नागढुंगा सुरुङमार्गको काम तीव्र गतिमा, दैनिक औसत १२ मिटर खनिँदै
नुवाकोट । काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा र धादिङपट्टीको नौबीसे सिस्ने खोला जोड्ने सुरुङ मार्गको काम तीव्र गतिमा अगाडि बढेको छ ।

आयोजनाका निर्देशक नरेशमान शाक्यकाअनुसार सुरुङमार्गको काम हाल १ हजार ५५२ मिटर सकिएको छ । ‘दैनिक १२ मिटरका दरले सुरुङ खन्ने काम तीव्रताका साथ अगाडि बढेको छ, हालसम्म २८ प्रतिशत सकिएको छ,’ शाक्यले भने ।
शाक्यका अनुसार सुरुङ खन्ने काम दिन र रात गरी दुई सिफ्टमा काम भइरहेको छ । निर्धारित समयमा आयोजना सम्पन्न हुनका लागि अझै ११ महिना छ । जसमा अझै ७२ प्रतिशत काम बाँकी छ ।
विश्वभरी फैलिएको कोरोना भाइरस महामारीका कारण निर्माणलगायतका विकासका गति सुस्ताएका बेलामा नागढुंगा–सिस्ने खोला खण्डको सुरुङमार्ग निर्माण काम भने चलिरहेको छ । शुरुका केही दिनमा कारोना महामारीलगायतका केही समस्याका कारण कामले गति लिन सकेको थिएन, तर अहिले त्यस्तो समस्या छैन,’ शाक्यले भने ।
नागढुङ्गा– सिस्ने खोला खण्डको सुरुङमार्ग निर्माणको काम सन् २०२० को डिसेम्बर २३ तारिखदेखि शुरु गरिएको थियो । जापान सरकारको करिब १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ गरी साढे २२ अर्ब रुपैयाँ लागत अनुमान गरी सुरुङ निर्माणको काम शुरु गरिएको थियो ।
धादिङ र काठमाडौंतर्फ पाँच–पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग निर्माण तथा उक्त क्षेत्रमा पर्ने जग्गाको मुआब्जाका लागि आवश्यक रकम सहित आयोजनाको लागत साढे २२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जापानिज कम्पनी हाज्मा आन्द्रो जेभीले करिब १३ अर्ब रुपैयाँमा आयोजना निर्माण गर्न सम्झौता गरेको हो । यस्तै नेपाल सरकारले साइट क्लियरेन्स गर्दै सुरुङमार्गका लागि आवश्यक निर्माण सामग्री झिकाउन अर्थमन्त्रालयबाट भन्सार छुटको व्यवस्था समेत मिलाएको थियो । त्यसपछि मात्र सुरुङमार्ग निर्माणको काम शुरु गरिएको हो । सुरुङमार्गको कुल लम्बाई २.६८ किलोमिटर हुनेछ । जसमा २ वटा लेन हुनेछन् ।
हालसम्मको प्रगति
आयोजना कार्यालयका अनुसार सुरुङ खन्ने काम हालसम्म १ हजार ५५२ मिटर भौतिक प्रगति भइसकेको छ । जसमध्ये काठमाडौंतर्फको मुख्य सुरुङमार्गमा २१५ मिटर र धादिङतर्फ २४१ मिटर गरी ४५६ मिटर लम्बाईको काम सम्पन्न भएको छ । त्यस्तै निकासी सुरुङमार्गमा धादिङतर्फ ५४९ मिटर र काठमाडौंतर्फ ३८२ मिटर गरी जम्मा ९३१ मिटर काम सकिएको कार्यालयको तथ्यांक छ ।
धादिङको वर्किङ अडिट क्षेत्रमा मात्र १२६ मिटर काम सम्पन्न भएको कार्यालयको भनाइ छ । काठमाडौंतर्फको क्रस प्यासेज २३ मिटर सकिएको छ भने धादिङतर्फ १५ मिटर क्रस प्यासेजको निर्माण कार्य सकिएको आयोजनाको पछिल्लो रिपोर्टमा उल्लेख छ ।
आयोजनाबाट हुने फाइदा
राजधानी काठमाडौं भित्रिने मुख्य नाकाका रुपमा रहेको नागढुंगामा लामो समयदेखि ट्राफिक जामको समस्या हटाउन सरकारले सुरुङ निर्माणको काम अगाडि बढाएको हो । सुरुङ निर्माण भएसँगै यस क्षेत्रमा हुने ट्राफिक जामको समस्या हट्ने अपेक्षा गरिएको छ । जसबाट यो मार्ग भइ राजधानी भित्रिने र बाहिरिने यात्रुले लामो समयदेखि भोग्दै आएको जामको समस्या हट्ने अपेक्षा गरिएको छ ।
सुरुङ निर्माण सञ्चलानमा आएसँगै हाल उक्त सडक खण्डको दूरी तय गर्न १ घन्टा ४० मिनेट लाग्दै आएकोमा यो घटेर १० मिनेटमा सीमित हुनेछ । साथै दुरी पनि ३ किलोमिटर छोटो हुनेछ ।
यो सुरुङमार्ग निर्माण जति महत्वपूर्ण र त्यती नै आवश्यक पनि छ । हाम्रो जस्तो पहाडी बाटोमा सडक यातायात सहज नभइरहेको समयमा सहजताका लागि सुरुङ निर्माण पहिलो विकल्प बनेको छ । यो सुरुङमार्ग निर्माण भइसकेपछि नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने विज्ञहरुको तर्क छ । यो नेपालको गाडी गुडाउन मिल्ने पहिलो सुरूङमार्ग हुनेछ ।
साथै सुरुङमार्ग आयोजनाबाट प्रविधि हस्तान्तरणको शुरुवात पनि हुनेछ । जस्ले गर्दा हाम्रै देशका इञ्जिनियरहरुले सिक्ने मौका पाउने विज्ञहरुको भनाइ छ । साथै यो सुरुङमार्ग निर्माणभएपछि अन्य संरचना निर्माणका लागि पनि सिकाइ हुने उनीहरुको बुझाइ छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि सबै खाले सवारी साधन गुड्न भने पाउने छैनन् । मोटरसाइकल, धेरै लोड बोक्ने र इन्धनका सवारी साधनले हालकै सडक प्रयोग गर्नुपर्नेछ ।
मुआब्जा अझै दिन बाँकी
आयोजना प्रभावित क्षेत्रमा भएको जग्गा प्रयोग गरे वापत जग्गाधनीलाई सरकारले अझै मुअब्जा वितरणको काम सकेको छैन । हालसम्म धादिङतर्फका जग्गाधनीले मुआब्जा पाए लपनि काठमाडौंतर्फ बलम्बु क्षेत्रका जग्गाधनीलाई भने अझै मुआब्जा वितरणको काम नसकिएको आयोजना प्रमुख शाक्यको भनाइ छ ।
‘मुआब्जा वितरणको काम निरन्तर छ, तर जग्गाधनीहरुले भने मुआब्जा वितरण नहुँदासम्म फ्लाइओभरको काम अघि बढ्न नदिने बताउँदै आएका छन् । यो समस्या छिट्टै समाधान हुन्छ,’ शाक्यले भने ।
सरकारले आवश्यक रकम उपलब्ध गराउन ढिलाइ गरेकाले मुआब्जा वितरणको काम रोकिएको उनको भनाइ छ । उनका अनुसार १२ रोपनीक्षेत्रफलका लागि करिब १ अर्ब १० करोड रुपैयाँ मुआब्जा भुक्तानी गर्न अझै बाँकी छ ।
तर यसका लागि सरकारी तवरबाट गर्नुपर्ने काम अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए । तर फ्लाइओभरको मुनीपट्टीको काम भने जारी छ । धादिङतर्फ पर्ने सुरुङमार्गको राइट अफ वेका ५ वटा घर र टहराको विषयमा अख्तियारमा मुद्दा चलिरहेको छ ।
‘मुद्दाको फैसलामा भइको ढिलाइका कारण उक्त क्षेत्रमा निर्माण हुनुपर्ने सर्भिस सेन्टर र यान्त्रिक स्टोरको काम हुन सकेको छैन,’ उनले भने ।
आयोजनाका निर्देशक शाक्यका अनुसार नेपाल आयल निगमको डिपो नजिकै, धादिङतर्फ रहेको आयोजनाको मुख्य सुरुङमार्गतर्फ फ्लाइओभरको संरचना निर्माणको काम शुरु भइसकेको छ ।
‘आयोजनाको मुख्य सुरुङमार्ग धादिङमा हुनेछ र नेपाल आयल निगमको डिपो नजिकै एउटा फ्लाइओभर निर्माण गरिनेछ । फ्लाइओभर र पहुँच सडकको निर्माणको कामले पनि चाँडै गति लिनेछ,’ शाक्यले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया