नुवाकोटमा कांग्रेस-माओवादीको चेपुवामा एकीकृत समाजवादी,कार्यकर्ता अलमलमा
नुवाकोट । स्थानीय तहको चुनावमा केन्द्रबाट गठबन्धन गर्ने नीतिमा आस गरेको बसेको नेकपा एकीकृत समाजवादीले नुवाकोटमा धोका पायो । स्थानीय तहमा गठबन्धन गर्ने पहिलो र भत्किने पनि पहिलो जिल्ला भयो नुवाकोट ।
स्थानीय चुनावमा गठबन्धनको भर पर्दा धोका पाएको गुनासो गरेका केन्द्रमा प्रतिनिधित्व गर्ने जिल्लाका नेताहरू संघीय चुनावमा पनि सोही गुनासो गर्नुपर्ने अवस्थामा छन् । गठबन्धनबाट नेकपा एसले नुवाकोट २ क प्रदेशसभा सदस्यमा भागमा पायो । सो क्षेत्रबाट राजेन्द्र लोहनीले उम्मेदवारी दर्ता गराए । तर पार्टी र गठबन्धनको नीतिअनुसार लोहनीको उम्मेदवारी केन्द्रबाटै निष्क्रिय पार्न भनियो । आफ्ना पार्टीका उम्मेदवार शून्य भएपछि नुवाकोटमा एकीकृत समाजवादीका कार्यकर्ता के भन्ने अन्योलमा छन् । कोही एमाले प्रवेश गर्ने तयारीमा छन् त कोही पार्टीको नीति मान्दै अर्को पटकको चुनावको तयारीमा जुट्ने योजनामा छन् ।
क्षेत्र नम्बर २ क मा लोहनी, क्षेत्र नम्बर १ को प्रदेशसभा क मा राजेश थापाको उम्मेदवारी छ । मतपत्रमा उम्मेदवारको चुनाव चिह्न छापिएर त्यो प्रक्रियामा औपचारिक भए पनि व्यवहारमा भने उम्मेदवारी हुनेछैन । किनकि उनीहरूकाे उम्मेदवारी निष्क्रिय पारिएकाे छ । तर चुनावी कार्यतालिकाभित्र उम्मेदवारी फिर्ता नलिएकाले उनीहरूकाे उम्मेदवारी औपचारिक रूपमा कायम छ ।
कात्तिक ५ गते जिल्लाको बिस्तारित बैठकमा कार्यकर्ताको गुनासो सुन्ने योजना पार्टीको छ । ‘लोकतन्त्रको पक्षमा लडेको मान्छे हौँ, हाम्रो मत गठबन्धनको पक्षमा जान्छ,’ एकीकृत समाजावदीका नुवाकोट अध्यक्ष गोविन्द नेपालीले भने, ‘उम्मेदवारी फिर्ता गर्नुपर्ने अवस्था आयो । नुवाकोटमा मुख्य दल (कांग्रेस र माओवादी) ले अछुतो व्यवहार गरे । राजनीतिक व्यवहार भएन ।’
कार्यकर्ता भेलामा पार्टीको कुरा बुझाएर कार्यकर्ताको असन्तुष्टि शान्त पार्ने र पार्टीको धारणा सार्वजनिक गर्ने योजनामा पार्टी छ । ‘हाम्रो कारणले गठबन्धन भएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री हाम्रो पार्टीले बनाएको हो, हाम्रो कुरा नेता कार्यकर्तालाई बुझाउँछौँ,’ जिल्ला अध्यक्ष नेपालीले भने । बेइमानी काम भयो भनेर नेता कार्यकर्ताले चित्त दुखाएको जिल्ला तहका नेताको बुझाइ छ ।
कांग्रेसभित्रको टिकट विवादले एकीकृत समाजवादीले पाएको प्रदेशको टिकट खोसियो । प्रतिनिधिसभाको उम्मेदवार बन्न आकांक्षा राखेका कांग्रेस नेता बहादुरसिंह लामालाई २ नम्बर क्षेत्रको प्रदेश ख मा टिकट दिएर माओवादीलाई प्रदेश क दिँदा समाजवादीकाे भाग खोसिएकाे हाे । ‘बहादुर सिंहलाई व्यवस्थापन गर्ने नाममा माओवादीले क मा मनोनयन गरायो । त्यसलाई केन्द्रबाट सदर गरियो,’ एकीकृत समाजवादीका जिल्ला सहसचिव उद्धव पनेरुले भने । कार्यकर्ता विचलित नहाेउन् भनेर अर्को पटकका लागि पर्खन कार्यकर्तालाई आग्रह गरिने पनेरुले बताए ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले २ नम्बर को प्रतिनिधिसभामा टिकट लिँदा लामा प्रदेशमा झरेको बुझाई समाजवादीको छ । तर, केसी भने यसलाई अस्वीकार गर्छन् । ‘मैले टिकट लिनका लागि मिलाउँदा समाजवादीको टिकट खोसियो भन्ने आरोप छ’, कांग्रेस नेता केसीले भने, ‘मैले गरेको होइन । परिस्थिति त्यस्तो बनेर आयो । यसमा मेरो कुनै हात छैन ।’ नयाँ पार्टीको उम्मेदवार नहुँदा संगठनमा समस्या आउने पनेरु बताउँछन् । ‘पार्टीको निर्णय मान्ने या विद्रोह गर्ने विकल्प हामीसँग छैन’, उनले भने, ‘गठबन्धनलाई हामी सघाउँछौँ ।’
संगठन बन्दै गरेको पार्टीको उम्मेदवार भए संगठन विस्तारमा सहज हुने नेता राजेन्द्रप्रकाश लोहनी बताउँछन् । ‘बन्दै गरेको पार्टीमा उम्मेदवार भए संगठन विस्तार गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘कार्यकर्ता आक्रोशित छन्, निराश छन् । म पद भए पनि नभए पनि पार्टीमा लागिपरेको छु । कति गर्न सकिक्छ हेरौँ ।’
टिकट खोसिएकोमा लोहनीको असन्तुष्टि छ तर, उनी पार्टीको निर्णय मानेर बसेका छन् । ‘निर्णय भएर गैसकेपछि त्यसमा इमानदारिता भैदिएको भए हुन्थ्यो भन्ने हो । दुई ठूला दल मिलेपछि तेस्रो दलको आवश्यकता रहेन,’ उनले भने, ‘यसमा के टिप्पणी गर्ने र ?’
स्थानीय चुनावमा पनि गठबन्धनको भर पर्दा अन्तिममा धेरै उम्मेदवार उठाउन नसकेको र अहिले पनि गठबन्धनको भर पर्दा स्पष्ट हुन नसकेको उनले बताए । ‘अहिले पनि केन्द्रले प्रष्ट भनेन । गठबन्धन हुन्छ कि हुँदैन । गठबन्धन भए पनि छुट्टै उम्मेदवार बनाएर लड्न पाइन्छ कि पाइँदैन भन्ने कुरा स्पष्ट गर्न सकेन,’ उनले भने, ‘अन्योलको बीचमा हार्ने चुनाव लड्न माान्छे तयार हुन्छन् भन्ने पनि भएन । त्यो पनि अन्याय भयो । चुनावको तयारी पनि भएन ।’ पुराना पार्टीमा पनि असन्तुष्टि रहेको लोहनीले बताए । पाँच वर्षको अवधि संगठन विस्तारमा लाग्ने उनले बताए ।
गठबन्धनको नाममा नुवाकोटमा तानाशाह लाद्ने प्रवृति देखिएको जिल्लास्तरका नेताहरूको आरोप छ । ‘गठबन्धन भनेको तानाशाह लाद्ने अवस्था देखियो । एक एक रुपैँया जोडेर हजार हुनेमा समाजवादीको एक रुपैयाँको तागत छ भन्ने कुरा उनीहरूले बुझेर पनि बुझ पचाएको जस्तो देखियो,’ एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य राममणि अधिकारीले भने, ‘यसको परिणाम चुनावमा देख्न सक्छन् । आधिकारिक धारणा ५ गतेको भेलाबाट आउँछ ।’
पार्टी कमिटीको निर्णयविरुद्ध भने नजाने उनले बताए । केन्द्रमा गठबन्धन राम्रो भए पनि नुवाकोटमा राजनीतिक दलभन्दा पनि जातीयता लगायतका अन्य कुरा हाबी भएको अधिकारीले बताए । कांग्रसभित्रको आन्तरिक कलहमा माओवादीले समेत खेल्ने मनसाय बनाएको उनले बताए ।
जातीयता हाबी भएको हो ?
