नेपाली कांग्रेसको १५ औं महाधिवेशन र वर्तमान राजनीतिको यथार्थ

विदुर खबर २०८२ कार्तिक ३० गते २०:०९
लेखक : श्रीराम श्रेष्ठ ।

नुवाकोट । नेपाली कांग्रेस यतिबेला आफ्नो आन्तरिक लोकतन्त्र र विधानको कसीमा उभिएको छ ।

Advertisement

१५औँ महाधिवेशनको सँघारमा पार्टीभित्र देखिएको गम्भीर मतभेदले पार्टीको भविष्य, जनविश्वास र आगामी निर्वाचनमा पर्न सक्ने प्रभावबारे चौतर्फी बहस सिर्जना हुन पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका युवा नेताहरूले निर्वाचनअघि नै पार्टीको आन्तरिक अधिवेशन गर्नुपर्ने अडान राख्दा संस्थापन पक्ष भने विधानले दिएको सुविधा प्रयोग गरी कार्यकाल थप गरेर निर्वाचनपछि मात्र महाधिवेशन गर्ने पक्षमा उभिएको छ ।

महामन्त्री गगन थापाले पार्टीको विधान र लोकतान्त्रिक मूल्यको कदर गर्दै निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । उनको तर्क छ कि हरेक चार वर्षमा महाधिवेशन गर्नु पार्टीको जीवन्तता, नयाँ नेतृत्वको विकास र कार्यकर्तामा ऊर्जा भर्ने माध्यम हो । लोकतान्त्रिक पार्टीका लागि नियमित अधिवेशनले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँछ, नयाँ विचार र कार्यक्रमहरूलाई आत्मसात गर्दछ र जनअपेक्षा अनुसार पार्टीलाई गतिशील बनाउँछ । उनले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्दा नयाँ जनादेश प्राप्त नेतृत्वले निर्वाचनको तयारी गर्दा पार्टीमा एकता र उत्साह थपिने तर्क गरेका छन् । तर वर्तमान राजनीतिक परिस्थितिमा महामन्त्री थापाले उठाउनुभएका एजेण्डाहरू सैद्धान्तिक रूपमा जतिसुकै सही भए पनि, वर्तमान राजनीतिको जटिलतालाई केलाउँदा निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नु अव्यवहारिक र असम्भवप्रायः देखिएको छ ।

Advertisement

सरकारले आगामि फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेर कार्यतालिका समेत सार्वजनिक गरिसकेको अवस्था छ । वर्तमान सरकारको म्याण्डेट पनि निर्वाचन समयमै गर्ने नै हो । किनभने यो विषम परिस्थितिमा निर्माण भएको सरकार हो । अहिले देशनै संक्रमणकालीन अवस्थामा रहेकाले यसको निकास भनेकै शान्तिपूर्ण र भयरहित निर्वाचन हो । निर्वाचन नै लोकतन्त्रको बलियो आधार भएकाले नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टी निर्वाचनको मुख्य उद्देश्यबाट पछि हट्न सक्दैन । नेपाली कांग्रेस जस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले निर्वाचनमा हार व्यहोरे वा निर्वाचनबाट विमुख हुने अवस्था आयो भने त्यसले देश र पार्टी दुवैमा गम्भीर र दूरगामी असर पार्न सक्छ । नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय हो । यस पार्टीको उपस्थिति र सक्रियताले नेपालको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै आएको छ ।

यदि कांग्रेस निर्वाचनमा कमजोर भयो वा विमुख भयो भने लोकतान्त्रिक प्रक्रियामा नै प्रश्नचिह्न खडा हुन सक्छ । यसले गर्दा जनताको लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास घट्न सक्छ । कांग्रेस जस्तो मध्यमार्गी र समावेशी पार्टी कमजोर हुँदा राजनीतिक ध्रुवीकरण बढ्छ । जसले गर्दा अतिवादी शक्तिहरूलाई स्थान मिल्न सक्छ र देशमा राजनीतिक अस्थिरता झन बढ्दै जान्छ । गठबन्धनको सरकार बने पनि वा एकल पार्टीको सरकार बने पनि कांग्रेसको भूमिका बिना स्थायीत्व र समावेशी शासन कायम गर्न कठिन नै हुन्छ ।

Advertisement

कांग्रेसले विगतमा सुशासन, आर्थिक विकास र जनजीविकाका सवालमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यदि यो पार्टी कमजोर भयो भने देशको विकासको गतिमा अवरोध आउन सक्छ । बलियो प्रतिपक्षको अभावमा सरकारलाई उत्तरदायी बनाउन र गलत निर्णयहरूलाई रोक्न कठिन हुन्छ । जसले सुशासनमा नकारात्मक असर पार्दछ । नेपाली कांग्रेसको अन्तर्रष्ट्रिय स्तरमा पनि छुट्टै पहिचान भएकाले लोकतान्त्रिक मूल्यमान्यतामा आधारित कांग्रेसको कमजोर उपस्थिति वा बहिर्गमनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असर पार्न सक्छ । नेपालको छवि एक स्थिर लोकतान्त्रिक राष्ट्रको रूपमा स्थापित गर्न कांग्रेसको भूमिका महत्वपूर्ण छ । जेनजी आन्दोलनले परम्परागत राजनीतिक दलहरूप्रति युवाहरूको असन्तुष्टि झल्काएको छ ।

यदि कांग्रेसले यसलाई सम्बोधन गर्न सकेन र निर्वाचनमा असफल भयो भने नयाँ राजनीतिक शक्तिहरूको उदय हुन सक्छ । यो सकारात्मक भए पनि, नयाँ शक्तिहरूले तत्काल स्थायित्व दिन नसक्ने र राजनीतिक संक्रमणकाल झनै लम्बिन सक्ने जोखिम यतिबेला देखिएको छ । लगातारको हार वा निर्वाचनबाट विमुख हुने अवस्थाले पार्टीको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गर्न सक्छ । यसले कार्यकर्ताको मनोबल घटाउँछ, पार्टी छाड्ने क्रम बढ्छ र पार्टीको सांगठनिक संरचना कमजोर हुन्छ । निर्वाचनको हारले पार्टीभित्र आन्तरिक कलह र गुटबन्दीलाई अझ बढावा दिन्छ । नेतृत्वमाथि प्रश्न उठ्छ र शक्ति संघर्ष तीव्र हुन्छ । यसले गर्दा कांग्रेस पार्टी झन् कमजोर र विभाजित बन्न सक्ने खतरा छ ।

यस्तो विषम परिस्थितिमा यतिबेला कांग्रेस महाधिवेशन लक्षित छलफलमा अल्झिन पुगेको छ । यो आगामी निर्वाचनको तयारीका लागि पार्टीसँग पर्याप्त समय छैन । निर्वाचन आयोगले तोकेको मिति र त्यसको तयारीका लागि आवश्यक प्रक्रियाहरू तीव्र गतिमा अघि बढेका छन् । यस्तो बेला पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनु पर्ने हुन्छ । यदि अहिले महाधिवेशनको प्रक्रिया सुरु गरियो भने यसले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनबाट विकेन्द्रित गर्नेछ । महाधिवेशनको प्रक्रियामा वडादेखि केन्द्रसम्मका अधिवेशनहरू, प्रतिनिधि चयन, विभिन्न पदका उम्मेदवारी र प्रचार–प्रसार, निर्वाचन समितिको गठन लगायतका जटिल र समय लाग्ने प्रक्रियाहरू हुन्छन् । यी सबै काम निर्वाचनअघि सम्पन्न गर्न असम्भवप्रायः देखिन्छ ।

महाधिवेशन भनेको केवल नेतृत्व चयन मात्र होइन, यो आन्तरिक रूपमा शक्ति संघर्षको मैदान पनि हो । महाधिवेशनको प्रक्रिया सुरु हुनासाथ पार्टीभित्र विभिन्न गुट र उपगुटहरू सक्रिय हुन्छन् । उम्मेदवारहरूबिचको प्रतिस्पर्धाले आन्तरिक एकतामाथि गम्भीर चुनौती खडा गर्न सक्छ । निर्वाचनको मुखैमा पार्टीभित्र यस्तो कलहले कार्यकर्ताको मनोबल घटाउने मात्र होइन, यसको प्रत्यक्ष नकारात्मक असर निर्वाचनको परिणाममा पर्न सक्छ । आजको दिनमा कांग्रेसलाई आन्तरिक कलह होइन, बलियो एकता र साझा लक्ष्यका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । महाधिवेशनको रणभूमिमा होमिएर शक्ति क्षय गर्नुभन्दा आगामी निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यमा एकताबद्ध भएर लाग्नु पार्टी र राष्ट्र दुबैको हितमा हुन्छ । महाधिवेशन एक विशाल र खर्चिलो प्रक्रिया हो । यसका लागि ठूलो मात्रामा आर्थिक स्रोत, जनशक्ति र समयको आवश्यकता पर्छ ।

निर्वाचनको तयारीका लागि पनि पार्टीलाई यिनै स्रोत र साधनको आवश्यकता पर्दछ । यदि दुबै प्रक्रिया एकैसाथ अगाडि बढाइयो भने साधन र स्रोतको व्यवस्थापनमा गम्भीर चुनौती आउन सक्छ । यसले गर्दा दुबै प्रक्रिया अधुरो वा कमजोर हुन सक्छ, जसको नकारात्मक परिणाम पार्टीले भोग्नुपर्ने हुन्छ ।

निर्वाचनको मुखमा महाधिवेशन गर्दा नयाँ नेतृत्वले नयाँ नीति तथा कार्यक्रमहरू ल्याउन सक्ने सम्भावना रहन्छ । यसले गर्दा मतदाताहरूमा पार्टीको नीतिगत अडानबारे भ्रम सिर्जना हुन सक्छ । अहिले पार्टीले आफ्ना नीति र कार्यक्रमहरूलाई स्पष्ट रूपमा जनतामाझ राखेर जनादेश माग्नुपर्ने बेला हो । नयाँ नेतृत्व आउँदा नीतिगत परिवर्तनको सम्भावनाले मतदाताहरूमा अस्थिरताको सन्देश जान पनि सक्छ । नेपाली कांग्रेसको विधानले विशेष परिस्थितिमा कार्यकाल थप गर्न सक्ने सुविधा दिएको छ । यो प्रावधान केवल देखावटी रूपमा राखिएको होइन, बरु विषम परिस्थितिमा पार्टीलाई अगाडि बढाउनका लागि हो । विगतमा पनि यस्तो सुविधा प्रयोग भएको अनुभव छ । वर्तमान अवस्थामा निर्वाचनको सँघारमा महाधिवेशन गर्दा सिर्जना हुने जटिलताहरूलाई मध्यनजर गर्दै यो संवैधानिक सुविधा प्रयोग गर्नु नै बुद्धिमानी देखिन्छ । किन भने पछिल्लो जेनजी युवा विद्रोहपछिको देशको र देशको आन्तरिक राजनीतिक अवस्था अत्यन्त संवेदनशील र जटिल हुन पुगेको छ ।

जसका कारण वर्तमान राजनीतिक समीकरण निकै तरल र गतिशील बनेको अवस्था छ । गठबन्धनको राजनीति र क्षेत्रीय तथा राष्ट्रिय स्तरका मुद्दाहरूले गर्दा पार्टीको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बाध्यता यतिबेला छ । यस्तो बेलामा आन्तरिक मामिलामा अल्झिँदा पार्टीले आफ्नो राजनीतिक प्रभावकारिता गुमाउन सक्छ । बाह्य चुनौतीहरूको सामना गर्न आन्तरिक रूपमा सुदृढ र एकताबद्ध पार्टीको आवश्यकता पर्दछ । यस्तो अवस्थमा पार्टीभित्र महाधिवेशन कि निर्वाचन भन्ने मतभेदले पार्टीको अन्तरकलह बढ्ढै जाने भएकाले अहिलेलाई यी समग्र विषय थाति राख्दै पार्टी निर्वाचनतर्फ केन्द्रीत भएर आन्तरिक एकता र मजबुद संगठन बनाएर एकताको सन्देश प्रवाह गर्नुपर्ने आवश्यक देखिन्छ ।

महामन्त्री गगन थापाले उठाउनुभएका एजेण्डाहरू सैद्धान्तिक रूपमा प्रशंसनीय भए पनि वर्तमान राजनीतिको कठोर यथार्थ, समयको चाप, आन्तरिक एकताको आवश्यकता र निर्वाचनको अपरिहार्यतालाई केलाउँदा निर्वाचनपछि मात्र महाधिवेशनमा जानु नै नेपाली कांग्रेसका लागि व्यवहारिक, रणनीतिक र बुद्धिमानी निर्णय हुने देखिन्छ । पार्टीले अहिले आफ्नो सम्पूर्ण शक्ति आगामी निर्वाचनमा विजय हासिल गर्नका लागि केन्द्रित गर्नुपर्छ ।

निर्वाचनपछि प्राप्त जनादेश र नयाँ राजनीतिक परिवेशमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नु नै पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै जनविश्वासलाई अझ बलियो बनाउने सही बाटो हुनेछ । अहिलेको प्राथमिकता निर्वाचन हो, र निर्वाचनमा होमिनु नै नेपाली कांग्रेसको भविष्यका लागि सर्वोत्तम विकल्प हो ।

महाधिवेशनको रडाकोमा अल्झिएर पार्टीको ऊर्जा क्षय गर्नुभन्दा, एकताबद्ध भएर निर्वाचन जित्ने लक्ष्यमा केन्द्रित हुनुपर्छ । निर्वाचन जितेर मात्रै कांग्रेसले आफ्नो एजेण्डा कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो बनाउन सक्छ । त्यसैले, अहिलेको सन्दर्भमा नेपाली कांग्रेसमा पहिले निर्वाचन, अनि मात्र महाधिवेशन गर्नु नै सही र व्यवहारिक देखिन्छ ।

लेखक श्रेष्ठ समयसामयिक विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया