३ नम्बर प्रदेशमा बन, १५ डिभिजन र ९६ सवडिभिजन

३ नम्बर प्रदेशका १३ जिल्लामा बनका १५ वटा डिभिजन कार्यालय रहने जनाइएको छ । मकवानपुर र सिन्धुलीमा २ वटा डिभिजन कार्यालय रहने छ । अन्य जिल्लामा एउटा डिभिजन कार्यालय रहने गरी गृहकार्य अघि बढाइएको छ ।
प्रदेशमा रहने १५ डिभिजन बन कार्यालयअन्तर्गत् ९६ वटा सवडिभिजन बन कार्यालय रहने विभागले जनाएको छ । नयाँ संविधान कार्यान्वयनका क्रममा सरकारले बन व्यवस्थापनका लागि बनको संरचनालाई पुनर्संरचना गर्ने तयारी गरेको हो । अब जिल्ला बन कार्यालयलाई प्रतिस्थापित गरी सरकारले डिभिजन बन कार्यालय स्थापना गर्न लागेको छ ।
विभागले सबै जिल्ला बन कार्यालयलाई डिभिजन कार्यालयको सीमांकन, मुकाम रहने स्थान, स्थानीय तहको नाम, जनसंख्या, बन संरक्षण पद्धति, सवडिभिजन कार्यालयको नामलगायत सबै विवरण माग गरेको छ ।
७ दिनभित्र विवरण विभागमा पठाउन निर्देशन गरिएको छ । मकवानपुर बन डिभिजन कार्यालय हेटौंडा राप्ती बन डिभिजन कार्यालय मनहरी रहने छ । दुई वटा डिभिजन कार्यालयमा १६ वटा सवडिभिजन कार्यालय रहने विभागको पत्रमा उल्लेख छ ।
यी दुवै कार्यालयअन्तर्गत् रहने १६ वटा सवडिभिजन कार्यालयको नाम, स्थानीय तह, सीमांकनलगायत विषयहरु उल्लेख भएको विवरण पठाउन बन विभागले पत्राचार गरेको छ । जिल्ला बन प्रमुख प्रह्लाद धितालले विभागबाट स्पष्ट निर्देशन नआएकाले सीमांकनलगायत छलफलकै क्रममा रहेको बताउनुभयो ।
‘विभागको पत्रपछि छलफलको क्रममा छौं,’ जिल्ला बन कार्यालय मकवानपुरका प्रवक्ता विशाल भट्टराईले भन्नुभयो । मनहरी गाउँपालिकादेखि हेटौंडा हुँदै बागमती गाउँपालिकासम्मको क्षेत्र समेटेर एउटा डिभिजन निर्माण गरिने चर्चा स्थानीयस्तरमा चलेको छ ।
महाभारत क्षेत्रलाई समेटेर अर्काे डिभिजन बनाउने बहस पनि चलेको छ । यसरी सीमांकन भएमा महाभारततर्फको डिभिजन बन कार्यालय अत्यन्त दुर्गमजस्तो हुने भन्दै विरोध सुरु भएको छ । मकवानपुरमा रहेका प्रतिनिधिसभाका दुई क्षेत्रलाई डिभिजन मानेर सीमांकन गर्दा वैज्ञानिक हुने तर्क पनि छ ।
साबिक जिल्ला बन कार्यालय रहँदाका इलाका र सेक्टरहरु पनि यही अभ्यास भएको पाइन्छ । मकवानपुरमा उत्तरदेखि दक्षिणसम्म महाभारतदेखि चुरे क्षेत्र दामासाहीरुपमा विभाजन गरेमा दुवै डिभिजन बन कार्यालयहरु सशक्त हुने बताइएको छ । तर जिल्ला बन कार्यालय मकवानपुरले केकसरी सीमांकन गर्ने हो त्यो प्रतीक्षाकै विषय बनेको छ ।
मकवानपुरको कुल क्षेत्रफलको ६५ प्रतिशत भूभाग बन÷जंगलले ढाकेको छ । जिल्लाको कुल बन क्षेत्रमध्ये आधाभन्दा बढी भाग पहाडी क्षेत्रको साल बनले ओगटेको छ भने बाँकी बन क्षेत्रमा खोटे सल्ला र चौंडा पातमिश्रित बन, सालको मिश्रित बन र खस्रु र यसको मिश्रित बन छ ।
भूउपयोगको दृष्टिबाट मकवानपुरमा कुल भूभागको ५४.८१ प्रतिशत (१,३३,९८७.१८ हेक्टर) बन क्षेत्र र १०.५१ प्रतिशत (२५,६९६.८२ हेक्टर) संरक्षित क्षेत्र (राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष) समेत गरी ६५.३४ प्रतिशत (१,५९,६८३ हेक्टर) बन÷जंगलले ढाकेको क्षेत्र रहेको देखिन्छ ।
हावापानीको दृष्टिबाट जिल्ला शीतोष्ण, समशीतोष्ण र उष्ण गरी तीन भागमा पर्ने भएकाले जैविक विविधताको दृष्टिले पनि जिल्ला धनी छ ।
जिल्लाको पश्चिमी भागमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी भागमा पर्ने पर्सा बन्यजन्तु आरक्ष बन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणका दृष्टिले महत्वपूर्ण स्थलका रुपमा पर्दछन् ।
जडिबुटी उपलब्धताका दृष्टिले जिल्ला सम्पन्न रहेको मानिन्छ । जिल्लामा अवस्थित मुख्य पर्वत श्रृंखलामा चन्द्रागिरि, महाभारत र चुरे छन् ।
मकवानपुरमा ४ सय २४ सामुदायिक बन, ६ सय ९५ वटा कबुलियती बन, निजी बन २ सय २१ वटा र धार्मिक बन ५ वटा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया