त्रिशुली जलविद्युत कम्पनीको आईपिओ १ बजे बाँडफाँड हुँदै

विदुर खबर २०७५ चैत १४ गते ५:५८

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत साधारण शेयर निष्काशन गरेको त्रिशुली जलविद्युत कम्पनी (TJVCL) को आईपिओ चैत १४ गते बिहीबार १ बजे बाँडफाँड गरिने भएको छ।

Advertisement

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयको सभा हल सिंहदरबारमा आईपिओको बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताकाे माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनाकाे चैत ७ गतेदेखि चैत ११ गतेसम्म ३७ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएको थियो। जसमा एक लाख ११ हजार १५० कित्ता कर्मचारीलाई छुट्टाएर बाँकी रहेको ३५ लाख ९३ जहार ८५० कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन आह्वान गरिएको थियो।

Advertisement

जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको उक्त आइपिओमा अत्याधिक आकर्षण देखिएको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपिओमा १८.६२ गुणा बढी आवेदन परेको छ। एक लाख ५६ हजार ७११ जना आवेदकबाट ६ करोड ६९ लाख ९ हजार ९२० कित्ता शेयरको माग भएको हो।

आईपिओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो । पहिलो चरणमा दश प्रतिशत रकम मात्र आवेदन गरे पुग्ने व्यवस्था रहेको थियो । बाँकी ९० प्रतिशत रकम आयोजनाको निमार्ण ७५ प्रतिशत सम्पन्न भएपश्चात भुक्तानी गर्ने व्यवस्था रहेको छ। यसरी आवेदन गरिएको धितोत्रपमा लगानी गरिएको दश प्रतिशत रकममा निष्काशनकर्ता कम्पनीले धितोपत्र कारोबार योग्य नभएसम्मका लागि वार्षिक ८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।

Advertisement

३७ मेगावट क्षमताको यस आयोजना गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना वि.सं. २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ। आयोजना निर्माणमा आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण छ।

शेयर निष्काशन गरेको मितिबाट साधारण लगानी फिर्ता हुन ७.९५ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुन ११.८२ वर्ष लाग्ने कम्पनीले जनाएको छ।समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लागतमा १९ वटा आयोजना निर्माण गरि ३ हजार ४७९ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य छ । प्रदेश १ मा सबैभन्दा धेरै ६ वटा आयोजना निमार्ण हुनेछ।

प्रतिक्रिया