युवा चेतना, अस्थिरता र भविष्यको बाटो

नेपालको वर्तमान राजनीतिक अवस्था फेरि एक निर्णायक मोडमा पुगेको छ। दशकौँ लामो राजनीतिक परिवर्तनपछि पनि देश स्थिर हुन नसक्दा जनतामा निराशा गहिरिँदै गएको छ।

नेतृत्वप्रति असन्तुष्टि, नीति–निर्णयमा अनिश्चितता र सरकार परिवर्तनको चक्रले लोकतान्त्रिक व्यवस्थाको मर्ममै प्रश्न उठाएको छ। सत्तारूढ र प्रतिपक्षबीचको अविश्वासले राज्य संयन्त्र कमजोर बन्ने र जसको प्रत्यक्ष असर प्रशासन, अर्थतन्त्र र सामाजिक स्थायित्वमा पर्दै आएको छ। राजनीतिक दलहरू जनताका आवश्यकताभन्दा सत्ताको समीकरणमा बढी केन्द्रित देखिनु नै आजको संकटको मूल कारण हो।

२०२५ को मध्यतिर देखिएको Gen Z आन्दोलनले नेपालको राजनीतिमा नयाँ चेतना ल्याएको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा सुरु भएको आन्दोलन केही दिनमै लोकतान्त्रिक स्वतन्त्रता, पारदर्शिता र उत्तरदायित्वको पक्षमा राष्ट्रिय स्वरूपको अभियानमा परिणत भयो। पहिलोपटक, राजनीतिक दलहरूबाट बाहिर जन्मिएको, स्वतन्त्र युवापुस्ताको आन्दोलनले राज्य सत्तालाई चुनौती दियो। यो आन्दोलन केवल सरकारको नीति विरुद्धको प्रतिवाद होइन, दशकौँदेखि जरो गाडेको राजनीतिक संस्कृतिप्रतिको असहमति थियो।
Gen Z आन्दोलनले स्पष्ट सन्देश दिएको छ— नयाँ पुस्ता अब मौन बस्न तयार छैन। उनीहरू राजनीतिमा केवल दर्शक होइन, निर्णायक भूमिका खेल्न चाहन्छन्। डिजिटल युगमा हुर्किएको यो पुस्ता पारदर्शिता, दक्षता र नतिजा चाहन्छ। उनीहरू पुरानो भाषणप्रधान र अवसरवादी राजनीतिबाट थकित छन्।
यही कारणले उनीहरूले आन्दोलनमार्फत जनताको असन्तोषलाई प्रत्यक्ष राजनीतिक शक्ति बनाउने प्रयास गरे। यसले पुरानो नेतृत्वलाई पुनर्विचार गर्न बाध्य बनाएको छ। तर यो चेतनाको उदयसँगै चुनौतीहरू पनि गम्भीर छन्। नयाँ पुस्ताले परिवर्तनको माग त गरेको छ, तर संस्थागत राजनीतिक संरचना भित्र प्रवेश गरेर त्यसलाई कार्यान्वयनमा रूपान्तरण गर्न अझै कठिन छ। दलहरूमा आन्तरिक लोकतन्त्रको कमीले नयाँ पुस्तालाई सहभागिताबाट टाढा राखेको छ। धेरै युवा निराश भएर वैकल्पिक आन्दोलनतर्फ लागेका छन्, तर ती आन्दोलनहरू अझै स्थायी संगठनात्मक रूप लिन सकेका छैनन्। युवा ऊर्जालाई दीर्घकालीन राजनीतिक स्थायित्वमा रूपान्तरण गर्ने मार्ग अझै अस्पष्ट छ।
राजनीतिक दलहरूका लागि यो समय अवसर र चेतावनी दुवै हो। यदि उनीहरूले युवाको माग बुझेर आफ्नो कार्यशैली, नीति र नेतृत्व प्रणालीमा सुधार गरे भने नयाँ पुस्तासँगको दूरी घट्न सक्छ। तर यदि पुरानै ढाँचामा शासन गर्न खोजे भने आगामी निर्वाचनमा ठूलो जनमत परिवर्तन सम्भावना नकार्न सकिँदैन। आजका युवाहरू सडकमात्र होइन, मतपेटीकामा पनि आफ्नो असन्तोष व्यक्त गर्न सक्षम छन्।
