प्रहरी मुचुल्कामा हस्ताक्षर गर्न मानेनन् गणेश लामाले, यस्तो छ उनको प्रहरी रेकर्ड
काठमाडौं । गुण्डा नाइके गणेश लामाले प्रहरी मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । बुधबार राति प्रहरीले उनलाई काठमाडौंको गौशालाबाट हतियारसहित पक्राउ गरेको थियो । तर, लामाले उक्त हतियार आफ्नो नभएको बताउँदै प्रहरी मुचुल्कामा हस्ताक्षर नगरेको प्रहरी स्रोतले जनाएको छ ।
बुधबार गौशाला पिंगलास्थानस्थित पशुपति भिजन कम्प्लेक्स क्षेत्रबाट अटोमेटिक चाइनिज पेस्तोल र त्यही पेस्तोलमा लाग्ने ६ राउण्ड गोलीसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो । घटनास्थलबाट १ राउण्ड गोलीको खोका र लामाले प्रयोग गर्दै आएको ल्याण्डक्रुजर बा ३ च १७२ नम्बरको गाडी पनि बरामद भएको थियो ।
लामाले बरामद गरिएको पेस्तोल आफ्नो नभएको र आफूमाथि गोली प्रहार गर्ने व्यक्तिबाट खोसेको प्रारम्भीक बयान दिएका छन् । बिहीबार (आज) नै उनलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई हतियार तथा खरखजाना ऐन २०१९ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले बताए । लामालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
लामालार्इ अनुसन्धानका लागि १० दिन थुनामा राख्न जिल्ला अदालत काठमाडाैंले अनुमति दिएको छ ।
को हुन् गणेश लामा ?
हाल नेपाली कांग्रेसका नेतासमेत रहेका लामा पछिल्लो डेढ दशकदेखि गुण्डागर्दीमा संग्लन व्यक्ति हुन् । काभ्रेबाट काठमाडौं आएका लामाले लामो समयसम्म अर्का गुण्डा नाइके दीपक मनाङेको समूहमा रहेर काम गरेका थिए । पछि आफ्नै समूह बनाएका लामाको टोलीमा २० जनासम्म गुण्डाहरु रहेको प्रहरी स्रोत बताउँछ ।
२०६५ सालमा उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राजनीतिमा प्रवेश गरेका थिए । विभिन्न होटल, रेष्टुरेन्ट र क्रसर उद्योगमा लगानी गरेका लामा पछिल्लो एक वर्षयता गुण्डागर्दीको क्षेत्रमा चर्चामा थिएनन् । फोरम र कांग्रेसबीच पार्टी एकता भएपछि लामा २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा काभ्रेबाट चुनाव लडेका थिए । ४० वर्ष लागेका लामा काभ्रेको प्रदेशसभा २ मा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए ।
यस्तो छ प्रहरी रेकर्ड
यसअघि अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा लामा जेल परेका थिए । तर निर्वाचनमा उम्मेदवारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर छुटेका थिए । उनको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधिन अवस्थामा छ । काठमाडौं प्रहरीको रेकर्ड हेर्दा लामाविरुद्ध यसअघि ४ वटा मुद्दामा कारबाही प्रक्रिया अगाडि बढेको देखिन्छ । यस्तै, ललितपुर प्रहरीमा उनीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको देखिएको छ । तर त्यो मुद्दामा लामाले सफाइ पाइसकेका छन् ।
लामाविरुद्ध २०६६ असार १९ गते, ०६७ कात्तिक १९ गते र ०७० चैत २२ गते केही सार्वजनिक मुद्दा दर्ता भएको प्रहरी रेकर्डमा देखिन्छ भने २०६८ साउन ६ गते बैंकिङ कसुरमा मुद्दा दर्ता भएको देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया