वाग्मती प्रदेश सरकारसामु चुनौतीका चाङ
नुवाकोट । संविधान जारी भएपछि संघीय शासन व्यवस्थाको दोस्रो कार्यकाल सुरुवात हुँदै छ ।
अभ्यासको ५ वर्षमै प्रदेश संरचनाको औचित्यमाथि नै गम्भीर प्रश्न उठिरहेको बेला अब बन्ने नयाँ सरकारसामु चुनौतीका चाङ छन् । त्यसभन्दा अघि कसको नेतृत्वमा सरकार बन्ने अझै निश्चित भइसकेको छैन ।
सत्ता गठबन्धनको सहज बहुमत पुगेको वाग्मती प्रदेश सरकार गठनमा संघीय सरकारको समीकरण कस्तो बन्नेछ भन्ने विषयले महत्त्वपूर्ण अर्थ राख्नेछ । दोलखाको सामानुपातिकतर्फको मत परिणाम मात्र आउन बाँकी रहँदासम्म वाग्मतीमा कांग्रेस पहिलो स्थानमा छ र अन्तिमसम्म त्यसमै कायमसमेत रहने स्पष्ट छ ।
यसो हुँदा स्वाभाविक रूपमा मुख्यमन्त्रीमा कांग्रेसको दाबी रहन्छ । गठबन्धनको सरकार बन्ने भएकाले पनि सरकार गठनमै सकस छ । प्रदेशमा धेरैजसो नयाँ अनुहार भित्रिएका छन्, जसलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । जसको सरकार बने पनि विशेषगरी बाँकी कानुन निर्माण, कार्यान्वयन गर्न सक्ने बजेट र भौतिक संरचना खडा गर्नु मुख्य चुनौती हुनेछ ।
पूर्वमुख्यमन्त्री डोरमणि पौडेल हालको सरकारले जस्तो भागबन्डाको राजनीतिबाट टाढा बसेर नयाँ सरकार स्थायित्व, जवाफदेही र पारदर्शी रूपमा अगाडि बढ्न जरुरी रहेको बताउँछन् । ‘अहिलेको जनमत पुराना दलको विरुद्धमा देखिन्छ । हामीले संसदीय व्यवस्थालाई टिकाउनका निमित्त काम गर्ने शैली परिवर्तन गर्न जरुरी छ ।
अब जनताको माझमा गएर उनीहरूको समस्या समाधानको प्रयास गर्नुपर्छ । भागबन्डाको राजनीतिमा अल्झिनु हुँदैन,’ ४२ महिना प्रदेश सरकारको नेतृत्व गरेका पौडेलले भने ।
प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेपछि ८ सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गरी १४ सदस्यीय पुर्याए । जसका कारण श्रम कार्यालयका लागि बनेको भवनमा ५ वटासम्म मन्त्रालय राखियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन जिल्ला समन्वय समितिको भवनमा छ भने प्रदेशसभा भवन तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनलायमा छ । यसअघिका सरकारी संरचनामा केही मन्त्रालयहरू रहे पनि विभिन्न कार्यालयहरू भने अझै पनि भाडाका घरमै सञ्चालित छन् । प्रदेशसभाको अस्थायी भवन निर्माण सुरु भएको २ वर्षभन्दा बढी भइसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
आउने सरकारले संघीयता स्थापित गर्न पनि भौतिक संरचनाको विकासका लागि काम गर्नुपर्ने हुन्छ । २०७६ पुस २७ मा हेटौंडालाई प्रदेशको राजधानी तोकिएपछि भौतिक पूर्वाधारको विषय प्रदेशसभामा जोडतोडले उठेको थियो । तथापि तीनवटै सरकारले यसमा काम गर्न सकेनन् । अहिले हेटौंडा बजारबाट १५ किमि पूर्वमा रहेको हटियामा प्रदेशका एकीकृत संरचना बनाउने विषय उठान भएको छ । हटियामा प्रदेशको मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू र संसद् भवनसमेत निर्माण गर्ने गरी तयारी थालिएको प्रदेश सरकारको दाबी छ । ५५ बिघा क्षेत्रफल जग्गामा प्रदेशको सिंहदरबार बनाउने तयारी थालिएको बताइएको छ । चालु आवमा १ अर्ब ५ करोड रुपैयाँ बजेट मन्त्रालय भवन बनाउन छुट्याइएको छ तर यसमा पनि ठोस प्रगति छैन ।
गौरवका योजनालाई निरन्तरता
भीमफेदी–कुलेखानी सुरुङ मार्ग, विद्युतीय बस सञ्चालन, प्रदेशका १३ वटै जिल्लालाई जोड्ने चक्रपथ निर्माणलगायत योजनाको विषय पहिलो ३ वटा बजेटमा गौरवको आयोजनाको रूपमा चित्रित गरियो । तर, जसै सरकार परिवर्तन भए गौरवका विषय ‘गायब’ नै भए । भीमफेदी–कुलेखानी सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई ठेक्का आह्वान गर्ने चरणमा पुग्दा सरकार परिवर्तन भएपछि योजना नै स्थगन गरियो । जसमा हालसम्म कुनै प्रगति छैन । विद्युतीय बस खरिदका लागि पहिलो पटक गधरिएको टेन्डर रद्द भएपछि यो पनि स्थगनको अवस्थामा छ ।
विद्युतीय बस सञ्चालनका लागि आवश्यक कानुन र संरचनाको अभाव भएको भन्दै परिवर्तित सरकारले दोस्रो पटक ठेक्का नै आह्वान गर्न चाहेन । १० वर्षभित्र ठूला सहरमा विद्युतीय सवारी सञ्चालन गर्ने योजना पनि अलपत्र परेको छ । संघीय राजधानी जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी–काठमाडौं र कुलेखानी–फाखेल–काठमाडौं मार्गको स्तरोन्नतिको काम आंशिक रूपमा गरिएको छ । यो खण्डमा काम अझै जारी छ तर निकै सुस्त गतिमा भइरहेको छ । संघीय राजधानी जोड्ने सडक नै कमजोर भएको भन्दै प्रदेशसभामा पटक–पटक आवाज उठ्ने गरेको पनि छ तर सुनवाइ छैन ।
कानुन निर्माणमा संघको बाधा हटाउनु
प्रदेशमा कानुन निर्माण प्रक्रिया पछिल्लो २ वर्षयता ठप्प छ । सरकार परिवर्तनको खेल सुरु भएपछि कानुन निर्माणले गति लिन सकेन । अहिलेसम्म वाग्मतीले संशोधनसहित १७३ वटा कानुन निर्माण गरिसकेको छ । ५ वर्षमा ऐन मात्रै ५७ वटा बनेका छन् । सरकार आफैंले निर्धारण गरेकामध्ये अझै ४२ वटा कानुन बन्न बाँकी छ । तयार भई कार्यान्वयनमा आएका कानुनमध्ये १४ वटा संशोधन भइसकेका छन् । प्रदेश सरकारले जारी गरेका १० अध्यादेशमध्ये ४ वटा प्रदेशसभाबाट प्रतिस्थापन भएका छन् । यो अवधिमा प्रदेश मन्त्रिपरिषद्ले स्वीकृत गरेका २१ नियमावली, २ विनियमावली र ३ वटा निर्देशिकामध्ये ७ नियमावली, १ विनियमावली र एउटा निर्देशिका संशोधन भएका छन् । स्वीकृत भएका ३५ कार्यविधिमध्ये ६ वटा संशोधन र ४ वटा खारेज भएका छन् । ५ मापदण्डमध्ये एउटा संशोधन भयो भने जारी भएका ८ आदेशमध्ये २ वटा संशोधन र २ वटा खारेज भएका छन् । यसरी वाग्मती सरकारले १२१ वटा कानुन निर्माण गरेको थियो । संशोधनसहित १७३ वटा कानुन बनेका हुन् । हतारमा निर्माण गर्दा पटक–पटक संशोधन गर्नुपरेको सरकारमाथि आरोप लाग्ने गरेको पनि छ ।
कानुन निर्माण गर्न दक्ष जनशक्तिको अभावले समस्या भइरहेको पूर्वसभामुख सानुकुमार श्रेष्ठ बताउँछन् । ‘कानुन निर्माणको लामो प्रक्रिया हुन्छ । दक्ष जनशक्ति नहुँदा मस्यौदा तयारीमै समय लाग्ने गरेको छ,’ उनले भने । प्रदेशले निर्माण गरिसकेका अनुसन्धान, निजामती, प्रहरी ऐन अझै कार्यान्वयनमा आएका छैनन् । साझा अधिकार सूचीका कानुन संविधानको मर्मअनुरूप र संघीय ऐनसँग नबाझिने गरी तयार गर्नुपर्छ । तर उल्लिखित कानुन संघीय सरकारले बेलैमा नबनाइदिएका कारण यस्तो अवस्था आएको प्रदेशको कानुन मन्त्रालयको भनाइ छ ।
सकारात्मक सुरुवात
वाग्मती सरकारले सुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ प्रभावकारी देखिएको छ । सरकार गठन भएको पहिलो वर्षमा नै उक्त कार्यक्रम नमुनाको रूपमा सुरु गरिएको थियो । हाल प्रदेशका सबै जिल्लाका सबै माध्यमिक विद्यालयहरूमा उक्त कार्यक्रम क्रमशः विस्तार गरिँदै छ । उक्त कार्यक्रम प्रभावकारी भएको देखेर संघीय सरकारले पनि यो प्रदेशबाहेकका केही जिल्लामा अघि बढाएको छ ।
वाग्मती सरकारले ‘उच्च शिक्षाका लागि छोरी बुहारी कार्यक्रम’ पनि सञ्चालन गरेर शिक्षा आर्जनमा महिलालाई प्राथमिकतामा राखेको छ । हालको पाण्डे नेतृत्वको सरकारले प्याज आयातलाई विस्थापन गर्ने उद्देश्यले प्याज खेती गर्ने किसानलाई अनुदानको व्यवस्था गर्नुका साथै उत्पादनका आधारमा कृषि क्षेत्रलाई अनुदान दिने व्यवस्था पनि गरेको छ । प्रत्येक पालिकामा एक जना अल्पसंख्यक र सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राविधिक शिक्षा पढ्न पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।
वाग्मतीको नीति तथा योजना आयोग उपाध्यक्षसमेत रहेका संघीय मामिलाविज्ञ खिमलाल देवकोटाले अब बन्ने सरकारले संस्थागत संरचना निर्माण गर्नुपर्ने र चुस्तदुरुस्त मन्त्रिमण्डल बनाउँदै प्रभावकारी ढंगले काम गर्नुपर्ने सुझाउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया