तिहारलगत्तै नागढुंगा–सिस्नेखोला सुरुङ खनिने
नुवाकोट । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम सकिनै लागेको बताएको छ ।
कोभिड–१९ का कारण लामो समयदेखि रोकिएको काम पनि पुनः सुरु भएको आयोजनाले जनाएको छ । सुरुङ खन्दा आवश्यक पर्ने सपोर्ट राख्ने काम भइरहेको आयोजना निर्देशक नरेशमान शाक्यको भनाइ छ । ‘पहिला सुरुङ खन्न आवश्यक पूर्वतयारीको काम सक्छौं,’ उनले भने, ‘तिहारलगत्तै सुरुङ खन्न थाल्छौं ।’ सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ लाग्ने अनुमान गरिएको उनले बताए । त्यसमध्ये तीन सय टन विस्फोटक पदार्थ ल्याउन आयोजनाले नेपाली सेनाबाट स्वीकृति लिइसकेको छ ।
‘पहिलो लटमा भारतबाट ६० टन विस्फोटक पदार्थ आउँदै छ,’ शाक्यले भने, ‘केही दिनभित्र नेपाल आउँछ ।’ स्वास्थ्य सावधानी अपनाएर आयोजनाका काम जारी राखिएको उनले बताए । आयोजना शिलान्यास भएको एक वर्ष भयो । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कामले त्यति गति लिन सकेको छैन । ‘कोभिड–१९ पछिको लकडाउनले आयोजनाको काममा ठूलो असर पुग्यो,’ उनले भने, ‘त्यसैले काममा सोचेअनुरूप प्रगति हुन सकेन ।’ उनका अनुसार अहिलेको सुरुङको मुख्य काम थालेपछि काममा प्रगति देखिनेछ । आयोजनामा चाहिने जापानी प्राविधिक आएका छन् । फिल्डमै उनीहरूको २० जनाको प्राविधिक टोली छ ।
‘आवश्यकताअनुसार थप प्राविधिक टोली पनि आउँछन्,’ शाक्यले भने । निर्माणस्थलमा अहिलेसम्म दुई सय कामदार छन् । यति बेला कोभिड–१९ को त्रास रहे पनि काम रोकिएको छैन । ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएरै काम गरेका छौं,’ शाक्यले भने, ‘कामदार र विज्ञ आउँदा नियमअनुसार क्वारेन्टाइनमा बसेर मात्र काममा जाने गरेका छन् ।’ उनका अनुसार निर्माणमा प्रयोग हुने ९८ प्रतिशत इक्विपमेन्ट आइसकेको छ । ‘निर्माणमा अब त्यस्तो खासै समस्या छैन,’ उनले भने, ‘थोरै धादिङतिरको जग्गामा समस्या छ, त्यो पनि तिहारपछि सल्टिनेछ ।’ मुआब्जाको काम ८५ प्रतिशत टुंगिइसकेको छ ।
‘निर्माणस्थलमा पर्ने दुई–चार वटा घर खाली नगर्दा समस्या देखिएको छ, त्यसलाई चाँडै समाधान गर्नेछौं,’ उनले भने । आयोजनाका अनुसार लकडाउनकै समयमा स्वास्थ्य सावधानी अपनाएर सुरुङसम्म पुग्ने सडक निर्माण गरियो । निर्माण कम्पनी जेठ तेस्रो साताबाट सुरुङ निर्माणको काम थाल्ने तयारीमा थियो । जेठमै सुरुङ खन्ने भनेर आयोजना निर्माण कम्पनीले योजना पेस गरेको थियो । तर विस्फोटक पदार्थ ल्याउन स्वीकृति दिन ढिलाइ गर्दा सुरुङको काम थाल्न चार महिना ढिला भएको हो । त्यस्तै समयमै साइट क्लियर गर्न नसक्दा शिलान्यास भएको वर्ष दिनसम्म पनि खासै प्रगति नदेखिएको हो ।
विस्फोटक पदार्थ, मुआब्जा र कोभिड–१९ को समस्याले गर्दा आयोजनाको काम समयमै सुरु हुन सकेन । जसले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न हुने देखिँदैन । जापानी कम्पनी हाज्मा एन्डोले आयोजना निर्माणको जिम्मा लिएको छ । प्राविधिक सबै जापानी छन् । २ दशमलव ६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग छ । निर्माण ठेक्का भने साढे २२ अर्ब रुपैयाँको छ । जसमा ६ अर्ब नेपाल सरकारको रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया