ओलीको बहिर्गमनले मुलुकमा सिकाएको पाठ

दुई तिहाइको समर्थन प्राप्त गरी २०७३ फागुन ३ गते प्रधामनमन्त्री भएका खड्गप्रसाद ओलीको सत्ता आरोहण जति उल्लासमय थियो उनको सत्ताको अन्त्य त्यति नै निराशामय बन्यो ।
उटपट्याङ कुरो गरेर र उख्खानटुक्का भनेर उनले जग हँसाए । आफूलाई सर्वज्ञ र अरुलाई अल्पज्ञ मान्ने ओली नेपालको इतिहासमा दम्भी, हठी, असहिष्णु, प्रचार र चाकरीप्रिय तथा सामान्य राजनीतिक शिष्टतासमेत नभएका व्यक्तिका रुपमा दरिए । दुई तिहाइको प्राप्त सुविधाजनक जनताको अमूल्य मतको उनले अवमूल्यन गरे । देश, जनता, संविधान र नियम कानुनको हुर्मत लिएर उनी बालुवाटारबाट बाहिरिए । उनी र उनको पार्टीलाई प्राप्त भएको स्वर्णिम र दुर्लभ अवसर उनका लागि कमिलालाई थुकको पहिरोजस्तै भयो ।
सत्तामा रहुन्जेल ओलीले शक्ति उन्मादमा अनेक कुरुप राजनीतिक नाटक मञ्चन गरे । साढे तीनबर्से कार्यकालमा उनले १८ पटक त मन्त्रिमण्डल गठन-पुनर्गठन गरे । सम्मानित र गरिमामय राष्ट्रपति पद र संस्थाको चरम दुरुपयोग भयो उनीबाट । संसद् छलेर अध्यादेशमार्फत दुई–दुईपटक प्रतिनिधिसभा भंग गरी जनता र जनप्रतिनिधिको मानमर्दन गर्ने बहुलठ्ठी इतिहास पनि उनैले रचे । महामारीले ग्रस्त जनताका समस्या पन्छाएर असमयमा नै प्रतिनिधिसभाको चुनावका लागि तिथिमिति तोक्ने बहादुरी पनि उनैले देखाए । संसदीय सुनवाइ नगरी संवैधानिक निकायमा पदाधिकारी र राजदूतहरु नियुक्त गर्ने कार्यमा पनि उनले सबै सरकारलाई पछाडि पारे ।त्यसै गरी सांसद अपहरण गरेर कम्युनिस्ट पार्टीप्रति नागरिकको वितृष्णा बढाउन ठूलो योगदान दिए । निर्माण पूरा नहुँदै विभिन्न आयोजनाको उद्घाटन गरेर तमासा देखाए ।
मेलम्ची खानेपानीको उद्घाटन गर्दा यस राष्ट्रिय गौरवको आयोजनाका परिकल्पनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नामसमेत लिएनन् । चितवनको अयोध्यापुरी नै भगवान् रामको जन्मभूमि हो भनेर धार्मिक बखेडा झिकेका उनलाई प्रमाण दिन आग्रह गर्दा खुला सभामै ‘के म राम जन्माउने सुडेनी खोज्न जाऊँ’ भनेर बहुलठ्ठी जवाफ दिई जग हँसाए ।
उनले आफ्नै पार्टीका जिम्मेदार तथा प्रतिष्ठित पदाधिकारीहरुको उछितो काढे । बेलगाम घोडाजस्तै मैमत्त भएर उनले आफूलाई डोनाल्ड्र ट्रम्पको नेपाली अवतार साबित गरे । फ्रान्सका लुई सोेह्रौंले जस्तै आफैंलाई राज्य मान्ने कार्य पनि उनैबाट भयो । अति भएपछि खती हुने नै भयो । असार २८ गते सम्मानित सर्वोच्च अदालतबाट फैसला भएपछि ओली आफ्नै दम्भका कारण अपमामनपूर्वक गलहत्तिए । साढे तीन वर्षदेखि उनले मञ्चन गर्दै आएको कुरुप नाटकका नायक खलनायकमा परिवर्तन भए र सकिए ।खड्गप्रसाद ओलीको यो राजनीतिक अवसान उनकै दुर्बुद्धिको दुष्परिणामा थियो । सत्ताको बागडोर सम्हालेदेखि नै उनले आफूलाई हात्ती र अरुलाई कमिला देख्न थालेका थिए ।
म आफू भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भनेर डिङ हाँक्नु ओलीले आफ्नो मन्त्रिमण्डलका सदस्यहरु भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेर सिनोझैँ डुङडुङ गन्हाउँदा न उनको नाकले थाहा पायो, न आँखाले देख्यो, न कानले सुन्यो । भ्रष्टाचारको त्यो ताण्डवलाई बुझपचाएर उनी अनदेखा भइरहे । आफ्ना पार्टीका विदुरहरुलाई पाहालाई जस्तै पाखामा पछार्ने उनी शकुनीहरुलाई प्रेमपूर्वक सुमसुम्याइरहे । शासन सत्ता उनका लागि बाँदरको हातमा नरिवल भयो ।
वि.सं. २०४६ देखि २०७८ सम्मको समयावधिमा धेरै राजनीतिक परिवर्तन भए । यस समयका कुनै पनि राजनेता सुशासनका लागि खरो उत्रिन सकेनन् । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दीको बेला ओलीले जुन भूमिका निर्वाह गरेका थिए त्यसबाट नेपाली जनता उनीप्रति आशावादी थिए । २०७४ मा भएको तीनै तहको निर्वाचनमा जनताले बहुमतको सरकार बन्ने गरी ओली नेतृत्वको पार्टीलाई मतदान गरेका थिए ।
जनताकोे यो विश्वासमाथि ओलीले कुठाराघात गरे । आफ्नो नेतृत्वको पार्टीलाई क्षतविक्षत बनाए । साथै अरु पार्टीहरुलाई पनि तहसनहस पार्न उनी सफल भए । ओलीले अन्ततः देशलाई अँध्यारो भड्खालोमा हाले । अस्थिरताको बीजारोपण गरे ।भनिन्छ, बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको पनि बन्न दिँदैन । विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले मार्गप्रशस्त गर्नुपर्दथ्यो, त्यो पनि उनले गरेनन् । आफू नभए अरु कसैलाई हुँदैन भन्ने बाँदरे प्रवृत्ति ओलीमा हाबी भयो । यो ओली प्रवृत्तिलाई उनका आसेपासे, हुक्के–बैठके र शकुनी प्रवृत्तिका व्यक्तिबाहेक अरुले साथ दिने कुरै भएन । सिंगो देश, सञ्चारमाध्यम, राजनीतिक पार्टी, नागरिक समाज ओलीको यो निरंकुश र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध गोलबन्द भए, उनका हर्कतविरुद्धको मुद्दा लिएर । अन्त्यमा सर्वोच्च अदालतले ओलीको कुकर्मको विरुद्धमा निर्णय ग¥यो ।
सर्वोच्च अदालतको यो निर्णयलाई नेपालको न्यायिक इतिहासमा स्वर्ण अक्षरमा लेख्नुपर्छ । यद्यपि यस ऐतिहासिक फैसलाप्रति पनि ओलीले विष वमन गरे-गराए । उनकै प्रत्यक्ष संलग्नता र निर्देशनमा उनका आसेपासेबाट जे–जस्ता प्रतिक्रिया र क्रियाकलाप देखिएका छन्, ती सबै निकृष्ट र निन्दाजनक छन् ।
पार्टी अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्रीबाट प्रदर्शित यी हर्कतहरुले ओलीको राजनीतिक जीवनलाई झन् विद्रुप र कुरुप बनाएको छ । २०७८ असार २८ गते सर्वोच्च अदालतबाट गरिएको फैसलापछि संसद् पुनस्र्थापना भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन ३ गते विश्वासको मत पाएको सुखद अवस्था छ ।
नेपालको राजनीतिक आकाशमा मडारिएको अस्थिरता र स्वेच्छाचारिताको कालो बादल हटेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफल बनोस्, शुभकामना ! साथै, देउवा र भविष्यमा जन्मिने सबै राजनीतिक नेतृत्वलाई पनि शुभकामना ! ओलीले जस्तो भयानक भूल कसैबाट पनि नहोस्, उनको बहिर्गमन सबैका लागि गम्भीर पाठ बनोस् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया