नुवाकोट ककनीकी बाटुली लामीछानेले जनाति देखिन्

नुवाकोट । मुलुककै सबैभन्दा ज्येष्ठ नागरिक हुन्, नुवाकोटकी बाटुली लामिछाने ।
उनी १ सय १९ वर्षकी भइन् । पहिचान भएमध्ये जेठी आमा हुन् । एक छोरा, चार नातिनी, पाँच पनाति, पाँच पनातिनी र एक जनाति छन् । उनी विश्वकै ज्येष्ठ नागरिक भएको भन्दै विश्व रेकर्डमा नाम लेखाउन पहल भइरहेको छ ।

उनले विसं १९९९ मा छोरा नेत्रप्रसादलाई जन्म दिइन । त्यही वर्ष परदेश जाने भनेर श्रीमान छविलाल लामिछाने घरबाट हिँडे । आजसम्म उनको अत्तोपत्तो छैन । छोराछोरी, नातिनातिनाको माया र सहारामा बाटुलीले जीवनका महत्त्वपूर्ण क्षण बिताइन्। परिवारकै सहारामा बाँकी जीवन पनि सुखसँग बित्ने उनी बताउँछिन् ।
’म जन्मेकै वर्ष बुवा परदेश जान्छु भनेर हिँड्नुभएको रहेछ’, नेत्रप्रसादले भने, ’हामीले निकै खोज्यौं। तर, अझै पत्तो लागेको छैन ।’ ढल्किँदो उमेरले बाटुली आमालाई सुन्न र बोल्नमा केही कठिनाइ हुँदै गएको छ । आफूसँग बोल्न खोज्ने नयाँ मान्छेलाई ’नमस्कार’ फर्काउँछिन्। विभिन्न संघसंस्था र सरकारी निकायका प्रतिनिधि सम्मान गर्न घरमा आइरहन्छन् । परिवारका सदस्यको सहारामा दोहोरो संवाद गर्ने गर्छिन् ।
नुवाकोटको ककनी निवासी बाटुली आमा केही दिनदेखि बिरामी रहेको नेत्रप्रसादले बताए। ज्वरो, रुघाखोकीका कारण उनलाई खान र बोल्न पनि अप्ठ्यारो भइरहेको छ । उनलाई दही, दूध, फलफूल मन पर्छ। पनाति श्याम ढुंगानाले परिवारका सबै सदस्य मिलेर बाटुली आमाको स्याहारसुहार गर्ने गरेको बताए ।
सदरमुकाम विदुरबाट ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका–८ थानसिङ छापथोकमा बाटुली आमा बस्छिन्। विभिन्न सरकारी निकायले आमालाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। उनको सम्मानमा सरकारले घर बनाइदिएको छ। राष्ट्रिय सम्मानसहित नगद तथा जिन्सी उपहार दिइएको थियो ।
बाटुलीको जन्म १९५९ चैत १० गते सिन्धुपाल्चोकको साबिक बाँसबारी गाविस–१ गिरानचौरमा भएको थियो। उनकी आमा देवीकुमारी र पिता जयनारायण तिवारी हुन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा बागमती प्रदेश सरकारबाट पुरस्कार तथा सम्मान गरिएको छ।
उनी विश्वकै ज्येष्ठ नागरिक भएको दावी गर्दै विश्व रेकर्डका लागि गिनिज बुकमा नाम लेखाइदिन संघीय, प्रदेश तथा स्थानीय सरकारको समन्वयमा प्रक्रिया सुरु गरिएको छ । महिला मन्त्रालयले गिनिज बुक अफ द वल्डमा नाम लेखाउन अभियान नै सुरु गरिएको जानकारी दिएको छ ।
ककनी गाउँपालिकाले दुई वर्षदेखि मासिक १० हजार नगद र वागमती प्रदेशका कृषि राज्यमन्त्री बद्री मैनालीले मासिक ५ हजार नगद दिँदै आएका छन् । मैनालीकै पहलमा १० लाख रुपैयाँको लागतमा बाटुलीको घर निर्माण गरिएको थियो । ’मुलुककै ज्येष्ठ नागरिकलाई सहयोग गर्नु नेपाल र नेपालीकै सम्मान हो,’ मैनालीले भने ।
जेष्ठ नागरिकको सम्मानमा आफुहरूले कुनै कसर बाँकी नराख्ने ककनी गापाका अध्यक्ष मानवहादुर लामाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया