सम्पर्कविहीन भएका डा. श्रेष्ठ बालाजुमा सकुशल फेला परे

विदुर खबर २०८२ असार ३ गते ८:५१

नुवाकोट । सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ भन्दै भावुक स्टाटस लेखेर सम्पर्कविहीन बन्नुभएका डा. केशव श्रेष्ठ काठमाडौंको बालाजुस्थित श्रीनाथ बुटिक रिसोर्टबाट कुशल अवस्थामा फेला पर्नुभएको छ ।

Advertisement

आइतबार साँझ फेसबुकमा लामो स्टाटस पोस्ट गरेपछि सम्पर्कविहीन भएका डा. श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर र रामेछाप जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सोमबार उद्धार गरेको हो ।

उहाँले सामाजिक सञ्जालमा सरकारी सेवा, अस्पताल सुधारको प्रयास र सरुवासम्बन्धी गुनासो पोख्दै ’अलबिदा’ लेख्नुभएको थियो । त्यसपछि उहाँको फोन स्विच अफ भयो र कुनै सम्पर्क हुन सकेन । प्रहरीका अनुसार स्टाटस गम्भीर प्रकृतिको देखिएपछि खोजी कार्य तीव्र पारिएको थियो । मोबाइलको अन्तिम लोकेशन काठमाडौंको चाबहिलमा देखिएपछि काठमाडौं प्रहरीको टोली सक्रिय भएको थियो ।

Advertisement

काठमाडौं प्रहरी परिसरले अनुसन्धान गर्दै जाँदा श्रीनाथ बुटिक रिसोर्ट, बालाजुमा एक्लै बसिरहेको अवस्थामा डा. श्रेष्ठ फेला परेको रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । मानसिक तनावका कारण केही समय एक्लै बस्न चाहेका हुनसक्ने अनुमान लगाईएको भए तापनि डा.श्रेष्ठ किन रिसोर्टमा बस्नुभयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उद्धारपछि अब थप अनुसन्धान र आवश्यक परामर्शको व्यवस्था मिलाउने तयारीमा प्रहरी र सम्बन्धित निकाय जुटिरहेका छन् । उद्धार गरिएका डा.श्रेष्ठलाई उहाँको श्रीमतीको जिम्मा लगाई मनोपरामर्श गर्नुपर्ने सल्लाहसहित घर फर्काइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले बताउनुभयो ।

Advertisement

डा. श्रेष्ठको घटनाले संवेदनशील विषयप्रति ध्यानाकर्षण गरेको छ । सरकारी सेवामा सुधार प्रयास गर्दा आउने अवरोध, मानसिक स्वास्थ्यको बेवास्ता र राजनीतिक हस्तक्षेपप्रति गम्भीर बहस खडा भएको छ ।

सम्पर्कविहीन हुनुअघि उहाँले आफ्नो स्टाटसमा लेख्नुभएको थियो– ‘२५ महिनाको सेवामा १८ महिना अस्पताल प्रमुखको जिम्मेवारी पाउँदा सुधारका लागि खटिएँ, भ्रष्टाचार हटाउन लागेँ, तर त्यसैको सजायस्वरूप मलाई झूठा आरोपमा सरुवा गरियो ।’
स्ट्याटसमा लेखिएअनुसार उहाँले रामेछाप जिल्ला अस्पतालमा उहाँले २५ महिना सेवा दिनुभएकोमा १८ महिना अस्पतालको निमित्त मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हाल्दै अस्पताल सुधारमा जुट्नुभएको थियो । उहाँले लेख्नुभएको थियो– ‘मैले लेखाजोखा प्रणाली लागू गरें, अनियमितता रोकें, तर सुधार प्रयास केहीलाई मन परेन ।

’ उहाँले रामेछाप–८ का पूर्व वडाध्यक्ष केदार कार्कीमाथि राजनीतिक दबाब र धम्की दिएको आरोप लगाउनु भएको छ । अस्पतालमा एप्रोन नलगाएको विषयमा एक चिकित्सकलाई सम्झाउँदा सोही चिकित्सकले केदार कार्कीलाई बोलाएर आफूलाई आफ्नो कार्यकक्षमै धम्की दिएको आरोप पनि उहाँले लगाउनुभएको छ ।

धम्कीअनुसार नै नियोजित र योजनाबद्ध रूपमा आफूलाई वागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, हेटौंडा सरुवा गरिएका दाबी गर्दै उहाँले लेख्नुभएको छ–‘झूठा आरोप, व्यक्तिगत रिसइबी र राजनीतिक हस्तक्षेपका कारण मलाई हटाइयो । म अस्पताल सुधार्न लाग्दा बाधकहरू नै हाबी भए ।’

स्टाटसले मानसिक तनावको संकेत दिँदै फेसबुकमा ‘अलविदा’ लेखिएको थियो, जसले परिवार र शुभचिन्तकमा चिन्ता थपेको थियो ।

प्रतिक्रिया