फुल व्यवसायले चिनिँदै नुवाकोटको पन्चकन्याँ गाउँपालिका

विदुर खबर २०७६ असार १५ गते ४:०८

नुवाकोट असार १५, पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे। त्यसलाई बजार व्यवस्थापन गर्न समस्या भएपछि उनी २०७१ देखि फूल खेतीलाई निरन्तरता दिइरहेका छन्। लगानी र परिश्रम कम भए पनि उत्पादन बढी भएर फूल खेतीले आकर्षित गरेको लामिछानेले बताए। ‘तरकारी उत्पादन ग-यो बजारकै समस्या। कति कुहिएर जाने, भनेको मूल्य कहिल्यै नपाइने,’ उनले भने, ‘फूल खेतीबाट घाटा बेहोर्नु परेको छैन। धानले दिने उत्पादनलाई जितिरहेको छ।’

Advertisement

बजार राम्रोसँग बुझिनसक्दा  लामिछानेले परीक्षणका लागि चार आना जग्गामा सयपत्री फूल लगाउँदा खर्च कटाएर ११ हजार रुपैयाँ नाफा कमाए। अर्को वर्ष त्यति नै जग्गामा फूल लगाउँदा १८ हजार रुपैयाँ जोगाए। अहिले दुई रोपनी जमिनबाट फूल उत्पादन गर्दा बजारको समस्या खासै नरहेको उनले बताए। ‘एक रोपनी जग्गामा १४ सय फूलको बिरुवा लाग्छ। १२ सयजति बेचेर उत्पादन दिन्छ। एउटा माला बनाउन ४० थुंगाले पुग्छ। प्रतिमाला ५० रुपैयाँसम्म बिक्री भइरहेको छ,’ उनले भने, ‘विदेशी फूलको मालासँग प्रतिस्पर्धा गरेर व्यवसायलाई अघि बढाइरहेको छु।’

 

Advertisement

पुष्प व्यवसाय

नेपालमा फूलको मौसमको रुपमा तिहार पर्वको समयलाई लिने गरिन्छ। अन्य मौसममा फूलको माला देख्न मुस्किल नै हुन्थ्यो तर, अहिले कुनै सभासमारोह भयो भने अतिथि सत्कारका लागि  फूलको मालाको प्रयोग बढी देख्न सकिन्छ। स्थानीय स्तरमा नै मालाको माग बढी हुने गरेको लामिछानेले बताए। ‘फूल व्यवसाय प्रवद्र्धन गर्न स्थानीय सरकारले बजार खोजिरहेको छ। कुनै कार्यक्रम हुँदैछ भने गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुखलगायतले यहाँ उत्पादन भइरहेको फूलको कुरा गर्नुहुँदो रहेछ। यसले स्थानीय स्तरमा मालाको माग बढेको छ,’ उनले भने, ‘माला बनाउन परिवारले भ्याएन भने प्रतिगोटा मालाको पाँच रुपैयाँ दिएर खेतला लगाउछौं। सम्बन्धित ठाउँमा आफैं पु-याउँछु। बिचौलियाको भर पर्नु परेको छैन।’

Advertisement

बानियाँटारमा उत्पादन भएको माला नुवाकोटको सबै स्थानीय तहसहित धादिङ र रसुवासम्म मात्र नभई अर्घाखाचीसम्म पुगिसकेको छ। स्थानीय जातको फूलबाट उत्पादन कम हुने भएर दार्जलिङबाट फूलको बिउ प्रतिकिलो २५ हजार रुपैयाँमा लामिछानेले ल्याउने गरेका छन्। बिउ उमारेर प्रतिगोटा चार रुपैयाँका दरले फूल खेती गर्न इच्छुकलाई प्रदान गरिरहेको उनले बताए। यो वर्ष त्यस भेगमा सात रोपनी जग्गामा फूल खेती भइरहेको छ। पुष्प व्यवसायीको समिति नै बनाएर अर्को वर्ष १४ रोपनी जमिनमा फूल खेती गर्ने योजना रहेको लामिछानेले बताए।

(श्रोत =नागरिक दैनिक)

प्रतिक्रिया