मुख्यमन्त्री शाक्यका ५ चुनौती
नुवाकोट । करिब ५ दशकदेखि राजनीतिमा सक्रिय अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बन्दै संघीयता कार्यान्वयन गर्ने तहमा पुगेकी छन् ।
पार्टीभित्र स्पष्ट बहुमत रहँदा ४२ महिना ७ दिन सत्ता चलाएका डोरमणि पौडेलले बुधबार रातिबाट सत्ताको साँचो आफ्नै पार्टीकी उपाध्यक्ष शाक्यलाई जिम्मा लगाएका हुन् ।
एमाले विभाजन भई त्यसको पूर्ण असर प्रदेश तहमा पर्ने निश्चित भइसकेको कठिन अवस्थामा चुनौतीको चाङलाई अँगाल्दै शाक्यको सत्तारोहण भएको छ । एमालेभित्रको विवादको सुरुवात ४ वर्षअघि शाक्यले मुख्यमन्त्री पद दाबी गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेबाट भएको मानिन्छ । लामो समयदेखि पौडेल नेतृत्वको सरकारमाथि निरन्तर धावा बोल्दै आएकी झलनाथ खनाल–माधवकुमार नेपाल समूहको नेतृत्व गरिरहेकी शाक्य अचानक ‘यु–टर्न’ हुँदै ओली समूहकै सहयोगमा मुख्यमन्त्री बनिन् ।
मुख्यमन्त्री भएसँगै उनले आफू कुनै समूहको नेतृत्वकर्ता नभएर पार्टी एकता पक्षधर भएको बताइसकेकी छन् । ‘पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैसँग सल्लाह गरेर मुख्यमन्त्रीको पद सम्हालेको हुँ । पार्टी एकता हुनुपर्छ भनेर मैले कठिन अवस्थामा पनि नेतृत्व लिएको छु,’ उनले भनिन् । संविधानको धारा १६८ (१) अनुसार बहुमतका आधारमा मुख्यमन्त्रीमा नियुक्त भएका कारण तत्काल विश्वासको मत लिनु नपर्ने सुविधा उनीसँग छ । तर एमाले विभाजन भइसकेको छ । खनाल–नेपाल समूहको दलले आधिकारिकता पाएपछि कांग्रेस, माओवादी केन्द्र र जसपासँगको गठबन्धनले ढिलो–चाँडो उनीविरुद्ध अविश्वासको प्रस्ताव नआउला भन्न सकिन्न । यस्तोमा उनीसामु सत्ता जोगाउन २ विकल्प रहनेछन् ।
पहिलो विकल्प, एकल बहुमत रहेको एमालेका ५६ सांसदलाई आफ्नो पक्षमा मतदान गर्ने वातावरण सिर्जना गर्ने । दोस्रो विकल्प, विपक्षी दल कांग्रेस र माओवादी केन्द्रलाई आफ्नो पक्षमा लिँदै सत्ता जोगाउन माधव नेपालले गठन गरेको नयाँ पार्टीको नेतृत्व गर्ने । भलै शाक्यले आफूलाई माओवादी केन्द्र र कांग्रेसको समर्थन रहेको र विपक्षी गठबन्धनबाट अविश्वासको प्रस्ताव नआउने दाबी गरिरहेकी छन् ।
वाग्मतीमा हाल कायम १०९ सांसदमध्ये एमालेका सभामुखसहित ५६ सांसद छन् । पार्टी विभाजनअघिसम्म ओली समूहमा ३४ सांसद र खनाल–नेपाल समूहमा २२ सांसद थिए । शाक्यको सत्तारोहणसँगै उनीनिकट केही सांसदहरू रुष्ट भइसकेका छन् । ‘अहिले हामी एउटै दलभित्र छौं । त्यसकारण उहाँलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन राजी भएका हौं । प्रदेशसभामा हाम्रो दलको अस्तित्व कायम हुनेबित्तिकै केन्द्रीय निर्देशनअनुसार अगाडि बढ्छौं,’ नेता नेपालनिकट एक सांसदले भने । ती सांसदले तत्कालका लागि पौडेलभन्दा शाक्य ठीक भनेर मुख्यमन्त्री बनाउन सहमति जनाएको बताए । ‘लामो समयदेखि एउटा समूहको नेतृत्व गरिरहनुभएको छ । हामीलाई तपाईंहरूसँगै छौं भनेपछि हामीले दलको नेता र मुख्यमन्त्री बन्नुहोस् भनेका हौं । उहाँले दल रोज्नुपर्ने अवस्था आए नेता नेपालले दर्ता गर्नुभएको दल नै रोज्नुहुनेछ,’ उनले भने ।
शाक्यलाई तत्कालै अर्को चुनौती भनेको मन्त्रिपरिषद् विस्तार हो । तत्कालका लागि ओली पक्षका केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकासमन्त्रीमा दोहोर्याए पनि अरू मन्त्रीहरूको भागबन्डा मिलाउन उनलाई मुस्किल छ ।
सामाजिक विकासमन्त्रीमा उनले आफूपक्षीय नेता कृष्णप्रसाद शर्मा खनाललाई अवसर दिएकी छन् । यसअघि मन्त्रिपरिषद् विस्तार, बजेट र नीति तथा कार्यक्रममा जसरी आफूले पौडेलसँग अन्तरविरोध जनाउँदै आएकी थिइन्, त्यसैगरी पौडेलको अन्तरविरोधको सामना गर्नुपर्ने अवस्था शाक्यलाई नआउला भन्न सकिन्न ।
हुनतः नीति तथा कार्यक्रम र बजेट पारित गराएर पद छाडेका पौडेललाई त्यसको कार्यान्वयनका लागि पनि सहज वातावरण तयार गरिदिनुपर्ने नैतिक दबाब भने छ । तथापि सरकारका दैनन्दिन गतिविधिमा पूर्वमुख्यमन्त्री भएका कारण पौडेल र उनको पक्षको हस्तक्षेप आउने देखिन्छ । पौडेलले पत्रकार सम्मेलन नै गरेरै त्यसको संकेत पनि गरिसकेका छन् ।
कानुन निर्माणलाई गति दिँदै प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउनु उनको अर्को चुनौती हो । निर्धारित ९९ मध्ये ६१ कानुन प्रदेश सरकारले निर्माण गरिसकेको छ । बाँकी साझा अधिकार सूचीका कानुन निर्माणका लागि संघीय सरकारमा निर्भर रहन्छ । संघमा र प्रदेशमा भिन्न दलको नेतृत्व भएको अवस्थामा कानुन बनाउन थप समस्या हुने देखिन्छ । ‘संघ र प्रदेशमा फरक दलको नेतृत्व छ । यस्तो अवस्थामा समन्वय गर्दै अगाडि बढ्नु मेरा लागि मुख्य चुनौती हो,’ शाक्यले भनिन् ।
प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भइसके पनि यहाँ भौतिक संरचना बनिसकेका छैनन् । प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रालय, प्रदेशमातहतका कार्यालय भवनलगायत पूर्वाधार विकास गर्नु शाक्यलाई थप चुनौतीपूर्ण देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया