जिम्वाबेविरुद्ध नेपालः ब्रेन्डेन टेलर भर्सेस नेपाली स्पिनर
१९ फागुन, काठमाडौं । आगामी केही दिन नेपाली क्रिकेटका लागि अत्याधिक महत्वपूर्ण हुनेछन् । राम्रो खेले वान डे स्टाटस पाउनेदेखि विश्वकप खेल्नेसम्मका सम्भावना छन्, अन्यथा अर्को एउटा सुवर्ण अवसर खेर जानेछ ।
नेपालले विश्वकप छनोट चार वर्षअघि पनि खेलेको हो । त्यसैले यहाँ पुग्नु नै नयाँ इतिहास होइन । तर, सुपर सिक्समा पुगेर नयाँ इचिहास रच्ने अवसर छ । तर, यसका लागि नेपालले आफ्नो उच्चतम क्षमतामा प्रदर्शन गर्नैपर्छ ।
नेपालले पहिलो खेल भोलि टेस्ट मान्यताप्राप्त तथा लगातार पछिल्ला ९ विश्वकपमा सहभागीता जनाएको जिम्बाब्वेविरुद्ध उसकै भूमिमा खेल्दैछ ।
कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी-२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो ।
भोलिको खेलले नेपालको दिशा निर्धारण गर्न सक्छ । जिम्बाबेलाई स्तब्ध तुल्याउन सके नेपालसँग अरु राष्ट्रहरु तर्सिनेछन् । नतिजा जिम्बाब्वेको पक्षमा गए नेपालको यात्रा कठिन हुनेछ ।
नेपाली टिमको उच्च मनोबल
डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ ।
डिभिजन-२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ ।
फाइनलमा नेपाल यूएईसँग पराजित भयो । तर, त्यसमा पनि नेपालले सजिलै हार मानेको थिएन । यूएईले दिएको कठिन लक्ष्यमा नेपाल ७ रन मात्रले चुकेको थियो ।
त्यही यूएईलाई तीन दिन अगाडिको अभ्यास खेलमा नेपालले मिठो जवाफ फर्कायो । २९ ओभरमा घटाइएको खेलमा नेपालले ५ विकेट र चार बल बाँकी रहँदा लक्ष्य पुरा गरेको थियो । नेपालले दोस्रो अभ्यास म्याच पनि खेल्न पाएको भए अझ राम्रो हुन्थ्यो तर, हङकङविरुद्धको म्याच ‘वासआउट’ भयो ।
नजर नेपालको ब्याटिङमा
नेपाली ब्याटिङमा सिनियर र जुनियर ब्याट्सम्यानहरुको गजब संयोजन छ । त्यसो त प्रतियोगितामा सबैभन्दा भविश्यवाणी गर्न नसकिने ब्याटिङ लाइनअप नेपालकै देखिन्छ ।
टिममा पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लको खेलाडीहरुको त्रिशक्ति छ । उनीहरुमध्ये भरलाग्दा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको पछिल्लो खराब र्फम नेपालका लागि चिन्ताको विषय बनेको छ । नेपाली ब्याटिङका एक खम्बा मानिएका उनले राम्रो सुरुवात दिलाउन नसके नेपाली टिम चाँडै दवावमा पर्नेछ । त्यसैले उनी र्फममा फर्किनु नेपालका लागि अति महत्वपूर्ण हुन्छ ।
अर्कोतर्फ कप्तान पारस खड्का लयमा छन् । उनी डिभिजन २ प्रतियोगिताभरी सबैभन्दा बढि रन बटुल्ने र सबैभन्दा बढि छक्का हान्ने ब्याट्सम्यान थिए । फाइनलमा यूएईविरुद्ध उनले उत्कृष्ट शतक हानेका थिए, तर त्यो नेपाललाई जिताउन पर्याप्त भएन ।
अर्का अनुभवी ब्याट्सम्यान शरद भेषवाकर पछिल्लो केही समययता स्थिर प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा उनी वरिपरी युवा खेलाडीहरु छन् । त्यसैले उनले सम्हालिएर ब्याटिङ गर्दै युवा ब्याट्सम्यानहरुलाई आफ्नो सट खेल्न चान्स दिनुपर्नेछ ।
दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, दिलिप नाथ जस्ता युवा खेलाडीहरु छन् । उनीहरुमध्ये दिपेन्द्र सिंह ऐरीबाट नेपालले ठूलो आशा लिएको छ । डिभिजन २ प्रतियोगितामा उनी खासै लयमा देखिएनन् । तर, यूएईविरुद्धको अभ्यास म्याचमा ४१ रन हानेर उनले आफ्नो र्फम फर्काउन खोजेका छन् ।
तल्लो मध्यक्रममा ब्याटिङ गर्ने आरिफ र रोहित पौडेलले डिभिजन २ प्रतियोगितामा नेपाललाई ठूलो शक्ति प्रदान गरेका थिए । नेपाल उनीहरुको यही र्फमको निरन्तरता चाहन्छ । १५ वषिर्य रोहितले गजबको परिपक्वता देखाएका छन् र उनलाई भविष्यका ब्याटिङ स्टारका रुपमा हेर्न थालिएको छ ।
नेपाली टिम सम्भावित ओपनिङ ब्याट्सम्यान दिलिप नाथले आक्कलझुक्कल आफ्नो क्षमता देखाए पनि आफूलाई प्रमाणित गर्न अझै सकेका छैनन् । तर विकेटकिपर पनि भएको हिसाबले नेपालसामु उनीबाट ओपनिङ गराउनुको विकल्प छैन ।
चिन्ता फास्ट बलिङको
नेपाली टिमको सबैभन्दा कमजोर कडी यतिबेला देखिएको छ फास्ट बलिङ । डिभिजन २ मा सोमपाल कामी र करण केसीलाई नेपालले स्ट्राइकिङ फास्ट बलरका रुपमा उतारेको थियो ।
तर, उनीहरुमध्ये करण केसीको बलिङ पुरै फ्लप रह्यो । उनले न विकेट लिन सके, न रन रोक्न । बरु ब्याटिङको बलमा उनले क्यानाविरुद्धको निर्णायक म्याच जिताए । तर, ब्याटिङको प्लस प्वाइन्टले गर्दा मात्रै नेपालले उनलाई टिममा राख्छ कि ललित भण्डारीको बारेमा सोच्छ, हेर्न भोली नै थाहा हुनेछ ।
अर्का फास्ट बलर सोमपाल कामीमा विकेट लिने क्षमता भए पनि उनको प्रदर्शनमा एकरुपता देखिएको छैन । कतिपय अवस्थामा उनी निकै खर्चिला सावित हुन सक्छन् र नेपाललाई चाहिएको बेला उनीबाट विकेट ननिस्कन सक्छ ।
नेपालका तेस्रो फास्ट बलरको रुपमा कप्तान पारस खड्काले खेल्ने छन् । तर ब्याटिङमा जस्तो बलिङमा उनको भर गर्न सकिँदैन । यद्यपि उनी प्राय किफायति रहन्छन् ।
स्पिनरमाथि भरयो प्रतियोगितामा नेपालले सोचेजस्तो नतिजा निकाल्नका लागि नेपालको सबैभन्दा ठुलो हतियार भनेको स्पिन बलिङ नै हो । त्यसो त जिम्वाबेको पिच सामान्यतया फास्ट बलिङ फ्रेन्ड्ली हुन्छ । तर, आईसीसीका अनुसार यो प्रतियोगितामा ‘स्पिन’ ठूलो फ्याक्टर हुन सक्छ ।
नेपालका बसन्त रेग्मी र सन्दिप लामिछाने प्रतियोगिताकै सम्भावित उत्कृष्ट स्पिन जोडी हुन् । सन्दिपको विषयमा धेरै भन्नै पर्दैन, जसले पछिल्लो समय आइपीएल र क्यारेबियन लीगमा समेत स्थान बनाएर विश्व क्रिकेटको ध्यानआकृष्ट गरेका छन् । अर्कोतर्फ बसन्त अनुभव र क्षमताका खानी हुन् । जस्तोसुकै पिचमा पनि यी दुईविरुद्ध विपक्षी ब्याट्सम्यानहरुले खुलेर खेल्न कठिन हुनेछ ।
नेपालसँग अनुभवि स्पिनर शक्ति गौचन पनि छन् । तर उनले डिभिजन २ प्रतियोगितामा एउटा म्याच पनि पाएनन् । यस प्रतियोगितामा पीचको अवस्था हेरेर तीन जना स्पिनर खेलाइए उनले मौका पाउन सक्छन्, अन्यथा बेन्चमै बसेर रमाउनुपर्नेछ । चौंथो स्पिनरका रुपमा लिइएका ललित राजभण्डारीले मौका पाउन झन् कठिन छ ।
जिम्बाब्वे कति बलियो ?
जिम्बाबेको कुरा गर्दा विश्व क्रिकेटको एउटा शक्ति राष्ट्र नै थियो, जसले पछिल्लो समय आफ्नो पुरानो साख बचाउन सकेको छैन । एक दिवसीय मान्यता प्राप्त १२ राष्ट्रहरुको सूचीमा अहिले यो ११ स्थानमा छ । जिम्बाबेभन्दा पछाडि आयरल्यान्ड मात्र छ ।
हालै मात्र यूएईमा अफगानिस्तानविरुद्ध खेलेको ५ म्याचको श्रृंखला जिम्बाव्वेले १-४ ले सुम्पेको थियो । शारजहाँमा भएको अन्तिम खेलमा जिम्बाबे ३३ ओभरभित्र ९५ रनमा अलआउट भएको थियो ।
जिम्बाब्वेको ब्याटिङका प्रमुख हतियार मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन टेलर हुन् । उनी वर्ल्ड क्लास ब्याट्सम्यान मानिन्छन् । उनले विश्वका शक्तिशाली टिमहरुविरुद्ध पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् ।
टेलर केही समय टिमबाट बाहिर थिए तर, पुनरागमनपछि उनले राम्रो लय समातेको देखिन्छ । गत जनवरीमा उनले श्रीलंकाविरुद्ध अर्द्धशतक हानेका थिए भने अफगानिस्तानविरुद्ध १२५ रन हान्दै शारजाहमा जिम्बाबेलाई सिरिजको एक मात्र म्याच जिताएका थिए । उनले अहिलेसम्म ९ सतक हानिसकेका छन् ।
तीन वटा विश्वकप खेलेका उनले २०१५ को विश्वकपमा क्रमशः ४०, ४७, ३७, ५०, १२१ र १३८ रन ठोकेेका थिए । उनको १३८ रन भारतविरुद्ध थियो ।
भोलिको खेलमा टेलरलाई रोक्नु नेपालका लागि प्रमुख चुनौति हो । उनीविरुद्ध नेपालको स्पिन बलिङ हेर्न लायक विषय हुनेछ ।
तर, यसको अर्थ अरु ब्याट्सम्यानहरु काबिल छैनन् भन्ने होइन । नेपाल सतर्क हुनुपर्ने अन्य ब्याट्सम्यानहरुमा ओपनर हेमिल्टन मासाकाद्जा र अलराउन्डर सिकन्दर राजा हुन् । मासाकाद्जाले ओडीआईमा पाँच शतक र ३२ अर्द्धशतक हानेका छन् । पपुवा न्यूगिनीविरुद्ध अभ्यास म्याचमा उनले अर्द्धशतक हानेका थिए । यसैगरी पाकिस्तानी मुलका ब्याटिङ अलराउन्डर सिकन्दर राजाले ३ शतक र ११ अर्द्धशतक हानेका छन् ।
बलिङको कुरा गर्दा २७ वर्षीय तेन्दाई चतारा जिम्बाबेका प्रमुख बलर मानिन्छन । उनले अहिलेसम्म ५० ओडीआई खेलेर ६८ विकेट लिएका छन् । अर्का घातक बलर हुन् कप्तान ग्रेम क्रिमर । ३१ वर्षीय क्रिमर लेगब्रेक फाल्छन् । उनले अहिलेसम्म ९० ओडीआई खेलेर एक सय ९ विकेट लिएका छन् ।
आईसीसीले म्याच प्रिभ्यूमा लेखेको छ, ‘भोलिको म्याचमा जिम्बाबे ‘फेभरेट’ हो । तर, नेपालले सरप्राइज रिजल्ट निकाल्न सक्छ ।’
यथार्थ पनि यही हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया