बजेट पारदर्शी तरिकाले खर्च गरेका छौं : वस्ती

विदुर खबर २०७६ असार २८ गते ८:११

  रमेशबहादुर वस्ती, अध्यक्ष, तारकेश्वर गाउँपालिका, नुवाकोट

तारकेश्वर गाउँपालिका प्रचुर पर्यटकीय सम्भावना बोकेको सुन्दर गाउँपालिका हो । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्न प्रयोग गरेको ढिकी, जाँतो, चुली तथा गोरु जुधाउने पर्व आदिका कारण प्रचुर पर्यटकीय सम्भावना बोकेको यस पालिकाको समग्र विकासका लागि अध्यक्ष रमेशबहादुर वस्ती दत्तचित्त भएर लागेका छन् । युवालक्षित कृषिको व्यवसायीकरणलाई प्राथमिकता दिएर विकासका काममा अघि बढेका अध्यक्ष वस्तीसँग समग्र विकास योजना, भावी कार्यक्रम, चुनौतीलगायतका विषयमा केन्द्रित रही गरेको कुराकानीको सम्पादित अंश :

Advertisement

तपाईंको गाउँपालिकाले गरेका मुख्य काम के  कस्ता छन् ?

हामी पूर्वाधार निर्माणमा अगाडि बढेका छौं । गाउँपालिकाबाट प्रत्येक वडा कार्यालयसम्म जान बाटो नभएकोले बाटो बनाएका छौं । प्रायः सबै वडामा पिउने पानीको समस्या थियो । हामीले करिब करिब यसको समाधान गरेका छौं । शिक्षामा सुधारका निम्ति सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई तालिमको व्यवस्था गरेका छौं । शिक्षक नियमित कक्षाकोठामा उपस्थित हुँदैनथे । त्यसका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेका छौं । हाम्रो गाउँपालिमा सुक्खा क्षेत्र बढी छ त्यसैले गाउँपालिकामा सिँचाइको व्यवस्थापनका लागि आवश्यक गृहकार्य अघि बढाएका छौं ।
कृषिको व्यवसायीकरण र आत्मनिर्भर बन्न प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रममार्फत हाते ट्याक्टर, मकै छोडाउने, अन्न पिस्नेलगायत औजारको व्यवस्था गरेका छौं । महिला, दलित, पिछडिएका क्षेत्र र जनजाति वर्गको उत्थानका लागि हामीले विभिन्न सीपमूलक तालिमको व्यवस्था गरेका छौं । सिलाइबुनाइ, ढाका बुनाइ, गलैंचा बुनाइजस्ता कार्यक्रम सञ्चालन गरेका छौं । छात्राका लागि सेनेटरी प्याडको व्यवस्था गरेका छौं । आर्थिक अवस्था कमजोर भएका समुदायको आर्थिक अवस्था उकास्न विभिन्न करेसाबारीको अवधारणाअनुसार उनीहरूलाई त्यसमा लगाउने नीति लिएका छौं । किसानका लागि समयमै मल बीउको व्यवस्था गरेका छौं । त्यस्तै, वृक्षरोपण कार्यक्रम पनि हामीले सञ्चालन गरेका छौं । युवा पुस्तालाई विपद् व्यवस्थापनबाट कसरी बचाउन सकिन्छ भनेर हामीले विभिन्न तालिमको व्यवस्था गरेका छौं । हाम्रो गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पशु स्वास्थ्यलाई ध्यान दिँदै नियमित र निःशुल्क परीक्षण गरेका छौं । विदेशबाट फर्किएका युवालाई अभिप्रेरित गर्ने किसिमले बाँझो रहेका जमिनकै संरक्षण हुने र उत्पादनमूलक क्षेत्रलाई बढाउने किसिमले गाउँपालिकाले सहयोग गर्ने नीतिसमेत लिएको छ ।

Advertisement

बजेट कार्यान्वयन र पारदर्शिताको अवस्था  कस्तो छ ?

बजेट कार्यान्वयनको विषयमा कुरा गर्दा हामीले अहिले ७० प्रतिशतभन्दा बढी बजेट कार्यान्वयन गरिसकेका छौं । अहिले केही विषयले समस्या पारेको हुनाले बजेट कार्यान्वयन गर्न थोरै समस्या परेको छ । कर्मचारीको समस्याका कारण बजेट कार्यान्वयनमा समस्या छ । केन्द्र र प्रदेश सरकारबाट ससर्त रकम ढिलो आएका कारण कार्यान्वयनमा समस्या देखिएको छ । अन्य गाउँपालिकामा बजेट अपारदर्शी भएन भन्ने विषय सुनिने गरेको छ । तर, हामीले बजेट पारदर्शी तरिकाले खर्च गरेका छौं । गाउँका सम्बन्धित व्यक्तिलाई राखेर खर्च पारदर्शी बनाउने गरेका छौं ।

Advertisement

चुनावको बेलामा गर्नुभएको वाचा पूरा  गर्नुभएको छ ?

यस गाउँपालिका जनतामा आकांक्षा बढी छन् । यसका बाबजुद पनि हामीले आफ्नो साधन स्रोतले पुगेसम्म काम गरिरहेका छौं । केही काम पूरा भइसकेका छन् भने केही बाँकी छन् । यसलाई हाम्रो कार्यकालसम्म पूरा गर्न प्रतिबद्ध भएर लागिरहेका छांै ।

केन्द्र र प्रदेश सरकारबाट कस्तो सहयोग प्राप्त भइरहेको छ ?

केन्द्र र प्रदेश सरकारबाट अपेक्षा गरेअनुसार सहयोग प्राप्त भएको छैन । केन्द्र सरकारले पठाउनुपर्ने कर्मचारी नपठाएबाट पनि प्रस्ट हुन्छ, सम्बन्ध उपयुक्त छैन । केन्द्र, प्रदेश र स्थानीय तहको सम्बन्धको विषय सुमधुर हुनुपर्छ । यसमा तीनै तहको सम्बन्ध उत्कृष्ट हुनुपर्छ ।

 

कर्मचारी अभाव कारण 
केही समस्या छ

कृषिको व्यवसायीकरणमा जोड 
दिएका छौं

जनताका गुनासो सम्बोधन 
गरेका छौं

आन्तरिक तथा बाह्य पर्यटन 
भिœयाउने प्रयास थालेका छौं

 

तपाईंहरूको आम्दानीको स्रोत कस्ता छन् ?

हाम्रो मुख्य आम्दानीको स्रोत भनेको घरजग्गा कर र मालपोत कर हुन् । यसबाहेक पनि व्यावसायिक कर, नदीजन्य कर पनि मुख्य छन् । गाउँपालिकाभित्र पर्ने सहरमा नक्सापासबाट पनि कर असुल्ने योजना बनाएका छौं । गाउँपालिकाभित्र रहेका पसल तथा उद्योगलाई पनि करको दायरामा ल्याउन हामी प्रयत्नशील छौं ।

गाउँपालिकामा पर्यटन विकासको सम्भावना कस्तो छ ?

हाम्रो गाउँपालिकामा पर्यटन विकासको सम्भावना छ । पृथ्वीनारायण शाहको पालामा आएर बसोबास गरेका ढिकी जाँतो चुली भन्ने ठाउँमा पर्यटन विकासको सम्भावना भएको हुनाले त्यसलाई विकास र विस्तार गर्न हामी अगाडि बढिरहेका छौं ।
यहाँ आन्तरिक र बाह्य पर्यटन भिœयाउन सक्ने गरी हामीले काम अगाडि बढाएका छौं । यसमा हामीले नीति नै बनाएर काम अगाडि बढाएका छौं । हाम्रो गाउँपालिकाभित्र धेरै अघिदेखि चल्दै आएको गोरु जुधाइ प्रथालाई हामीले व्यवस्थित गर्दै देश तथा विदेशमा प्रचारप्रसार गर्दै त्यसलाई पनि पर्यटनको मनोरञ्जनसँग जोड्न खोजेका छौं । त्यहाँ हामीले होमस्टेको कार्यक्रम पनि अगाडि बढाइरहेका छौं ।

नागरिक गाउँपालिकासँग कतिको खुसी छन् ?

तपाईंहरू जस्तै पत्रकार, नागरिक समाज, राजनीतिक दल, बुद्धिजीवीसँग र साधारण जनसमुदायसँग यहाँका नागरिकले गुनासो नगरेको हुनाले हाम्रो नागरिक हाम्रो शासनसँग खुसी छन् भन्ने मलाई विश्वास छ ।

तपाईंको गाउँपालिकामा बसाइँ सराइको अवस्था कस्तो छ ?
हाम्रो गाउँपालिकामा बसाइँ सरेर जानेको संख्या छैन । मलाई हाम्रो गाउँपालिका भनेको सहरी क्षेत्र जस्तै भएको हुनाले पनि यस्तो समस्या नआएको जस्तो लाग्छ ।

तपाईंहरूसँग युवालाई विदेश पलायनबाट रोक्ने योजना कस्तो छ ?

विदेश गएका र फर्किएका युवालाई लक्षित गर्दै हामीले कृषिलाई व्यवसायीकरण गर्न उनीहरूलाई केही रकम हाल्न लगाउने र हामीले पनि केही हालेर व्यावसायिक कृषिमा केन्द्रित बनाउने नीति लिएका छौं ।

जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध कस्तो छ ?

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध नङ र मासुको जस्तो छ । हामी काम गर्दा दुवै मिलेर गर्छौं । अहिलेसम्म हामीमा कुनै विवाद आएको छैन । तर, कर्मचारी अभाव भएका कारण केही समस्या भने छ । १८ जना सरकारी कर्मचारीको दरबन्दीमा अहिले ८ जना मात्र छन् ।

राजधानी दैनिक

प्रतिक्रिया