गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा

विदुर खबर २०७६ साउन १९ गते ६:५६
फाईल फोटो

                                                                                          फाईल फोटो

रसुवा, जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा भएको छ ।

Advertisement

मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सरसफाइ र अनुगमन गरिएको छ । जनैपूर्णिमा पर्वका अवसरमा १५ हजारभन्दा बढी भक्तजनका लागि भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिएको डिएमले बताउनुभयो ।

“होटल तथा लजमा तिर्नुपर्ने शुल्क निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो । मूल्यसूची हेरेर मात्र रकम भुक्तानी गर्न भक्तजनलाई आग्रह गरिएको छ । यस वर्ष गोसाइँकुण्ड मेला साउन २६ देखि ३० गतेसम्म चल्नेछ । गोसाइँकुण्डमा स्नान गर्दा सबै पापबाट मुक्त भइने जनविश्वास छ । गोसाइँकुण्ड जाने भक्तजनको आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । सो अवसरमा नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ ।

Advertisement

काठमाडौँदेखि धुञ्चेसम्म आठ घण्टामा मोटर र त्यसपछि पैदल शुरु हुने धार्मिक पदयात्राका क्रममा त्रिशूली नदी, चन्दनबारी आधार इलाकामा भेटिने चौँरीगाई र लौरीविनायक टापुबाट देखिने अल्का हिमालले यात्रुलाई थप मनमोहक बनाउने छ । पवित्र तीर्थमा स्नान गर्दा जोश जागरको अनुभूति हुन्छ । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायकभएर पुग्न सकिन्छ । गोसाइँकुण्ड बौद्ध तथा हिन्दू धर्मावलम्बीको साझा धार्मिक थलो हो । सो पर्वका अवसरमा त्यहाँ पुग्ने भक्तजनले आफ्ना दिवङ्गत पितृको सम्झना गर्दै श्राद्ध एवं तर्पण गर्नाले पितृ स्वर्गमा पुग्ने विश्वास रहिआएको छ ।

प्रतिक्रिया