साडीमा खुलेको करिश्माको सुन्दरता

विदुर खबर २०७६ असार १८ गते २:४०
नुवाकोट असार १८, एक जमाना नेपाली फिल्मकी निर्विकल्प अभिनेत्री हुन्, करिश्मा मानन्धर ।
आफ्नो युगमा एकसेएक सम्झनलायक र सुपरहिट फिल्म दिएकी उनले फिल्म ‘साथी’ मा अभिनेता राजेश हमाललाई अग्रेजीमा ‘आई लभ यू’ बोल्न सिकाएको दृश्य दर्शकको दिमागबाट कहिल्यै हट्न सकेको छैन ।
तर, केही वर्षयता उनी काँचको पर्दाबाट टाढा छिन् । उनी अभिनीत फिल्म हेर्न नपाएको दर्शकले वर्षौ भइसकेको छ ।
उनले करीब ५ वर्ष अगाडि अभिनय गरेको फिल्म ‘हिरोज्’ गत वर्ष प्रदर्शनमा आएको थियो । तर, फिल्मले हलमा पानी भन्न पाएन । उनले केही वर्ष अगाडि फिल्म ‘फागु’ नामक फिल्म पनि बनाएका थिइन् । यो फिल्मको असफलतापछि उनले नयाँ फिल्म निर्माण गर्ने हिम्मत जुटाउन सकेकी छैनन् । न त अफर आएका फिल्म नै गरेकी छन् । आमाको रोल मात्र अफर आउन थालेपछि उनी अभिनयबाट टाढा भएको बताइन्छ ।
अहिले करिश्माले ठुम्का लगाएको फिल्म ‘जात्रै जात्रा’ हलमा प्रदर्शनरत छ । अभिनयबाट दूरी बनाएपछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमार्फत् सक्रिय राजनीतिमा आएकी थिइन् । तर, बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरिन् । चाँडै उनी नयाँ राजनीतिक दलमा आबद्ध हुने सोचमा छिन् । उनले नेकपा प्रवेश गर्ने चर्चा छ ।
नयाँ शक्ति पार्टीमा प्रवेश गरेपछि उनले कक्षा ८ बाट अध्ययन समेत सुरु गरेकी थिइन् । हालै उनी एसइइमा ‘बी प्लस’ ल्याएर उत्रिर्ण भइन् । सदाबहार अभिनेत्रीको उपाधि पाएकी करिश्मा अब प्लस टु म्यानेजमेन्ट विषय लिएर पढ्ने सोचमा छिन् । एसइइमा उत्रिर्ण भएपछि राजधानीका विभिन्न महँगा प्राइभेट कलेजले अध्ययनका लागि अफर गरे पनि उनले आफ्नो घर नजिकै रहेको सरकारी विद्यालय पढ्ने निर्णय लिएकी छन् ।
सरकारी विद्यालयमा पढाई राम्रो हुँदैन र गरिब परिवारका सन्तान मात्र पढ्छन् भन्ने सोचाईलाई उनी गलत साबित गर्न चाहन्छिन् । उनको यस निर्णयको सबैले प्रशंसा गरेका छन् । एसइइमा उत्रिर्ण भएपछि निकै खुसी भएकी करिश्माले गएको शनिबार एक तिज गीतमा नृत्य गरिन् । हातभरी हरियो चुरा, हरियो पोतेमा छड्के तिलहरी, रातो चोली र पहेँलो रंगमा रातो गुलाबको बुटटा भएको साडीमा उनले छमछमी कम्मर मर्काइन् ।
साभार फिल्मी खबर डटकम

प्रतिक्रिया