तीजको रौनकतासँगै सुन किन्नेको भिडभाड बढ्यो

विदुर खबर २०७९ भदौ १ गते २१:००

नुवाकोट । नेपाली हिन्दु महिलाहरुको चाड तीज नजिकिँदै गर्दा नेपाली सुन बजारमा रौनकता छाएको छ ।

Advertisement

कोरोना महामारीका कारण थलिएको सुनचाँदी बजार बिस्तारै उठ्न थालेकाे छ । महिलाहरु सुनचाँदीका गरगहना बनाउन सुन पसलमा व्यस्त देखिन्छन् र सुनचाँदी पसलमा सुन किन्नेको भिडभाड हुन लागेको छ ।

साउन महिनामा पनि नेपाली महिलाहरुको आकर्षण सुनतर्फ रहँदा सुनचाँदीको राम्रो कारोबार भएको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

Advertisement

यस्तै, नेपाल रत्न तथा आभूषण संघका महासचिव किसन सुनारले पनि साउनमा सुनचाँदीको व्यापार सन्तोषजनक रहेको बताए । “तीज नजिक आएकाले पनि साउनको अन्तिममा ठिकै व्यापार भएको छ, भदौमा राम्रो हुनु स्वाभाविकै हो,” उनी भन्छन् । कोभिड पछिको नेपाली सुन बजार सुधारोन्मुख रहेको पनि उनले बताए।

सुनचाँदीको मूल्य घटेमा तीजमा व्यापार बढ्नेमा सुनचाँदी व्यवासायीहरु आशावादी छन् । “तर व्यापार बढ्ने अपेक्षा गरेपनि त्योसँगै कच्चा पदार्थको भने कमी आउन सक्छ,” उनी थप्छन् ।

Advertisement

चाडपर्व भित्रिएसँगै बजारमा सुनको माग बढेको छ । तर व्यवसायीलाई भने ग्राहकहरुको माग अनुसारको गहना पुर्याउन हम्मे हम्मे भएको छ ।

अहिले प्रतिदिन २० देखि २५ किलो सुनको माग भएपनि पुर्याउन नसकिएको महासंघका महासचिव बज्राचार्यले बताए ।  ‘माग धेरै आए पनि परिपूर्ति गर्न सकेनौं । व्यवसायीले सुन भए न माग पुरा गर्न सक्ने हो,’ उनले भने ।

माग परिपूर्ति गर्न नसकेपनि व्यवसायीहरुले चाडपर्वलाई लक्षित गर्दै पहिले नै अर्डर लिन थालेका छन् । केहि व्यवसायीले पछि बनाउने सर्तमा अर्डर लिएको पनि पाइएको बज्राचार्य सुनाउँछन् । यद्यपी बजारमा माग बढी भएपनि आपूर्ति कम हुँदा व्यवसायीहरु समस्यामा परेको उनले बताए ।

प्रतिक्रिया