्लाहरुमा घेरा लागेका दर्शकहरु उस्तै फुर्तीसाथ दुई प्रतिस्पर्धाको साक्षी बनिरहेका थिए । दुवै प्रतिस्पर्धामा रोषभन्दा बढी जोस देखिन्थ्यो ।
मञ्चमा न कसैको आसन थियो, न कसैको भाषण । आसन र भाषणको प्रतिस्पर्धाबाट विमुख भएर माघेसंक्रान्ति मेलाले इतिहास र संस्कृतिको प्रतिस्पर्धालाई अंगालेको प्रस्टै आभाष हुन्थ्यो ।
बझांगी राजा जयपृथ्वीबहादुर सिंहसँग समेत जोडिने सदिऔँ पुरानो ऐतिहासिक पृष्ठमूमि भएको तारुकाको माघेसंक्रन्ति गोरु जुधाइ मेला पछिल्ला केही दशक गोरुको भन्दा ज्यादा राजनीतिक गुटउपगुटका टाउकेहरुको क्रिडास्थल बनिरहेको थियो ।
गोरुको जुधाइभन्दा पहिले कुन पार्टीको कुन गुटको नेतालाई प्रमुख अतिथि बनाउने भन्ने जुधाइले जगहँसाइ गथ्र्यो । मञ्चमा हुने आशन ग्रहणमा कुन गुटका अतिथिहरुको वर्चस्व देखिन्छ, जित त्यसैको ठहरिथ्यो । यथोचित आशन नपाउने गुटले हारको कुन्ठामा गुम्सिँदै प्रतिशोधका लागि अर्को माघेसंक्रान्तिको दिन गन्दै बस्ने अवस्था थियो ।
कुनै साल त गुटबन्दीकै कारण मेला विभाजन भएको दृश्यसमेत तारुकावासीले देख्नुपरेको थियो । दुई पाटामा दुई गुटका गोरु जुध्दा मेला मात्रै चिरा परेको थिएन, तारुकावासीको मन पनि नमिठोसँग चिरिएको थियो ।
त्यो भूकम्पपछिको समय थियो । देश संविधान निर्माणको जटिलतामा जकडिएको थियो । स्थानीय सरकार थिएन । केन्द्रमा सर्वदलीय सरकार त गाउँमा सर्वदलीय संयन्त्रले शासन चलाइरहेको थियो । दलीय संयन्त्रमा भागबन्डा मिले एकमत, नमिले विभाजन । त्यही अभ्यासको परिणति थियो, माघेसंक्रान्ति मेलाको विभाजन ।
त्यतिबेले, भूकम्पपछिको पुनर्निमाणमा अग्रसर हुँदै गाउँको उम्दा समाजसेवीका रुपमा उदाएका थिए, आजका गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल । गाउँको मेलाको विभाजन देखेर मन दुखाउने हजारौँमध्येमा उनी पनि एक थिए ।
अनि, उनले सुरु गरे किसानहरुसँगको संवाद । गोरुपालक किसानहरुका मनमा ‘हाम्रो मेला हामी आफैँले चलाउन सक्छौँ’ भन्ने विश्वास भरिदिएर उनले किसानकै समिति बनाउन सघाए । किसानले बनाएको समितिले नै मेलाको आयोजना र व्यवस्थापन गर्ने भयो ।
स्थानीय सरकार आएसँगै मेलाको व्यवस्थापनमा किसानसँगै सरकार पनि सहभागी हुने भयो । तर, समस्या यत्तिले मात्रै समाधान हुने थिएन । सबै दलका सबै गुटका प्रतिनिधिदेखि केन्द्र, प्रदेश र जिल्लाबाट जाने हाई प्रोफाइलहरुको लर्कोले मञ्च भरिने, अनि सबैका भाषण सुन्दासुन्दै दिन सकिने ।
ठाउँ र परिस्थिति हेरी सन्दर्भअनुरुपको भाषण गर्ने संस्कारको जन्म नै नभएको हाम्रो समाजमा भिन्न भिन्न दलका दर्जनौँ राजनीतिज्ञको उपस्थिति एउटै मञ्चमा हुनु नै एउटा जुधाइको महोत्सव हो । अनि त, मञ्चको जुधाइले मैदानको गोरु जुधाइलाई कप्लक्कै निल्ने नै भयो ।
देशभरबाट सांस्कृतिक मेला हेर्न पुग्ने दर्शकका लागि यो मेलाभन्दा बढी चुनावी सभाजस्तो लाग्न थालेको दशकौँ भइसकेको थियो । कृषकहरुको पौरख र गाउँलेहरुको मनोरञ्जनको उत्सवको रुपमा सुरु भएको यो मेलाले आफ्नो सांस्कृतिक, ऐतिहासिक सर्वोच्चता गुमाउँदै गएको प्रस्टै देखिन्थ्यो ।
गाउँपालिका अध्यक्ष भएपछि उनै शिव अधिकारी अविरलले माघेसंक्रान्ति मेलालाई ऐतिहासिक स्वरुपमा फर्काउने उपायको खोजी गर्न थाले । फलस्वरुप, तेस्रो वर्षमा आएर उनी मेलाको सांस्कृतिक, ऐतिहासिक र मनोरञ्जनात्मक पक्षमाथि हाबी भएको धुमिल राजनीतिलाई जरैदेखि उखेल्न सफल भएका छन् ।
यसपटकको मेलामा उनले सबै राजनीतिक शक्तिसँगै आफू स्वयंलाई समेत मञ्चबाट उतारिदिए । मेलामा आउने हरेक आगन्तुकको हैसियत समान बनाइदिए । न अतिथिको वर्गीकरण भयो, न कसैको आशन ग्रहण, न त कुनै भाषण । मैदानमा गोरु र मञ्चमा कलाकारको वर्चश्व कायम गरिदिए । इतिहास, संस्कृति र मनोरञ्जनबाहेक मेलामा अरु कसैको प्रवेश बर्जित गरियो ।
सदिऔँ लामो इतिहास भएको, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै ख्याती पाएको, देशभर फैलिँदै गएको र स्पेनको बुल फाइटसँग तुलना हुन थालेको मोघेसंक्रान्ति गोरुजुधाइ मेलाको उद्गमस्थल नुवाकोटको तारुका नै हो । मूल संग्लिए खोला संग्लिन्छ भनेझैँ तारुकामा भएको यो सांस्कृतिक सर्वोच्चताको प्रयासले अन्य स्थानहरुमा हुने गोरु जुधाइ मेलालाई समेत ऐतिहासिक स्वरुपमा फर्किन पक्कै प्रेरित गर्ने छ ।
इतिहास, कला, साहित्य र संस्कृतिभित्र घुसेको राजनीतिको शूललाई निकालेर फाल्न र यस्ता सांस्कृतिक उत्सवलाई स्वच्छ, सौहार्द र एकात्मक बनाइराख्न तारुकाबाट सुरु भएको यो प्रयास साँच्चै स्वागतयोग्य छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













तारुकाले सुरु गरेको सांस्कृतिक स्वच्छताको अभ्यास
सुमन पाण्डे रास्वपामै बस्ने
प्रत्यक्ष निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता
रास्वपाले रसुवामा भट्टलाई उम्मेद्धवार बनायो
बागमती प्रदेशस्तरीय भलिबल हुने





प्रतिक्रिया