वाग्मती प्रदेशमा मन्त्री ‘बेरोजगार’, मन्त्रालय फुटाउने तयारी
नुवाकोट । वाग्मती प्रदेश सरकारले मन्त्रालय विभाजनको तयारी गरेको छ ।
सरकार गठन भएसँगै मन्त्रालयको भागबन्डामा समस्या भोग्दै आएका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आफ्नो मन्त्रिपरिषद्का एक मन्त्रीलाई विभागीय जिम्मेवारी तोक्नका लागि मन्त्रालय विभाजन गर्न लागेका हुन् ।
गत साउन ९ गते कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । साउन ९ र १२ मा दुईपटक गरी सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामाले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका थिए ।
एमालेबाट ६ र कांग्रेसबाट आफूबाहेक ७ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री लामाले मदुकुमार श्रेष्ठलाई हालसम्म विभागीय जिम्मेवारी तोकेका छैनन् । मुख्यमन्त्री लामाले श्रेष्ठलाई आफू नियुक्त भएकै दिन मन्त्रीमा नियुक्त गरेका थिए ।
सरकारको नेतृत्व लिएको १०० दिन नाघिसक्दा समेत मुख्यमन्त्री लामाले मन्त्रीलाई बेरोजगार नै राखेको भन्दै सर्वत्र आलोचना भएपछि सरकार मन्त्रालय विभाजनको तयारीमा पुगेको हो । स्रोतका अनुसार मुख्यमन्त्री लामाले भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गर्ने तयारी गरे पनि सत्तारुढ सहयात्री एमाले नमानेपछि समस्यामा परेका छन् ।
मुख्यमन्त्री लामाले कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वसँगको आन्तरिक छलफलपश्चात् आफ्नो दलले प्राप्त गरेको मन्त्रालयबाटै श्रेष्ठलाई विभागीय जिम्मेवारी तोक्ने तयारी गरेका छन् । स्रोतका अनुसार लामाले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गर्ने तयारी गरेका छन् । उनले यसका लागि आवश्यक तयारी अगाडि बढाउन समेत कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।
‘भौतिक पूर्वाधार मन्त्रालयमा करिब ३५ प्रतिशत सरकारको बजेट रहेको छ । यसलाई विभाजन गर्ने मुख्यमन्त्रीको तयारी थियो । तर, एमालेले मानेन ।’, एक मन्त्रीका अनुसार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा सहकारीलाई मिलाएर अर्को मन्त्रालय बनाउने तयारीसमेत भइरहेको छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोक्ने सम्भावना छ । ‘मन्त्रालय विभाजन गर्न लागेको होइन । मन्त्रीलाई विभागीय जिम्मेवारी प्रदान गरिन लागेको हो ।’, मन्त्री लामछिानेले बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने सम्भावना रहेको बताए ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका सचिवहरुलाई बुधबार र बिहीबार एक कार्यक्रमका लागि काठमाडौं बोलाएको भन्ने कुरा छ । बुधबार र बिहीबार सचिवहरु काठमाडौं भए भने शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्छ ।’,
सरकारका प्रवक्ता लामिछानेले कांग्रेसले प्राप्त गरेको मन्त्रालयमध्येबाटै बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोक्ने सम्भावना रहेको बताए । उनले कुन मन्त्रालय विभाजन गर्ने भन्नेबारेमा खुलाएनन् ।
मुख्यमन्त्री लामाले कांग्रेस भित्रको आन्तरिक द्वन्द्व र अर्कोतर्फ साझेदार दलबीचको शक्ति सन्तुलन मिलाउन खोज्दा लामो समयदेखि मन्त्री व्यवस्थापन समस्या भोगिरहेका छन् । मन्त्रालयको संख्या बढाउन साझेदार दल तयार नहुँदा मुख्यमन्त्री लामा बिनाविभागीय मन्त्री बोकेर हिँड्न बाध्य छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया