आयोजना खोस्ने सरकारको चेतावनीपछि पूर्वाधार विकास कम्पनीले प्रस्तुत गर्यो लगानी जुटेको प्रमाण

विदुर खबर २०७५ भदौ २१ गते ५:५८

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी—कुलेखानी सुरुङ मार्ग प्रदेश सरकार आफैले बनाउने बताएको केहिदिन पछि नेपाल पूर्वाधार विकास कम्पनीले लगानीकर्ता जुटाएको प्रमाण सार्वजनिक गरेको छ ।

Advertisement

आयोजनामा चीनको पावरचाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने बताइएको छ ।नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका सम्झौता भएको छ। परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको लागि सम्झौता भएको कम्पनीले जनाएको छ ।

सरकारले आयोजना खोस्ने चेतावनि दिएपछि नेपाल पूर्वाधार विकास कम्पनीले पावरचाइनासँग २०१७ मे मा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) सम्मेलनको अवसरमा EPC Contract मा हस्ताक्षर गरेको प्रमाण सार्वजनिक गरेको छ ।उक्त हस्ताक्षर समारोहमा तत्कालिन उपप्रधानमंत्री तथा परराष्ट्र मंत्री कृष्ण बहादुर महराको समेत उपस्थिति रहेको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

केहीदिन अघि मात्र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंँग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै उक्त आयोजना निर्माण कार्य अगाडि बढाउने बताएका थिए । जसका लागि सम्झौता खारेजीका लागि केन्द्र सरकारसंँग आग्रह गर्ने बताएका थिए ।

Advertisement

सरकारले आयोजना खोस्ने धम्की दिएपछि नेपाल पूर्वाधार विकास कम्पनीले लगानीकर्ता जुटाएको दाबी गरेको छ । पावरचाइनाले उक्त परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गरेको छ । साथै पावरचाइनाले ७५:२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावरचाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरि सकेको दाबी गरेको छ । पुनरावलोकनपछि परियोजनामा सडकको कूल लम्वाई मध्ये ४४ प्रतिशत सुरुङ्ग तथा पुलले ओगट्ने तथा आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावरचाइना कम्पनीबीच भएको उक्त सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मंत्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरि सकेको छ । साथै यस परियोजनामा केन्द्रिय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको छ ।

साथै यही भदौ १९ गते मंगलबार बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा भवन भट्टलाई कम्पनीको अध्यक्ष चयन गरेको जानकारी दिएको छ । भट्ट गैर आवासीय नेपाली संघका अध्यक्ष समेत हुन । साथै बैठकले यहि पौष महिनामा यस कम्पनीको वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया