पञ्‍चकन्या गाउँपालिकाले ल्यायो ४२ करोड ६८ लाख १६ हजारको बजेट

विदुर खबर २०७८ असार १२ गते १२:२९

घलेभन्ज्याङ । पञ्‍चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

Advertisement

गाउँसभा बैठकमा बिहीबार उपाध्यक्ष सीता खड्का पराजुलीले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल विनियोजनमध्ये चालुतर्फ २३ करोड १७ लाख ५९ हजार अर्थात ५४.२९ प्रतिशत र पुँजीगततर्फ १९ करोड ५० लाख ५७ हजार अर्थात् ४५.७१ प्रतिशतको खर्च अनुमान प्रस्तुत गरेकी हुन् । यो खर्च अनुमान गत आवको तुलनामा झन्डै १.४२ गुणाले बढी हो ।

सरकारी ससर्त वित्तीय अनुदानस्वरुप संघीय सरकारबाट प्राप्त १४ करोड ६१ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त ससर्त रकम रु. १ करोड ६८ लाख १९ हजार तथा कृषि पशु स्वास्थ्य र शिक्षातर्फका बजेट समेत चालु खर्चमा लेखाङ्कन गर्नुपर्ने प्रावधानले गर्दा चालु खर्चको अंश केही बढी देखिन गएको उपाध्यक्ष पराजुलीले प्रस्ट पारिन् ।

Advertisement

उपाध्यक्ष खड्का अनुसार आगामी आ.व. को बजेटलाई कोरोना प्रतिरोधी विकासप्रति केन्द्रित गर्ने प्रयास गरिएको छ । १५औं योजनाले परिलक्षित गरेको सुखी नेपाली समृद्ध नेपालको दीर्घकालिन सोचलाई आत्मासाथ गरी चालु योजनाका लक्ष्यहरु, उद्देश्यहरु तथा दीगो विकासको लक्ष्यहरु हासिल गरी सन् २०३० सम्ममा नेपाललाई मध्यस्तरीय आय भएको मुलुकमा स्तरोन्नती गर्ने अभियानलाई थप टेवा पुग्ने गरी गाउँपालिकाको बजेट विनियोजन गरेको उनले बताइन् ।

कृषि र जलविद्युतको विकासबाट स्वाबलम्वी अर्थतन्त्र निर्माण गर्न सक्ने हैसियत समेत गाउँपालिकाले राख्ने भन्दै यस्ता क्षेत्रहरुको प्रस्टिकरण गर्दै गाउँपालिकालाई नमुना बनाउने अभियानलाई सार्थकता प्रदान गर्ने बाटोतर्फ बजेटलाई डोर्‍याउने प्रयास गरेको उपाध्यक्षले विश्वास व्यक्त गरिन् ।

Advertisement

नयाँ बजेटले संघीयता कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुन :निर्माण, रोजगारीको अवसरमा वृद्धि, सडक निर्माण र स्तरोन्नती, गाउँपालिकाको भौतिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा लगानी, पर्यटन पुर्वाधारको विकास तथा प्रवर्द्धन, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार, कृषिको व्यावसायिकरण, आधुनीकिकरण, यान्त्रिकरण र वैज्ञानिकरण, कृषिजन्य तथा पशुजन्य उत्पादनको भण्डारण तथा वितरण सामाजिक सुरक्षाको सुनिश्चितता, कोरोना प्रतिरोधि विकासको सुररुवात जस्त प्राथमिकता निर्धारण गरेको छ ।

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा भएको गाउँसभामा विभिन्न वडाका अध्यक्षहरु, सदस्यहरु, गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, प्रशासकीय अधिकृत मंगलबहादुर विष्ट, पालिकाका अन्य कर्मचारीहरु, स्थानीय लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया