विदुर खानेपानी समितिमा कसको पल्ला भारी ?यस्तो चुनावी आँकलन

विदुर खबर २०७६ जेठ १६ गते १५:२४

नुवाकोट जेठ १६, शनिवार हुने विदुर उपभोत्ता खानेपानी सरसफाई समितिको निर्वाचनमा कसको पल्ला भारी हुन्छ भन्ने प्रश्नले अहिले नुवाकोटको सदरमुकाम विदुर आसपास धेरै तातेको छ ।

Advertisement

अध्यक्षको प्रत्यासीको रुपमा वर्तमान अध्यक्ष नारायण खनाल, निर्वतमान अध्यक्ष राजेन्द्र अर्याल र वर्तमान उपाध्यक्ष हरिशरण गजुरेलले मनोनय दर्ता गरेसँगै बजार आसपासको गल्ली र चिया पसलमा कसको पल्ला भारी हुन्छ भन्ने कुरा हुन थालेको छ । बुधबार मनोनय दर्तासँगै उम्मेदवारहरु बिहिबार विहानैदेखि उपभोक्ताको घरघरमा भोट माग्न व्यस्त भएका छन । तिनै अध्यक्षका प्रत्यासीले भोट माग्ने क्रममा उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाएको दाबी गरेका छन । अध्यक्षका खनाललाई नेकपा र अर्याललाई नेपाली कांग्रेसको सर्मथन छ । उनीहरु पार्टीका आधिकारीक उम्मेदवार हुन । गजुरेल भने वर्तमान कार्यसमतिका उपाध्यक्ष तथा आम उपभोत्ताको सहयोग र सर्मथनमा अध्यक्षको प्रत्याशीको रुपमा मैदानका उत्रिएका छन ।
यो निर्वाचनमा नेकपालाई गजुरेलको उम्मेदवारी टाउको दुखाईको विषय बनेको छ । किनकी उनी एक त युवा, दोस्रो पिपलटार क्षेत्रको स्थानियबासी र तेस्रो गत निर्वाचनमा सबैभन्दा बढी भोट पाएको हुनाले नेकपाका उम्मेदवार खनाललाई उनले अफठ्यारोमा पार्ने निश्चित छ । खनालको भोट गजुरेलले काट्दा कांग्रेसका उम्मेदवार अर्याल सहज अवस्थामा हुनेछन । उद्योग वाणिन्ज संघको निर्वाचनमा नेकपाका सबै उम्मेदवारलाई बढारेको कांग्रेसका नेताहरु पुन खानेपानीको निर्वाचनको प्रचारप्रसारको लागि मैदानमा उत्रिँदा नेकपाको होस पुन गुमेको छ । विगतमा आफै भित्र रहेको कलहको शिकार भएको कांग्रेस केही होसमा आएको भए कांग्रेसले पुन खानेपानी अड्डामा नेकपाका उम्मेदवार खनाल प्यानललाई बर्ढार्ने निश्चित छ ।
पानी कम,हिलो र हावा बढि दिने गरेको विदुर खानेपानी उपभोक्ता समितिको वर्तमान नेतृत्वले पुन नेतृत्वमा स्थापित हुन चुनाव लक्षित विकास निर्माणको कामलाई तिव्र पारेको आरोप लाग्ने गरेको छ । समितिको वर्तमान कार्यसमितिको सो प्रवृतिप्रति आम सर्वसधाराणले रुचाएका छैनन । तर पनि आफु र आफ्नो पार्टीको नेतृत्वलाई पुन निर्वाचित गरेमा अहिले भएका विकास योजनाहरुलाई पुर्ण रुप दिने विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष नारायण खनालले बताए । उनले आफ्नो कार्यकालमा विकास निर्माण धेरै प्रगति भएपनि सडक आयोजनाले गर्दा केही समय धारामा पानी नआउँदा समस्या भएको बताए । उनले आफ्नो नेतृत्वको टिमलाई पुन निर्वा्चित गराएमा ७ महिनाभित्र नगरपालिकको प्रत्येक घरमा पानी ल्याउने प्रतिवद्धता जाहेर गरे ।

विदुर नगरपालिका रहेका १७ सय ९४ उपभोत्ताले भोट दिने यो निर्वाचनलाई नगरपालिकाको मिनि चुनावको रुपमा हेरिएको छ । यस निर्वाचनमा जितेमा भावी मेयर हुने समेत संभावना रहेकोले दुबै पार्टीले यस निर्वाचनलाई विशेष महत्वले हेरेका छन । नुवाकोट उद्योग वाणिज्य संघमा एकलौटी जित हात पारेको काग्रेस खानेपानी समितिमा पनि त्यस्तै जितको खोजीमा हुनेछ । स्थानिय चुनावमा नमिठो पराजय भोगेको कांग्रेसले यसलाई मलम लगाउने औषधीको रुपमा प्रयोग गर्न चाहेको छ । यता स्थानिय,प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भारी अन्तरले जितेको नेकपालाई नुवाकोट उद्योग वाणिज्य संघको चुनावले नराम्रो झड्का दिएकोले नेकपाले खानेपानीको चुनावको सो हार देख्न नचाहाने प्रष्ट छ । चुनावस् आँकडा नियाल्दा कांग्रेसका उम्मेदवार अर्याल सुविधाजन अवस्थामा देखिएका छन भने हरिशरणलाई युवाहरुले विश्वास गरि मत दिन सक्नेछन । पढेका र काम गर्न सक्ने व्यक्ति भएकोले उनी सबैको रोजाईमा पर्न सक्छन । तर नेकपाका उम्मेदवार खनाल भने गजुरेलको उम्मेदवारीले चेपुवामा पर्ने निश्चित छ ।

Advertisement

प्रतिक्रिया