कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा

विदुर खबर २०८२ कार्तिक १० गते ८:३०

नुवाकोट । नेपाली कांग्रेसको १५औं महाधिवेशनबारे विभिन्न चर्चा परिचर्चाका भइरहँदा पार्टीको केन्द्रीय समितिको बैठक १३ कात्तिकबाट नियमित हुँदै छ ।

Advertisement

असोज २८ बाट जारी बैठकको पहिलो दिन सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणासँगै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

कांग्रेसलाई बलियो बनाउन सबै मिलेर अघि बढ्न आग्रह गरेका देउवाले आफ्नो उत्तराधिकारीका रूपमा खड्कालाई नै राेजेका हुन् । पार्टी विधानले पनि उनकाे विकल्प खोज्दा थप जटिलता उत्पन्न हुन सक्ने कुरालाई ख्याल गरेर देउवाले गरेको सहज बहिर्गमनले समग्रतामा निकै सकारात्मक सन्देश प्रवाह भएको छ ।

Advertisement

योसँगै कांग्रेसमा नयाँ नेतृत्व स्थापित हुने पक्का भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ३० असोजबाट बसेको बैठक कात्तिक १३ गतेसम्मलाई सारेर तिहार तथा छठ मनाउन बिदा दिइएको छ । यो बैठकले पार्टीको आन्तरिक राजनीतिक जीवनको महत्वपूर्ण पक्ष महाधिवेशन र देशको धुमिल राजनीतिलाई सङ्लो बनाउने विषयमा निर्णय लिने छ । कांग्रेसको बैठकलाई सबै तह र तप्काबाट विशेष महत्वका साथ हेरिएको छ ।

यो बैठकले पार्टी रूपान्तरण, नेतृत्वको पुस्तान्तण र देशको जटिल राजनीतिक अवस्थालाई आफ्नै नेतृत्वमा सहज अवतरण गर्ने निर्णय हुने भएकाले कांग्रेस केन्द्रीय समितिको बैठकलाई राजनीतिक महत्वका साथ लिइएको हो । १५औं महाधिवेशनको कार्यतालिकासहित निष्कर्ष निस्कने भएकाले नेताहरू आगामी नेतृत्वको तयारीमा व्यापक जुटेका छन् । कांग्रेसको यो महाधिवेशनमा ३ वटा समूह बलियो बन्ने देखिएको छ ।

Advertisement

अघिल्लोपटक देउवासँग सभापति लडेर दोस्रो भएका नेता शेखर कोइराला, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखरकै समूहबाट महामन्त्री जितेका गगन थापा सभापतिका लागि बलियो दाबेदार बन्ने पक्का भएको छ । वर्तमान संस्थापन समूहबाट खड्का, संस्थापनइतर समूहबाट कोइराला र नयाँ समूह बनाउने तयारीमा रहेका गगनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।

सभापतिका लागि तीनैजना नेताहरूले आफ्नो पक्षमा समर्थन जुटाउन भित्रभित्रै तयारीलाई तीव्र पारेका छन् । करिब २ वर्षअघिबाटै सभापतिको तयारी गरेका नेता कोइरालाले तोकिएकै मिति २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने अडानसहित देशभर सांगठनिक गतिविधिमा सक्रिय हुँदै अाएका छन् ।

त्यस्तै, महामनत्री गगन थापा पनि यसपटक कसैलाई नेतृत्व नछाड्ने योजनासहित पार्टीभित्रका युवा पुस्तालाई एकाकार गरिरहेका छन् । सभापति देउवाको समर्थन पर्खेर बसेका उपसभापति खड्कमा पनि कार्यवाहक सभापति पाएपछि संस्थापन पक्षको साझा उम्मेदवार हुने विश्वासका साथ विभिन्न नेताहरूसँगको भेटघाट बाक्लो बनाउँदै आइरहेका छन् ।

महाधिवेशनको निर्णय आफूअनुकूल हुने गरी केन्द्रीय समितिको बैठकबाट पारित गर्ने पक्षमा उनी छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले समेत पार्टी केन्द्रीय समितिको बैठकमा मंसिरमा नियमित महाधिवेशनको कार्यातालिका नै पेस गरिसकेका छन् । तर, संस्थापन पक्षले यो प्रस्तावलाई स्वीकार गरेको अवस्था छैन । उनीहरू चैतसम्ममा महाधिवेशन गर्ने गरी तयारीमा जुटेका छन् ।

सोहीअनुसार केन्द्रीय समितिको निर्णय आउने संस्थापन पक्षका नेता कार्यकर्ताहरू ढुक्क छन् । महामन्त्री थापा, शर्मा र संस्थापनइतर समूहका नेता कोइराला र उनी निकटका नेताहरूले भने मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने अडान यथावत राखेका छन् ।

नियमित महाधिवेशन नभएर विशेष महाधिवेशन गरेर जानुपर्ने तर, यही समितिलाई समय थप्न नसकिने महामन्त्रीसहित संस्थापनइतर समूहका अधिकांश नेताहरूले कार्यवाहक सभापति खड्कालाई प्रेसर दिइरहेका छन् ।

खड्का समूहका कतिपय नेताहरूले भने आफ्नो पक्षमा माहोल मिलाउन केही समय लाग्ने भएकाले केन्द्रीय समितिको कार्यकाल ५/६ महिना थपेर महाधिवेशनको तयारी गर्ने पक्षमा देखिएको नेताहरूले बताएको समाचार आजको समाचारपत्र दैनिकले लेखेको छ ।।

प्रतिक्रिया