पार्टीका जिल्लास्तरका नेताहरू नुवाकोटको गठबन्धनमा जातीयता हाबी भएको आरोप लगाउँछन् । ‘जातीय राजनीति हाबी गर्न उद्धत भएको देखियो । यसलाई सबै मिलेर चिर्नुपर्छ,’ एकीकृत समाजवादीका एक जिल्ला पदाधिकारीले भने । स्थानीय तहको चुनावमा पनि पार्टीभन्दा माथि जातीयता देखिएको जिल्लाका ती पदाधिकारीले बताए ।
पार्टीका निर्वाचन आयोगका सदस्य वसन्त बस्नेतले नुवाकोटमा हितबहादुर तामाङ र बहादुरसिंह लामा सम्मिलित दुई दलीय तानाशाहविरूद्ध संघर्ष गर्नुपर्ने कारणहरू भन्दै आठ बुँदा सामाजिक सञ्जालमा लेखेका छन् । सूर्यगढीमा सन्तबहादुर तामाङको टिकटका लागि कांग्रेसकै बहाुदरसिंह लामाले हस्तक्षेप गरेको र उनको सहजताका लागि माओवादीले अध्यक्षमा उम्मेदवारी नै नदिएको बस्नेतले दाबी गरेका छन् ।
नुवाकोटमा एकल पार्टीले शासन चलाउन नसक्ने बुझाइ समाजवादीका नेताको छ । उनीहरूको विश्लेषण २०७४ मा एमालेले बाम गठबन्धन भनेर माओवादी जोगाएको र अहिले पनि गठबन्धन हुँदा माओवादी जोगिएको भन्ने छ । ‘हितबहादुर तामाङले गरिरहेको राजनीतिमा कांग्रेसका लामा, निजामती क्षेत्रका रुद्र तामाङ, कांग्रेसका सूर्यगढीका सन्दबहादुर तामाङ, तादीका सन्तमान तामाङलगायतको तामाङ समूहले जुन सुकै पार्टीबाट चुनाव लडे पनि हार्न नदिने रणनीति देखिन्छ,’ एकीकृत समाजवादीका ती नेताले भने ।
एमाले फर्किने तयारी गर्दैछन् नेता ?
एमाले जिल्ला तहका नेताहरू एकीकृत समाजवादीका रुष्ट कार्यकर्ताको भावना सम्बोधन गर्ने रणनीतिमा छन् । एमाले छाडेर जाँदा जुन पदमा थिए सोही पद दिने आश्वासन बाँडिरहेका छन् । ककनी गाउँपालिकाका कमिटी, लिखु गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष एमालेमा आउन वार्तामा रहेको एमाले स्रोतले जानकारी दियो । ‘राजेन्द्र लोहनी र उनीसहितका केही व्यक्तिहरू एमालेमा फर्किन समाजवादीभित्रै संघर्ष सुरु भएको छ,’ एमाले जिल्लास्तरका एक नेताले भने, ‘जिल्लाका सचिव पदम उप्रेती र केन्द्रका वसन्त बस्नेतसम्म एमाले फर्किने तयारीमा छन् ।’ तर, चुनावकाे मुखमा माहोल बिग्रने भन्दै एमाले नेता र फर्किने लविङमा रहेकाहरू मौन छन् ।
एमाले फर्किने हल्लामात्रै
‘जिल्लाको अंकगणितको हिसाब गर्दा विपक्षमा नतिजा आउने निश्चित भएपछि एमालेहरू अत्तालिएकोमा एउटा भ्रम सिर्जना गर्न सकिन्छ कि भन्ने हो । त्यो कपोकल्पित हो । वास्तविकता होइन,’ नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य बस्नेतले भने । पार्टी एकता भएमा माधवकुमार नेपालसँगै फर्किने तर एक्लै एमाले नफर्किने उनको भनाइ छ । ‘म पदको होइन विचारको हो । म एमालेको रिसले समाजवादीमा आएको होइन,’ बस्नेतले भने, ‘मैले कुनै पार्टी वा जातीय राजनीतिको विरोध गरेकोमा पार्टी छोड्ला भन्ने अनुमान हो वास्तविकता होइन ।’
एमालेलाई कमजोर बनाउन लाग्ने समाजवादीको रणनीति छ । ‘एमालेलाई कमजोर बनाउन सकिएन भने पार्टी विद्रोह गरेको अर्थ छैन,’ जिल्लाका एक पदाधिकारीले भने, ‘केही साथीहरूले गठबन्धनलाई भोट नहाल्लान् तर एमालेलाई पनि उनीहरूले भोट हाल्दैनन् ।’ जिल्लामा आफूसँग भएको कार्यकर्ता रोक्ने रणनीतिमा समाजवादी छ । ‘गठबन्धनको निर्णय नै उथलपुथल हुन्छ कि भन्ने अवस्था आइपुग्यो नुवाकोटमा, जिल्ला सचिवालय सदस्य राममणि अधिकारीले भने, ‘कार्यकर्ता फर्किने भन्ने अवस्था होइन ।’
‘समाजवादीको राजनीतिक अवस्थामा एक इन्च पनि तलमाथि भएको छैन । हामी चेपुवामा पर्यौँ । कांग्रेस र माओवादी मिले । केपी ओलीको अहंकार भन्दै प्रतिगमनविरुद्ध आन्दोलन गर्यौँ,’ बस्नेतले भने, ‘दुई दलको तानाशाहमा हामी पर्यौँ । उनीहरूले अहंकार देखाए ।’ समाजवादीलाई टिकट नदिनेसम्म सीमित नरहेर समाजवादीलाई जिल्लामा स्थापित हुन नदिन लागेकाे उनको दाबी छ । ‘हितबहादुर तामाङ (माओवादी) लाई मेरो प्रतिद्वन्द्वीतामा अर्को कम्युनिस्ट पार्टी विस्थापन गर्ने भयो र एमालेको ठाउँ लिन्छ भन्ने त्रास भयो । कांग्रेसले पनि कि बाँडफाँट गरेन । एउटा पार्टीलाई एउटा दिँदा तीनवटा क्षेत्र आफ्नो भागमा आउँछ भने किन समाजवादीलाई ठाउँ दिने भन्ने हिसाबले संसदमा हामीलाई शून्य बनाए,’ बस्नेतले भने ।
स्थानीय चुनावमा कमजोर प्रस्तुति
शिवपुरी र तादी गाउँपालिकामा संगठन बलियो छ । शिवपुरी, सूर्यगढी माओवादीसँग तालमेल गरेर स्थानीय तहको चुनाव लडेके थियो । एकीकृत समाजवादीले जम्मा स्थानीय तहमा वडाध्यक्षहरूको मतमा क्षेत्र नम्बर १ मा २ हजार २ सय ४५ मत र २ मा ९ सय ६१ थियाे । सूर्यगढीको अध्यक्षमा २ हजार १७४, शिवपुरीको अध्यक्षमा ४ हजार ७३, तादीको अध्यक्षमा १ हजार ९४० मत उपाध्यक्षमा ७२२ मत ल्याएको थियो ।
ककनीको उपाध्यक्षमा १ हजार २९१ मत ल्याएको थियो । पञ्चकन्या, दुप्चेश्वर, बेलकोटगढी र विदुरमा पनि राम्रो मत रहेको नेताहरूको दाबी छ । क्षेत्र नम्बर १ मा ७ हजार भोट र क्षेत्र नम्बर २ मा साँढे तीन हजार मत गरी दश हजारभन्दा धेरै भोट रहेको आकलन पार्टीको छ ।
एकीकृत समाजवादीको जिल्लाभर ८७ वटा वडामा ५२ वटा वडामा वडा कमिटी छ । १२ वटै पालिकामा पालिका कमिटी छ । बेलकोटगढी नगरपालिकामा सबै वडामा कमिटी छ भने विदुरको ८ नम्बर वडा बाहेक अन्यमा कमिटी छ ।
शिलापत्रबाट ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया