रसुवागढी जलविद्युत आयोजनामा चरम लापरवाही
रसुवा । विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइको अगुवाइमा बनिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही भएको छ ।
सन् २०१७ मै सकिने पर्ने आयोजनामा अहिले पनि निर्माणको काम लगभग ठप्पजस्तै छ । आयोजनाको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीको सञ्चालक समिति र व्यवस्थापनको लापरवाही र हेलचेक्र्याइँ तथा काम नगर्ने ठेकदारलाई दिइएको असाधारण छुट सुविधाका कारण आयोजनाको निर्माण सम्पन्न हुने समयतालिका अनिश्चित मात्रै बनेको छैन, आयोजनामा देखिएका सामान्य समस्या सुल्झाउन पनि व्यवस्थापनले चासो दिन छाडेको छ ।
आयोजनाका एक अधिकारीका अनुसार टेलरेस खन्ने काम करिब ९५ प्रतिशत सकिएपछि कमजोर चट्टान भेटिएको थियो, त्यसपछि निर्माण कार्यमा अहिले ज्यादै सुस्त बनेको छ । ‘विद्युत् गृहमा बाढी पसेकोले त्यहाँ जडान गरिएका उपकरणहरु डुबेका छन् भने पानी हटाउने काम पनि समयमै सुरु भएन,’ ती अधिकारी भन्छन्,’ठेकदारका दाबीहरु टुंगो लगाउन सकिएको छैन, सञ्चालक समिति र व्यवस्थापनलाई आयोजनाको निर्माणका बारेमा मतलब नै छैन ।’
आयोजना प्रमुख छवी गैरे भने पावर हाउसमा पसेको पानी निकाल्ने काम सकिन लागेको बताउँछन् । तर, माटो र बालुवा निकाल्न भने समय लाग्ने उनको भनाइ छ । चिलिमेले निर्माण गरिरहेका आयोजनाहरुमध्ये सबैभन्दा सजिलो आयोजना हो, रसुवागढी । पछिल्लोपटक गत असारमा सक्ने लक्ष्य राखिएको आयोजनाको निर्माण अहिले ठप्पप्रायः छ । आगामी पुसभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादनको नयाँ लक्ष्य राखिएको आयोजनाको काम अहिलको गतिमै भए अझै दुई वर्षमा पनि नसकिने अवस्था छ । आयोजना प्रमुख गैरे भने आगामी जेठ मसान्तसम्म काम सकिने दावी गर्छन् ।
सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत आम सर्वसाधारणलाई पनि सेयर निष्कासन गरी बनाइरहेको आयोजनाको समय बढ्दा लागत बढिरहेको छ । यसले जनताले लगानी गरेको आयोजनाको भविष्य अनिश्चियतर्फ धकेलिएको छ ।
बुधबार पदबहालीका क्रममा प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमेअन्तर्गत निर्माणाधीन २७० मेगावाटका ४ आयोजना एक वर्षभित्रमा निर्माण सम्पन्न हुने घोषणा गरेका छन् । घिसिङ चिलिमको प्रवन्ध-सञ्चालक भएकै बेला सबै आयोजनाहरुको वित्तीय व्यवस्थापन गरी ७ वर्षअघि निर्माण सुरु गरिएको थियो ।
तर, कमजोर व्यवस्थापनका कारण कुनै पनि आयोजनाहरुको निर्माण अझै सकिएको छैन । घिसिङकै कार्यकालमा पनि यि आयोजनाहरुमा ढिलाइ भइरहेको थियो ।
रसुवागढीको सञ्चालक समिति र व्यवस्थापनलाई जिम्मेवार नबनाए आयोजना घिसिङले दावी गरेजस्तो एक वर्ष नसकिने आयोजनाकै प्राविधिकहरु बताउँछन् । सिभिल तथा हाइड्रोमेकानिकल निर्माणको ठेकेदार चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्टि्रक कर्पोरेसन -सीडब्लुई) र इलेक्ट्रोमेकानिकलको ठेकदार भोइथ हाइड्रो, भारत हो ।
आयोजनाको प्रवर्द्धक कम्पनीको सञ्चालक समितिमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक माधवप्रसाद कोइराला छन् । उनी एनईए इन्जिनियरिङ कम्पनीका प्रबन्ध-सञ्चालकसमेत हुन् । कोइराला प्राधिकरणको सहायक कम्पनी चिलिमेको प्रतिनिधित्व गर्दै रसुवागढीमा गएका हुन् । आफ्नो जागिरे जीवनको लामो समय चिलिमेमा बिताएका कोइरालाले आयोजनालाई गति दिन चासो दिएका छैनन् । कम्पनीमा अरु सञ्चालकहरु प्राधिकरण र चिलिमेबाट गएका छन् ।
कम्पनीको सिईओमा विश्व मल्ल र आयोजना प्रमुखमा गैरे छन् । प्राधिकरणबाट काजमा खटिएका दुवै जना अधिकांश समयमा साइटमा नबस्दा कर्मचारीहरु नै आजित छन् । मल्ल आगामी कात्तिकमा उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् । आयोजानामा सिभिलभन्दा बढी इलेक्ट्रोमेकानिकलतर्फको काम बढी प्रभावित छ । यो आयोजनाको विद्युतीय उपकरण आपूर्ति र जडानको ठेक्का भोइथ हाइड्रोका कर्मचारी २०७६ चैत ८ मा (पहिलो लकडाउनअघि) नै भारत फर्किएका थिए । आयोजना प्रमुख गैरेका अनुसार उनीहरु अझै काममा फर्किएका छैनन् ।
लक्ष्यअनुसार काम भएको भए यो आयोजना सन् २०१७को अन्तिममा नै सकिनुपर्ने हो । तर, कहिले भूकम्प, कहिले नाकाबन्दी त कहिले बाढी-पहिरोको कारण आयोजनाको काम नभएको आयोजना प्रमेख गैरे बताउँछन् । आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलतर्फका थुप्रै काम बाँकी छन् ।
आयोजनामा करिब एक वर्षदेखि भएको प्रगति करिब एक प्रतिशत मात्रै हो । ८० प्रतिशत सकिएको भनिएको यो आयोजनामा काम लगभग ठप्प रहेकाले आगामी असारसम्ममा आयोजना सकिने अवस्था नरहेको प्राविधिकहरु नै बताउँछन् । चिलिमे अन्तरगत बनिरहेका मध्यभोटेकोशी, सान्जेन र माथिल्लो सान्जेन आयोजनाहरुमा समस्याग्रस्त अवस्थामा छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम





प्रतिक्रिया