आगामी निर्वाचन नेपालको राजनीतिक दिशानिर्देशन गर्ने ऐतिहासिक क्षण बन्न सक्छ। अन्तरिम सरकारपछि स्थायी सरकार निर्माणका लागि हुने यो निर्वाचन केवल सत्ता परिवर्तनको प्रक्रिया होइन— राजनीतिक संस्कृतिको पुनर्जन्मको अवसर हो। यस निर्वाचनमा जनताले पुरानो र नयाँ सोचबीच छनोट गर्नुपर्नेछ। पुराना दलहरूका
लागि यो परीक्षा हो— जनतामा आफ्नो विश्वास पुनःस्थापित गर्न सक्छन् कि सक्दैनन्। नयाँ राजनीतिक शक्ति र स्वतन्त्र समूहहरूका लागि यो अवसर हो— आन्दोलनको ऊर्जा संस्थागत राजनीतिमा रूपान्तरण गर्न सक्ने कि नसक्ने!
राजनीतिक दृष्टिले अहिलेको अवस्था संवेदनशील छ। देशमा संविधानको संरचना जोगाउने, संघीयता सुदृढ गर्ने र लोकतान्त्रिक मूल्य पुनर्स्थापित गर्ने जिम्मेवारी सबै दलमाथि समान रूपमा छ। तर यो जिम्मेवारी पूरा गर्न केवल घोषणाले पुग्दैन, व्यवहारले देखाउनुपर्ने हुन्छ। जनताले अब भाषण होइन, परिणाम माग्न थालेका छन्। युवापुस्ताले अब आशा होइन, उत्तर चाहन्छ।
Gen Z आन्दोलनले नेपाललाई एउटा चेतावनी दिएको छ, लोकतन्त्र केवल चुनाव होइन, जवाफदेही प्रणाली पनि हो। यदि राजनीतिक नेतृत्वले यो सन्देश बुझ्न सकेन भने, भविष्यका आन्दोलनहरू अझ गहिरा, व्यापक र निर्णायक हुनसक्छन्। त्यसैले आगामी निर्वाचन केवल सरकारको चयन होइन, नयाँ राजनीतिक संस्कृति निर्माणको सुरुवात हुन सक्छ।
नेपाल अहिले परिवर्तनको चोकमा उभिएको छ। एकातिर पुरानो राजनीतिक ढाँचा छ, जसले स्थायित्व दिन सकेको छैन; अर्कोतिर नयाँ पुस्ताको सोच छ, जसले प्रणाली बदल्ने आकांक्षा बोकेको छ। यी दुईबीच सन्तुलन कायम गरेर अघि बढ्न सक्नु नै नेपालको आगामी दशकको दिशा तय गर्नेछ। यदि आगामी निर्वाचन पारदर्शी, गठबन्धनरहित र निष्पक्ष ढङ्गले सम्पन्न भयो भने, यो देशको राजनीतिक परिपक्वताको सूचक हुनेछ। तर यदि पुनः सत्ताकाङ्क्षा, ध्रुवीकरण र शक्ति–संघर्षले त्यसलाई ओझेलमा पार्यो भने, नेपाल फेरि अस्थिरताको चक्रमा फस्नेछ।
अन्ततः नेपालको राजनीतिक यात्राको भविष्य अहिलेका नेतृत्व, नयाँ पुस्ता र जनताको साझा चेतनामा निर्भर छ। परिवर्तनको माग स्पष्ट छ, अब त्यसलाई जिम्मेवार र संस्थागत रूपले कार्यान्वयन गर्ने समय आएको छ। इतिहासले अहिलेको पुस्तालाई एउटा अवसर दिएको छ; लोकतन्त्रलाई पुनर्जीवित गर्ने, शासनलाई जनमुखी बनाउने र विश्वास पुनःस्थापित गर्ने।
त्यो अवसर प्रयोग गर्न सके नेपालले स्थायित्वको नयाँ युगमा प्रवेश गर्न सक्छ; गुमायो भने, हामी फेरि पनि अनिश्चितताको अर्को अध्यायमा प्रवेश गर्नेछौं।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युवा चेतना, अस्थिरता र भविष्यको बाटो
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश





प्रतिक्रिया